गोवा एक्सप्रेस

गोवा एक्सप्रेस

अप्ठ्यारो ठाउँमा सजिलो प्रपोज
कवि लेखनाथ छेत्रीलाई गाउँ देखाउन लगेको छु। गाउँ छोडेर नगर बसेको १० वर्ष पुग्यो। बेलाबेला गइबस्छु। जानुको खास कारण हुन्न, विशेष कारण हुन्छ। किनभने गाउँमा स्यानुका दिनहरू कुलैनका हाँगामा अल्झिएर बसेका छन्। पहिलोपल्ट बिँडी तान्न सिकेको रोमाञ्च उतै छ।

पहिलोपल्ट बाबाको गोजीबाट रेच्की चोरेको भय र खाएको धुलाइको पीडा त्यतै छ। पहिलोपल्ट हस्तमैथुन गरेको झाडी त्यतै छ। पहिलो कविता लेखेको रात त्यतै छ। आमाको सपना जन्मिएको हर्ष उतै छ।

दुश्मनझैं प्रिय मित्रहरूसित घुस्सी हानाहान परेको, फेरि मित्रझैं दुश्मनहरूसित अँगालो मारेका दिनहरू उतै छन्। पहिलोपल्ट लेखेको असफल प्रेमपत्र कुहिएको माटो उतै छ। सप्पैसप्पै त उतै छ।

गाउँ पुगेपछि मेरो काम केही हुन्न, साथीहरू भेट्नेबाहेक। कि त अनिल तेलैजा, कि त सन्जोक सावा, कि त धनबहादुर सुब्बा, कि त रमेश गुरुङ, जोसित होस् भेटेपछि हुने अन्तिम निचोड दारु नै हो। दारु पियो, नोस्टाल्जिक भयो अनि फेरि फर्कियो कठिन जीवनमा।

लेखनाथलाई मेरा केटाकेटी दिनहरूबारे थाहा छ, सुनाएको छु। उसलाई म हुर्किएको ठाउँ हेर्ने रहर छ। म कालेबुङमा नगरीय जीवन बिताइरहेको छु, स्यानुका अग्र्यानिक दिनहरूको सम्झना आउँछ। नोस्टाल्जिक बन्छु, सुनाउँछु त्यो नोस्टाल्जिया। त्यति गरेपछि लेखनाथलाई मेरो गाउँ नगई हुँदैन। मेरो स्टोरी टेलिङ पावर राम्रो छ। लेखनाथ मक्खिएको छ।

अनिल र सन्जोकसित बेलुकीभर दारुगफ। भोलिपल्ट ससुराली लाग्नुपर्ने। एक घन्टाको बाटो छ। साधन छैन। बरु ह्याङ छ। मैले कहिल्यै साइकलबाहेक बाइक नचलाएको, सन्जोकको बाइक देखेपछि भनेँ, 'ओइ म चलाऊँ? '

सन्जोकले भन्यो, 'सक्छस् ? '
'ह्या नाथे बाइकै कुदाउन नसक्ने म ?'
...
लेखनाथलाई पछिल्तिर राखेर हिँड्दै गर्दा भनेँ, 'नडराऊ ल भाइ ?' वास्तवमा यो ज्यानमारा अनुरोध थियो मेरो। सडक त छ तर अलकत्रा छैन। खोलाको बगर र बाटो एउटै।

जम्माजम्मी १० करोडको घोटला छ रे यो बाटोमा। नयाँ पार्टीका नेता डा. हर्कबहादुर छेत्रीको आरोप छ। तर, प्रमाणचाहिँ छैन। डा. हर्क, विमल गुरुङलाई भ्रष्टाचारको आरोप लगाउन चाहन्थे, बिनाप्रमाण।

 

फेल खाए। फेल त मैले पनि खाएँ। रोडे सडकमा बाइक चिप्लियो। लेखनाथ चित। मेरो बाइक राइडिङ बेहद झुर छ रे, लेखनाथ भन्छ। लेखनाथको मुटु मेरो ससुराली पुग्दा ठीक भइसकेको थियो।

फर्किंदा मुसलधारे झरी दर्कियो आउँदाआउँदा त्यहाँ बाइक अचानक बन्द भो, जहाँ अहिले नै झर्ने भीर छ। भीरमुनि बाइक ठेल्ने काम लेखनाथकै। त्यतिखेरसम्म मेरो ह्याङ भागिसकेको थियो। 

