पशुपतिमा इन्भेस्टमेन्ट बैंकको तीन करोड

काठमाडौं: पशुपति क्षेत्रमा संग्रहालय निर्माण गर्न नेपाल इन्भेस्टमेन्ट बैंकले तीन करोड रुपैयाँ सहयोग गर्ने भएको छ । प्रत्येक वर्ष एक करोड रुपैयाँ दिने गरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टन्डनबीच आइतबार सम्झौता भएको छ ।
बैंकको ‘जनसहभागिता र विकास कार्यक्रम' अन्तर्गत पशुपतिको महास्नानघर (ठूलो सदावर्त घर) लाई मर्मत गरी पशुपति संग्रहालयका रूपमा विकास गरिने भएको छ । यही घरमा तत्कालीन राजा रणबहादुर शाह जोगी भएर बसेका थिए । महास्नानघर २०७२ सालको भूकम्पले क्षति पुर्याएको छ । सम्झौता गरेको एक वर्षभित्र महास्नानघरको मर्मत गरी तीन वर्षभित्र पशुपति संग्रहालय सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
बैंकले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदाको मर्मत, पुनर्निर्माणमा चासो राखिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए । यसअघि बैंकको सहयोगमा पशुपतिको भस्मेश्वरघाट मर्मतसुधार गरिएको थियो । यस्तै पाटनको भैदेव मन्दिर, सुन्दरीचोकको पुनर्निर्माणमा पनि बैंकले सघाएको छ ।
प्रतिक्रिया दिनुहोस !
