गोरखामा पहिरोले ६ जना पुरिए
शिवप्रसाद उप्रेती
गोरखाः गोरखाको केरौँजा गाविसमा बाटो पन्छाउने क्रममा पहिरो जादा ६ जना पुरिएका छन्। केरौँजा गाविस ३ को केरौँजाबेसीबाट माछाखोला जाने बाटो पन्छाउने क्रममा ६ जना पुरिएका हुन् । पहिरोमा पुरिएका ३ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएका ३ को माछाखोला स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी जनकराज पाण्डेले जानकारी दिए ।
उद्धार गरिएका मध्ये केरौँजा ४ का ४० वर्षीय टुङ्गे गुरुङ र सोही स्थानका ४० वर्षीय उकाल गुरुङकाको अवस्था सामान्य छ भने केरौँजा ३ का १२ वर्षीय सुकराम घलेको अवस्था गम्भीर छ ।
एसपी पाण्डेका अनुसार पहिरोमा पुरिएका तीन जनाको उद्धारका लागि घटनास्थलमा माछापोखरी प्रहरी चौकीबाट प्रहरी पुगिसकेका छन् । केरौजाँ ३ की ४५ वर्षीया कान्छीमाया तामाङ, ३० वर्षीया चीनमाया गुरुङ र १५ वर्षका सन्देश भनेर बोलाइने सन्दीप घले भने बेपत्ता छन् ।
स्थानीयन सुकबहादुर गुरुङका अनुसार खाना खाएर बाटो बनाउन गएका ६ जना बिहान ११ बजे पहिरोमा पुरिएका हुन् । गुरुङले भने, ‘पहिरो रोकियो भनेर बाटो बनाउन गएका थिए फेरी पहिरो आएर छोप्यो ।'
एसपी पाण्डेका अनुसार थप ३ जनाको उद्धारका लागि हेलिकोप्टर लाने तयारी भइरहेको छ ।अघिल्लो हप्ता मंगलबार गएको पहिरोले केरौँजाबेसीका ३८ परिवार विस्थापित भएका थिए ।
पहिरो रोकिएपछि बाटो खुलाउन गएका युवा बाटो खुलाउने क्रममा पुनः पहिरोले पुरिएका हुन् । पहिरो रोकिएपछि केरौजाबासी घर फर्किसकेका छन् ।