फर्किंदा मुसलधारे झरी दर्कियो। आउँदाआउँदा त्यहाँ बाइक अचानक बन्द भो, जहाँ अहिले नै झर्ने भीर छ। भीरमुनि बाइक ठेल्ने काम लेखनाथकै। त्यतिखेरसम्म मेरो ह्याङ भागिसकेको थियो। 

'ओइ बाइक त बिग्रियो', सन्जोकलाई फोन लाएँ।'तेल सक्कियो होलान्त', आयो जवाफ। बाइक हुनेहरूलाई आफूसँग नहुने तर चलाउन जान्नेहरूले काब्बु पार्दा रहेछन्। बाइक लाने तर तेल नहाल्ने।

म पनि त्यही मर्कामा परेँ। सन्जोक खित्का छोडेर हाँसिरहेको थियो, म चुर थिएँ। झोलुङ पेट्रोलपम्पसम्म बाइक ठेलेर लानुपर्ने। दर्कियो फेरि झरी।

'ओइ ठूले, गोवा जाने ? 'त्यतिखेर आयो फोन कवि टीका भाइको।अप्ठ्यारो ठाउँमा टीकाको सजिलो प्रपोज थियो। लेखनाथको हरिबिजोक थियो। बाइक ठेलिरहेको लेखनाथलाई सोधेँ, 'गोवा जाने?'

सम्झनुहोस् न, लेखनाथको त्यतिखेरको अनुहार।
दर्कियो झरी..।

नकुद्नुपर्ने म्याराथन
गोवा कला अकादमीले बोलाएको रहेछ। नेपाली अध्ययन समितिले कवि टीकालाई अनि टीकाले मलाई दिएको जानकारी। काव्यहोत्रा। अर्थात् काव्यक्रान्ति। कार्यक्रमको नाम। गोवनहरूले गर्न खोजेको क्रान्तिले भने कवि टीकालाई भ्रान्तिमा पारिदियो। चिठीमा लेखिएको रहेछ- म्याराथन पोयट्री। त्यही पढेर अल्मलिएछन्-कवि टीका।

'म त सक्दिनँ होलाऊ', टीकाले भन्यो, 'कविता पढ्दै कसरी कुद्नु ? '
'कुद्नु पनि पर्छ र ?' सोधेँ।

'म्याराथन भनेको छ अन्त', सुरुमा टीकालाई निक्कै अचम्म लागेछ। म्याराथन कविता भनेकोले ठूला कविहरू कुद्न नसक्ने भएपछि अध्ययन समितिले जम्बु युवा कविहरू छानेका होलान्, लागेछ।

म घरि नेपाल, घरि भारत कुदिबस्ने- देखेर फसाए टीकाले मलाई, मैले लेखनाथलाई। जाने तयारीमा लाग्दैगर्दा कहिल्यै खुलेर नहाँसेको टीकाले खुलेर हाँस्दै फोनमा भने, 'ठूले, कुद्नु पर्दैन रैछ हौ। ४८ घन्टा रातदिन कविता वाचनको प्रोग्राम पो रैछ।' त्यसपछि हाँस्ने पालो मेरो अनि त्यसपछि लेखनाथको।

गोवा कला अकादमीलाई चढेको काव्य क्रान्तिको भूत के हो भने, एउटा यस्तो साहित्यिक कार्यक्रम होस् जसले विश्व रेकर्ड कायम गरोस्। लिम्का र गिनिज बुक दुवैका कार्यकर्ताको उपस्थिति नत्र त्यसै हुँदैन। कार्यक्रमभरि विश्व रेकर्ड हुने भनिएको यो कार्यक्रमको त्यो रेकर्ड भएन। गोवा कला अकादमीको दुर्भाग्य।
...
गुल्जार भनेपछि हुरुक्कै लेखनाथ। कविता सुनाउन गुल्जार आउने सुनेपछि लेखनाथले नाइँ भन्न सकेन। म, लेखनाथ, लोग्नेस्वास्नी टीका र भीमा राई तोलाछा र सिक्किमतिरबाट रजनी पेगा र अर्जुन यावा।

सिक्किमेहरू आफ्नो बन्दोबस्तमा, हामी आफ्नै। गोवा जानुको अर्को फाइदा थियो, टीकासित खुल्नु। किनभने म र टीकाबीच मक्किएको बाँसको पुल। यत्रो कुरामा पनि ठाकठुक। कुकुर र बिरालो।

