एउटै गीतमा राष्ट्र बनाउने सूत्र
शब्द ब्रह्म हो। ब्रह्म हजारौं अस्त्रभन्दा पनि बलवान् भइदिन्छ। एउटै शब्दले मानिस जीवन नै समर्पण गर्न तयार भइदिन्छ। गलत एउटै शब्दले मानिसको मन काँचझैं चकनाचुर भइदिन्छ।
यस्ता उदाहरण सायद शब्द ब्रह्मकै ताकतको परिणाम होला। संसारका नीति, कूटनीति, धर्म, ग्रन्थ, विज्ञानका सूत्र होस् वा वेदका ऋचाहरू शब्द ब्रह्मले बनेका हुन्।
एउटै शब्दले राष्ट्रियता र त्यस्तै अर्को शब्दले अराष्ट्रियताको अनन्त बहस जन्माइदिन्छ। हाम्रो मुलुकमा हरेक पल पानीसँगै बगिरहेको समृद्धिमा राष्ट्रियताको बखेडा झिकिन्छ।
स्रोतको उपभोग गरेर नेपालीको समृद्धि बढाउने र स्वावलम्बी बन्ने बाटो छेक्न अनेक शब्दको खेती गरिन्छ। अनि आफ्नै दाजुभाइको गाँस खोसेर समृद्धिको उपाय खोज्ने प्रवृत्ति बढ्दो छ।
यो देशमा म एउटा मानिस खोजिरहेछु...जस्तो राष्ट्रवादी गीत गाएर चर्चा कमाएका सदाबहार गायक शिशिर योगीले पुनः राष्ट्र बनाउने सूत्र बोकेको गीत ल्याएका छन्। शब्द ब्रह्म हो।
संगीत आत्माको भाषा ! यसको सुन्दर संयोजन हुनसके जोसुकैको मन छुन्छ। अझ त्यसमा मानव र राष्ट्रप्रेम जोडिएको छ भने त सबैको प्रिय बन्छ। त्यही प्रिय काम गरेका छन् गायक योगी र गीतकार डा. भीष्मकुमार भुसालले।
बाचा गर्छु कामीसँग घूस खान्न म
नेपाल आमा, नेपालीलाई धोका दिन्न म...।
असतोमा सत्गमय...तमसोमा ज्योतिर्गमय
यी दुई हरफमात्रै शपथ खाने हो भने नेपालको कर्मचारीतन्त्र सुन्दर बन्नेछ। उसप्रति सेवाग्राहीको सम्मान उच्च हुनेछ।
कर्णालीका लहरमा, भाग्य खोजुँला
सुनकोसीको बगरमा, सुन खोजुँला
दाजुभाइका पसिनाले नुहाउन्नँ म
नेपाल आमा, नेपालीलाई धोका दिन्न म
भन्दै आमपौरखी नेपालीले देशमै पसिना बगाउने हो भने कोही परदेसिनुपर्ने छैन। कसैको कसैप्रति चित्त दुखाइ रहने थिएन। फेरिफेरि काबुल घटना नदोहोरिन सक्थ्यो होला।
हत्केलामा हिमालको, हाँसो पोतुँला
तराईमा हाँसी खुसी, खेत जोतुँला
भाग खोसी निमुखाको, अन्न खान्नँ म
नेपाल आमा, नेपालीलाई धोका दिन्नँ म
भन्दै हामी सम्पूर्णले छातीमा हात राखेर बाचा गर्ने हो भने एउटाको विरोध र अर्काको प्रशंसामा राष्ट्रियता खोज्नुपर्ने थिएन सायद। तराई, मधेस र हिमालको वैमनस्यता नासिन्थ्यो होला।
कर तिर्छु राज्यलाई, ग्राहक ठग्दिनँ
पाखुरामा विश्वास गर्छु, भिक्षा माग्दिनँ
जनतालाई कंगाल पारी चैन लिन्नँ म
नेपाल आमा, नेपालीलाई धोका दिन्नँ म
असतोमा सत्गमय, तम्सोमा ज्योतिर्गमय...
भन्दै आमउद्योगी, व्यापारी र लगानीकर्ताले बाचा गरिदिए कोही कसैबाट प्रताडित भएको गुनासो सुनिँदैन थियो होला। आफूले आफ्नै राज्यलाई ठगेको कथा दोहोरिँदैन थियो होला। आखिर राज्य भनेको नागरिक नै छ हो नि।
नियम पहिले आफू मान्छु, अनि पढाउँछु
चरित्रलाई रोज्छु, स्वाभिमान बढाउँछु
अरूको बास उठाएर, धनी हुन्नँ म
नेपाल आमा नेपालीलाई धोका दिन्नँ म।
भन्दै आमराजनीतिज्ञ, अगुवा र अधिकारकर्मीले आमनागरिकलाई साक्षी राखेर आत्मकसम खाइदिए गायक शिशिरको सूत्रले साँच्चै नेपाल बन्न समय लाग्ने थिएन। गीतकार आफैंले पश्चिमको कर्णाली, पूर्वको सुनकोसी, तराईको हलो जोत्ने किसान र पहाडमा नंग्रा खियाउने ज्यामी नेपालीलाई गीतको भिडियोमा स्पर्श गरेका छन्।
राष्ट्रकविको दम्पतीदेखि वरिष्ठ इतिहासविद् सत्यमोहन जोशीले पनि देश बनाउने यस राष्ट्रवादी गीतमा आफूलाई उभ्याएका छन्। यसले गीतको गरिमामात्रै बढाएको छैन, 'लाग्छ उनीहरूले आमनेपालीलाई नेपाल बनाउने यही सूत्र अपनाएर सपथ खाऊँ' भनिरहेझैं लाग्छ।
साँच्चै आमनेपालीले गीतमा समेटिएका शब्दलाई मात्रै अंगीकार गरिदिने हो भने राष्ट्रियता खोज्न कोसी, काली, कर्णालीमा भौतारिनुपर्ने छैन। आफू शुद्ध भए कसैको विरोधमा उत्रनुपर्ने छैन।