किरणको रातो झोलाको रहस्य !
काठमाडौं: स्थापित हास्यकलाकार किरण केसी कुनै पनि कार्यक्रममा उपस्थित हुँदा रातो झोला छुटाउँदैनन्। स्वदेश होस् या विदेश जाँदा रातो झोलाभित्र उनी राति लगाउने हाफपाइन्ट बोक्न छुटाउँदैनन्।
उहिले फुटबल खेल्दा लगाउने गरेको त्यो हाफ पाइन्ट उनले नाइट ड्रेसका रूपमा लगाउन थालेको धेरै भयो। सहकर्मी दाजुको जन्मदिनका दिन कलाकार शिवहरि पौडेलले किरण केसीको रातो झोला र हाफ पाइन्टको किस्सा सुनाउँदा दर्शकदीर्घाका सबै पेट मिचिमिची हाँसिरहेका थिए।
हरेक वर्ष झैं कलाकार केसीले असार १५ मा धूमधामका साथ जन्मदिन मनाउँदै गर्दा उनको यो रहस्य खुलेको हो। हजारौं पाइन्ट र झोला किन्ने हैसियत हुँदाहुँदै पनि केसीले सधैं एउटै बोक्नुको पछाडि त्यसमा जोडिएको उनको विश्वास रहेछ।
त्यही पाइन्ट र झोलामा आफ्नो भाग्य लुकेको ठान्ने केसीको प्रशंसा गरेर नथाक्ने कलाकार पौडेलले त्यो रहस्यभित्रको कारण खुलाए। उनले भने, ‘हामी दुई भाइको त्यो हाफ पाइन्ट र झोला लक हो। त्यसैले हामी कहिल्यै छोड्दैनौं।'
केसीका नराम्रा बानी त्यति भेट्दैनन् पौडेल। यद्यपि जसलाई पनि विश्वास गर्ने र जोसँग पनि खुलेर बोलिदिने बानीले कहिलेकाहीँ समस्या पर्ने गरेको पौडेलले सुनाए।
केसीले विगतमा झैं यस वर्षको जन्मोत्सव पनि पृथक् बनाए। कार्यक्रममा नेपाली कलाकारिता र सांगीतिक क्षेत्रमा योगदान पुर्याउने दुई व्यक्तित्वलाई सम्मान गर्नुका साथै सुशासनका लागि हास्यव्यंग्य नामक अन्तरसंवाद पनि आयोजना गरे।
वरिष्ठ कलाकार वसुन्धरा भुसालले आफू र आफ्नो पतिको नाममा स्थापित चेतनारायण वसुन्धरा गुठीको तर्फबाट ५१ हजार एक रुपैयाँ फाउन्डेसनलाई दिने घोषणा गरिन्।००
गलामा रातो खादा लगाएका कलाकार केसी साथीभाइले दिएको उपहार, फूलको गुच्छा र शुभकामना लिन यताउता गरिरहँदा कार्यक्रम सञ्चालन गरिरहेका वरिष्ठ निर्देशक लय संग्रौलाले, 'किरणजी उपहार लिने र अँगालो मार्ने तपाईंले एउटा टाइम फिक्स गर्नुस् है', भनेका थिए।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रमको सुरुवात नै रोचक थियो। सञ्चालक संग्रौलाले सबैलाई उठेर तीन पटकसम्म हाँस्न अनुरोध गरेपछि हल हाँसोले गुञ्जिएको थियो।
कार्यक्रममा हास्यसामग्री वसुन्धरा भुसाल र गायिका तथा सञ्चारकर्मी कोमल ओलीलाई १० हजार नगदसहित सम्मान गरियो। अर्को रोचक पक्ष धुर्मुस सुन्तली फाउन्डेसन बन्यो। कार्यक्रममा फाउन्डेसनलाई सहयोग गर्ने हातहरू एकपछि अर्को उठेकाले करिब पाँच लाखभन्दा बढी रकम संकलन भयो।
गायिका ओलीले आफूले पाएको नगद पुरस्कार पनि सोही फाउन्डेसनलाई प्रदान गरिन्। वरिष्ठ कलाकार भुसालले आफू र आफ्नो पतिको नाममा स्थापित चेतनारायण वसुन्धरा गुठीको तर्फबाट ५१ हजार एक रुपैयाँ फाउन्डेसनलाई दिने घोषणा गरिन्।
फाउन्डेसनको कामको प्रशंसा गर्दै कलाकार मनोज गजुरेलले राज्यले पनि यी कलाकारले गरेको सुन्दर अभियानमा साथ दिनुपर्ने माग गरे।कलाकारितामात्रै नभई गायनमा पनि अब्बल किरण केसीद्वारा गाइएको गीतको एल्बम ‘छ है आई लभ यु'को विमोचन गरिएको थियो।
कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, हास्यकलाकार सन्तोष पन्त, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरीलगायतले कलाकार केसीलाई जन्मदिनको शुभकामना दिए। उनीहरूले देशमा सुशासन ल्याउन कलाकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। ०००