'हस्तक्षेप' को डिजाइन गर्दैदेखि झगडैमात्र हुने। न उसको नियत खराब न मेरो। बीचमा चेप्टिने राजा पुनियानी। टीका र म कालेबुङमा छौं, तर 'हस्तक्षेप'बारे कहिल्यै कुरै नहुने। मलाई निकै दिक्क लागिसकेको थियो। मलाई त्यो दिग्दारीसित भाग्नु थियो।

शताब्दी एक्सप्रेसमा म युग पाठकको 'उर्गेनको घोडा'सित थिएँ। लेखनाथ मार्खेजको 'वान हन्ड्रेट इयर्स अव सोलिच्युट'सित। टीका जोक्स मार्थे, हाँस्थिन् भीमा दी। लेखनाथलाई लाग्छ, मार्खेजले गाह्रो समयमा सुन्न र बोल्नसक्ने आफ्नै भाषा बनाए।

फेन्टासी र यथार्थ दुवैसित एकसाथ साक्षात्कार हुन पाउने मार्खेजको लेखनबाट सिक्नुपर्ने कुरा हो, शैली जे होस्, उसको टेस्क्टले भुइँ छोड्नु हुन्न। कलकत्ताको हाउडा पुग्दा हामीसित अनेकौं रमाइला कुरा थिए।

बिहान ब्रेकफास्ट, त्यसपछि सुप, चिया, लन्च। एकपछि एक आइबस्ने। स्टेसनबाट उत्रिसक्दा टीकाको फेसबुक स्टाटस गइसकेको थियो, 'यो ट्रेनले त खुवाएरै झन्नै मार्यो।' 

लेखनाथ र मचाहिँ खाँदियौं डोर्मेट्रीमा। कुखुराको खोरजस्तो ओछ्यान। त्यो खोरमा चार सयमध्ये हामी लगभग तीन सय कवि कोचिएका छौं। चार सय कविले रातदिन कविता सुनाए तर आफैंलाई। सीमित श्रोता त्यो पनि भाषाको समस्याले सबैथोक निरस लाग्ने। 

हाउडा स्टेसनको वेटिङ रुम भनेको मान्छे पकाउने भाँडो हो। गर्मीले दिमाग मक्काउने। कागज ओछ्याएर सुतेँ। लेखनाथ किताबमै छ। टीका छटपट्टिरहेछ। निदाउन खोजेर पनि ननिदाएको अनुहार छ। म 'उर्गेनको घोडा'ले मुख छोपेर सुतेँ। कसले हो ब्यूँझाएपछि हेरेँ, लेखनाथ 'वान हन्ड्रेड इयर्स'ले मुख छोपेर हाँसिरहेको थियो।

'के भो ?', सोधेँ।
बांगो मुख पारेर जिस्कानी भाषामा टीकाले भन्यो, 'कस्तो घोडा बेचेर सुतेको, खाजा नखाने ? '
हेरेँ, उर्गेनको घोडा हातैमा थियो।

'युग पाठकले पिट्छन् नि यो घोडा बेच्यो भने', मैले भनेँ।
म्हेन्दो फुल्लिएको पेट बोकेर गन्तव्यतिर लम्किरहेकी थिइन्। हामी खाली पेट अर्को रेलमा चढेर नकुद्नुपर्ने म्याराथन कुदिरहेका थियौं, छुकछुकछुकछुकछुकछुक। गोवा एक्सप्रेसमा।
...
गोवानजिक मडगाउँ पुग्ने बेला टीकाले भन्यो, 'यता कता दूधसागर फल्स छ रे हौ।' फल्स हेर्न आआफ्नो खिड्की रिजर्ब भइगो। गोवा पुग्दासम्म २२ वटा टनलभित्र लुक्छ रेल। गोवा जाँदाको रोमाञ्चक अनुभूतिहरूमा यो पनि एक हो।

नक्सामा देखेको शिवजीको टाउकोबाट झरेकोजस्तो सेतो फिँजपानीको झर्ना रहेछ, दूधसागर। एक मिनेटसम्म हेर्न भ्याएछौं। कर्नाटक र गोवाबीचमा रहेको यो फल्सलाई मिल्क अफ सी पनि भनिँदो रहेछ। गोवा जानेहरूले यो फल्स हेरेन भने फर्केर आउँदा गाल पर्छन् रे। थाहा हुनेहरूले सोध्छन् रे, 'दूधसागर देख्यौ ?'
अब हामीलाई डरै थिएन।

