असुरक्षित स्कुल

असुरक्षित स्कुल

गत वर्षको भूकम्पबाट थिलोथिलो परेको प्रकृतिले स्वाभाविक विनाशका लक्षणहरू देखाउन थालेको छ । पहिरोले वस्ती तथा व्यक्ति र पशु पुरिने क्रम जारी छ । विनाशको क्रममा क्षतविक्षत स्कुल र स्वास्थ्यसेवा केन्द्रहरू केही पुनर्निर्मित भएका छन् । केही तत्काल सेवा सञ्चालन गर्नका लागि स्तरीयताविहीन संरचनाहरू खडा गरी त्यसमा सामान्य गतिविधिहरू सञ्चालन गरिएका छन् । भूकम्पपछि, त्यस्ता जोखिमयुक्त संरचनाले पुर्‌याउन सक्ने खतराबारे समुचित पाठ नसिकिनु आफैंमा चरम लापरबाहीको उदाहरण हो ।

राजधानी उपत्यकाको ललितपुरस्थित टौखेलमा शुक्रबार अर्को हृदयविदारक घट्ना भयो । पुष्पाञ्जली स्कुलका दुइटा कक्षा ३ र ८ नजिकैको जग्गामा उभ्याइएको ढुंगे पर्खाल ढल्दा त्यसमा पुरिए । ९ र १० वर्षका दुई छात्राको तत्काल मृत्यु भयो अकालमा । अरू २१ जना घाइते भए ।

भूकम्पपछि सामान्य पढाइ प्रारम्भ गर्न हतारमा रहेको स्कुल प्रशासन र प्रबन्धन समितिले जसोतसो पर्खाल र आकृति ठड्याएर बालबालिकालाई पढाउन थाल्यो । त्यसले उनीहरूमाथि बढाएको जोखिमबारे सोचिएन, किनकि खतरा संरचना निर्माणको स्तरीयविहीनताबाट हैन, भूकम्पबाट हो र अब छिट्टै अर्को भूकम्प नजाला भन्ने मान्यताबाट सम्भवतः उनीहरू निर्देशित भए । दुर्भाग्य वैशाख १२ (२०७२) पछि करिब ४८० पटक ४ रेक्टर स्केलभन्दा माथिका पराकम्पन मुलुकले अनुभव गरेता पनि स्कुलहरू या अन्य संरचनाहरूलाई उल्लेख्य रूपमा क्षति नपुर्‌याएकाले स्कुलहरूमा सामान्य क्रियाकलाप तथा पठनपाठन बढ्न थाले ।

 

तर पुष्पाञ्जली स्कुलको दुर्घटनाले तत्काल भूकम्पपछि निर्मित अस्थायी या स्थायी स्कुल संरचनाहरूको स्तरीयता जाँच्नु आवश्यक भएको छ । खासगरी वर्षामा पहिरोसँगै माटोको स्खलन र छिमेकका निजी कच्ची संरचनाहरू ढल्दा पनि बालबालिकामाथि खतरा पुग्न सक्ने नमिठो भोगाइबाट समयमै पाठ सिक्नु आवश्यक छ ।

स्कुलहाता र त्यसका निश्चित दूरीमा जोखिमयुक्त संरचना तथा घरले बालबालिकाको सुरक्षामा कुनै खतरा नपुर्‌याओस् भनी सुनिश्चित गर्नु पनि त्यत्तिकै आवश्यक छ । पुष्पाञ्जली स्कुलहाता नजिकै रहेको जग्गा कारोबारीको कच्ची पर्खाल ढल्नुलाई संयोग मान्न सकिन्छ । तर त्यो संयोगमा लापरबाहीको अनि संवेदनहीनताको पनि ठूलो अंश छ ।

घाइते बालबालिकाको उपचार र त्यसमा सरकारको प्राथमिकतापूर्ण चासो पहिलो आवश्यकता हो, तर त्योसँगै स्कुल भवनका स्तरीयता मापदण्ड र त्यसलाई सुनिश्चित गर्ने सरकारी संयन्त्रको निर्माण पनि त्यत्तिकै आवश्यक छ । दुर्घटनामा ज्यान गुमाएका कृपा राई र अञ्जना पुनका परिवारप्रति हार्दिक समवेदना र उपचारार्थको शीघ्र स्वास्थ्यलाभसँगै अरू कसैले यस्तो नियति नदोहोरियोस् भविष्यमा भनी सुनिश्चित गर्न सुरक्षा मापदण्ड र जवाफदेहिता निर्धारण आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.