म्याराथन रेनमा कम्प्लेन
२३ देखि २५ सम्म काव्य होत्रा। २२ जुलाईको साँझमा राजधानी पणजी पुग्दा थाकेका थियौं। थाक्नेहरूका लागि बस्नुपर्ने ठाउँ नै गोवा भनिन्छ। पर्ल अव ओरियन्ट अर्थात् 'पर्यटकहरूको स्वर्ग' अर्थात् गोवा।

जहाँ दुईवटा कुरा सस्तो रे। एउटा सेक्स अर्को रक्सी। मलाई 'फेनी'को लोभ। काजुको रक्सी। तटहरूले फेमस गोवामा आखिर हामी नेपाली भाषालाई प्रतिनिधित्व गरेर गइरहेका थियौं। त्यो पनि विश्व रेकर्डका लागि गरिएको म्याराथन कवितामा।

लागेको थियो, तामझाम असलै होला। राजधानी पणजी टेक्दा हाम्रो स्वागतमा थियो मुसलधारे झर....। छाता छैन। भीमादीले एउटा निकाल्नुभयो र लोग्नेस्वास्नीले ओढे। हामी हिस्स। कला अकादमी भवन पुग्दा लप्फु।

लोग्नेस्वास्नी भनेर टीका र भीमादीलाई कता लग्यो कुन्नि लेखनाथ र मचाहिँ खाँदियौं डोर्मेट्रीमा। कुखुराको खोरजस्तो ओछ्यान। त्यो खोरमा चार सयमध्ये हामी लगभग तीन सय कवि कोचिएका छौं।

व्यवस्थापनमा कमजोर अकादमीको मञ्चसम्म पुग्दा थाहा भइहाल्यो, यहाँ कविताको कुनै काम छैन। लेखनाथको गुलजार पनि आएनछन्, सुरुको दिनदेखि नै लेखनाथ निराश। लिम्का कि त गिनिज बुक रेकर्डमा हाल्ने निहुँमा कविहरू भेँडाबाख्रा बनेका थिए।

पकेट पकेटमा कार्यक्रम, कविहरू नै श्रोता, कविहरू नै वाचक। त्यसै पनि कार्यक्रमको डिजाइन देखेर दिक्क बनेका कविहरू 'बिच'का भिजेको बालुवामा कुद्न हतारिन्थे। गोवा आउनु र सी बिच नपुग्नु, सम्भव नै छैन।

छालले हिर्काइरहेको क्षणमा जुन आनन्द हुन्छ, त्यो कला एकाडेमीको कुनै पनि कार्यक्रममा नपाइने। चार सय कविले रातदिन कविता सुनाए तर आफैंलाई। सीमित श्रोता त्यो पनि भाषाको समस्याले सबैथोक निरश लाग्ने।

कुनै कविले कविता सुनाइरहेका थिए। माहोल यस्तो बोरिङ कि कुनै झ्याउ कविले अन्टसन्ट सुनाइरहेका छन्। मलाई रमाइलो गर्न मन लागेर आयो।
म कराएँ, 'वाह ! क्या खुब कविता वाह !'

कविता सुनाइरहेका कवि पनि तर्सिए। वरिपरिका जम्मै मतिर फर्किए। म आफ्नै ध्यानमा टाउको हल्लाइरहेको थिएँ, मानौं म सबथोक बुझिरहेको छु। छेउको श्रोतालाई भनेँ, 'कविताको इन्जोय किजिए, कुछ इस तरह।'

लेखनाथ, टीका, रजनी पेगा, भीमादी र अर्जुन मदेखि अवाक् छन्। कहाँको, कुन कविले कविता सुनाइरहेको छ, केही नबुझ्ने। मैले हिन्दीमा 'वाह' भनेकाले अप्ठ्यारो लाग्यो। फेरि कराएँ, 'हिन्दी मे सुनावो न।' उनीहरू हाँसे।

हिन्दीमा लेखे पो सुनाउँथे। उनीहरूले कविता सुनाइसकेपछि सबैभन्दा जोडले ताली मार्ने अनि 'ओउ' भनेर कराउने ममात्र थिएँ। सबैभन्दा बोरिङ समयलाई सेलिब्रेट गर्नु सबैभन्दा रमाइलो कुरा हो। म त्यही गरिरहेको थिएँ।

बाहिर झरी कराइरहेको थियो, भित्र म। दुई दिनदेखि परेको झरीले न त बिच जान दिन्थ्यो न कविताले तान्थ्यो। कसैलाई कसैको बारेमा थाहा छैन। यद्यपि गोवाकी राज्यपाल मृदुला सिंह जो आफैं पनि लेखिका हुन्, डा. मधु पन्त, महेन्द्र बेनिपुरी, अभिद बेगली, संगङ्गम भोसले, अमित नाइकहरूलाई कसोकसो चिनियो।

महेन्द्र बेनिपुरीको तीन हिन्दी पुस्तकको विमोचनपछि हाम्रो कार्यक्रम थियो। धेरै लगनले बनाएको मञ्चबाट निकालेर हामीलाई अकादमीको एउटा कोठामा लगियो, जहाँ हाम्रो कार्यक्रम राखिएको छ। हलमा पस्यौं तर श्रोता छैन।

कसलाई कविता सुनाउने हो, केही पत्तो छैन। जयपुरका हिन्दी कवि वरुण चतुर्वेदी अनि सुशील सेउलहरूले कविहरू भेला गरे। दिल्लीका कवि डा. रफिक मसुदी, सुब्रोकान्त शर्मा अनि मिस मोनिका पनि आए। पञ्जाबी कवि कान्नाजी, जसवन्त दिद अनि सुरोजित पनि आए, त्यसपछि जम्यो कविता।

पहिले पञ्जाबी कविहरू डा. गुरुचरण कौर, अर्तिधर साधु अनि कान्नाजीहरूले कविता सुनाए। अवतारसिंह पासलाई कसले बिर्सने र? पञ्जाबी कविताहरू त्यही धारबाट उठेका थिए। भित्र हामी कविता सुनाउँदै गर्दा बाहिर निकै हल्लाखल्ला थियो।

हिन्दी सिनेमाका कुनै निर्देशक र नायिकालाई घेर्नेहरूका। यता कविताले कोठा गरम, बाहिर हल्लाले। हिन्दीमा हाम्रा कविता सुनेपछि भित्र निकै हल्लीखल्ली भयो। डा. रफिक मसुदीले टीकाको हातबाट माइक खोसे र भने, 'म जापान, बंगलादेशलगायतका धेरै देशमा कविता सुनाउन पुगेको छु, किनभने म आफैंलाई निकै राम्रो कवि हुँ भन्ने लाग्छ।

भारतका पनि विभिन्न राज्यमा कविता सुनाउनका निम्ति नै पुगेको छु तर आज मेरो कवि हुँ भन्ने भ्रम तोडियो। हामी धेरैभन्दा सच्चा अनि बलिया कविहरू यहाँ पाएँ। यो कार्यक्रममा आउनुको सार्थकता बल्ल भेटेँ।' त्यसपछि फुर्किने पालो हाम्रो।

हलबाट निस्कँदा बाहिरको मञ्चमा चढिसकेका थिए ती निर्देशक र नायिका। सायद कोंकणीमा उनीहरू बोलिरहेका थिए। नाटक र सिनेमाबारे कुरा चल्दै थियो। हामी छेवैमा कफि खाँदै थियौं।

म डा. गुरुचरण कौरसित गफिँदै थिएँ। 'अवतारसिंह पास की कविताएँ मैने नेपाली मे अनुवाद किया है, वो है न सपनेवाले', म भन्दै थिएँ, 'वो है न सबसे खतरनाकवाला, सबसे खतरनाक होता है, मुर्दा शान्ति से भर जाना, सबसे खतरनाक होता है, हमारे सपनों का मर जाना।'

कौर रमाइरहेका थिए। हाम्रो हल्ला सुनेर एक व्यक्ति छेउमा आए अनि भने, 'सर प्लिज हल्ला मत किजिएगा, वो है न फिल्मवाला, कम्प्लेन कर रहा है।' मैले पर मञ्चमा हेरेँ। अघिको निर्देशक मलाई हेरिरहेका थिए। हाम्रो आँखा जुध्यो।

मैले खबर बोक्ने मानिसलाई बोलाएर भनेँ, 'अघि हामीले कविता भन्दै गर्दा हल्ला गर्ने त्यही मानिस हुन्, हामी हल्ला गरिरहेका छैनौं, कफी पिउँदैछौं, अवतारसिंह पासबारे कुरा गर्दैछौं, हामीलाई डिस्ट्रब नगर्नु भनिदेऊ।' यति भनिसकेर फेरि भनेँ, 'समझमे आया कि नहीँ? '


उसले नबुझेको टाउको हल्लायो। मैले भने, 'उनको बोलना हमें डिस्ट्रब मत करेँ।'अक्क न बक्क परेर ऊ फर्कियो। म फेरि गफिन थालेँ। लेखनाथचाहिँ हाँस्न थाल्यो। हामी वास्तवमा डिस्ट्रब गर्न चाहन्नथ्यौं तर के गर्नु बाहिर निस्कनै नसकिने झरी जो छ।

टीकाको जोक थियो, यो प्रोग्रामको नाम चैं 'म्याथान पोएट्री' होइन, 'म्याराथान रेन' हो, ल ?
...
डोना पाउलामा फेनी
झरी रोकिनेवाला छैन। अकादमीको छेवैमा छ मान्डवी नदी। वे अफ बंगालको गोवन रूपान्तर। त्यो त्यसरी नै उर्लिन्छ, जसरी मभित्र उर्लिन्छ चाहना, प्रेम र इच्छा। 'बट्टारिएर आउने छाल थाम्न सक्छु त म?', यसरी सोचिनसक्दै म मान्डवीको किनारमा खाली खुट्टै पुगिसकेको थिएँ।

पछिपछि कुदिरहेको थियो लेखनाथ पनि अकादमीको आँगनमा नै जुत्ता खोलेर। एकछिनमा हामी छालको तरंग टेक्दै कुदिरहेका थियौं। म घरि जोडले बज्रिने पानीको लहरलाई हत्केलाले थाम्ने कोसिस गरिरहेको थिएँ घरि चिल्लो बालुवामा आफूलाई मन परेको मान्छेको नाम लेखिरहेको थिएँ।

छाल आउँथ्यो, पखाल्थ्यो अनि म अझ गहिरो गरी लेख्थेँ। छाल आउने भुइँमा लेखेको नाम मेटिन्छ नै। म हार्नेवाला थिइनँ। मेट्थ्यो, लेख्थेँ। लेखनाथ मेरो चकचकीलाई क्यामरामा बन्द गरिरहेका थिए। झरी केही कम भएको मौकामा टीका कुदेर आए अनि भने, 'याँ रमाइलो गरेको?जुम डोना पाउला।'

झमक्कै साँझमा ७८ वर्षीय पञ्जाबी कवयित्री कान्नाजीलाई भएको एउटा छाता ओढाएर हामी हिँड्न थाल्यौं। अरू सब लाप्फु। झरीको आवाज मन्द छ। गति पनि मन्द, तर एकोहोरो। यो डोना पाउला प्रेमीप्रेमिकाका निम्ति प्रख्यात छ।

डोना पोर्तुगली राजकुमारी अनि पाउलाचाहिँ माछा मारिखाने गरिब। दुईबीच थियो प्रेम। समुद्रीतट उनीहरूको डेटिङ स्पट। एक दिन डोनालाई किनारमा छोडेर माछा मार्न गएको पाउला फर्किएर आएन। धेरै दिनसम्म नआएपछि डोनाले त्यहीँ आत्महत्या गरिन्। किंवदन्ती यस्तो छ। त्यसपछि यो समुद्री तटको नाम डोना पाउला।

ऐतिहासिक तथ्यले चाँहि तत्कालीन पोर्तुगिस साम्राज्यतिर लैजाँदो रहेछ। पाउलाको पूरा नाम थियो 'पाउला अमारल एन्टोनियो डी साउटो भामर।' भनाइ के रहेछ भने पाउला श्रीलंकाको जाफनापटमनाममा पोर्टुगिस भाइसरोयकी छोरी थिइन्। सन् १९६१ सम्म पोर्टुगिस साम्राज्य रहेको गोवामा पाउला र उनको परिवार १६४४ मा आएका थिए।

पाउलाले १६५६ मा स्पेनका एक धनाढ्य व्यक्तित्वसित विवाह गरेकी थिइन्, जसको नाम थियो- डोम एन्टोनियो सुटोमायर। के भनिँदो रहेछ भने गोवाको 'काबो राज'मा भएको सम्पत्ति डोमकै थियो रे।

पाउलाले गाउँलाई असाध्यै प्रेम गर्ने। १६८२ मा पाउला बितिन्। त्यसपछि लोग्नेस्वास्नीलाई जीवित राख्न गाउँलेले गाउँको 'ओडाभेल' नामलाई परिवर्तन गरेर डोना पाउला राख्यो, भन्दोरहेछ इतिहासले।

मलाई यी प्रेमीप्रेमिकाबारे कुनै इन्ट्रेस छैन। हामी हूलमा कसैलाई पनि छैन। बस, उर्लिएको छाल हेर्नु छ। रमाइलो गर्नु छ। झरी उस्तै। हातमा बोकेको छु- हरियो बोतल। अर्थात् फेनी। काजुको रक्सी।

यसको चुस्की र डोना-पाउलाको छाल उस्तै हो। रमाइलो के भने, डोना पाउला पुग्दा असाध्यै रात चर्किसकेको थियो अनि 'बिच'मा जान नपाइने निषेध बोर्ड लागिसकेको थियो।

दुईचार फोटो हिर्काएर हामी फर्किरहेका थियौं। कान्नाजी भनिरहेकी थिइन्, 'मलाई तिमेरुजस्तै उमेरमा फर्किन मन लागेको थियो, यसकारण पनि म ७८ वर्षे बूढी तिमेरुसितै ठमठम हिँडिरहेकी छु।

तिमेरु खुब इत्र, खूब कुद, खूब रमाइलो गर, मेरो उमेरमा पुगेपछि त्यो मीठो सम्झनामात्र बन्छ। ल, आज तिमेरले जति टाढासम्म मलाई हिँडाउन सक्छौ, म हिँड्नेछु तिमेरुसित।'

म जोडजोडले वु...उ...भन्दै कराउने भइसकेको थिएँ, थाहा छैन बोजुको उस्काइले हो कि फेनीको मस्काइले हो।

भाषाको संकङ्कट
हाम्रो फर्फमेन्स देखेर गोवाको राजधानीको ठूलो साहित्यिक संस्था 'उगते मलव'का कार्यकर्ता मक्ख परेछन्। हिजैदेखि कवि सुनिलहरि पालकारहरूले फोन गरेको गरेकै।

एक कार्यकर्ताले बिहान ८ बजेदेखि पर्खिएर बेलुकी पाँच बजे 'उगते मलव'भवनमा लगे। जतै पनि गएँ, डोना पाउला होस् वा फेनी फसल, कोही हिन्दी नबोल्ने। बोले पनि उत्तर नदिने। सबै अंग्रेजीमा बोल्ने।

१९९२ मा भारतीय संविधानको आठौं अनुसूचीमा धेरै भाषाले मान्यता पायो। त्यसमध्ये नेपाली र कोंकणी भाषा पनि हो। सँगै मान्यता पाएको भाषामा लेखिने साहित्यको संस्थाले बोलाएको निम्तोमा छौं। तर, मञ्चमा जान्छन्, अंग्रेजीमा लामो भूमिका बाँध्छन् अनि छोटोमा कोंकणी भाषाको कविता सुनाउँछन्।

सुनाइसकेर कविताबारे पनि अंग्रेजीमा नै बताउँछन्। आखिर यी गोवन कविहरूमा अंग्रेजीमोह किन? भाषिकरूपमा उपनिवेश यी कविहरूले कोंकणी साहित्यलाई गरिरहेको माया उत्तिकै खतरनाक लाग्यो।

गोवा, गुजरात, कर्नाटक, महाराष्ट्र अनि केरलमा समेत बोलिने कोंकणी भाषामा लेखिएका कविताहरू नबुझेपछि हिन्दीमा सुनाउने सहमति बन्यो। अनि पो बुझियो कविता।

सत्रौं शताब्दीपूर्व कोंकणी भाषामा कुनै लिखित साहित्य पाइँदैन। यो भाषाको प्रयोग सुरुमा इसाई मिसनरीहरूले गरे। किनभने पादरी स्टिफेसको किताब 'दौत्रिन क्रिस्तान' नै यो भाषाको पहिलो पुस्तक हो।

यो किताब १६२२ ई. मा लेखियो। गोवा स्वाधीनताका निम्ति भारतले १९६१ मा पोर्तुगलको विरुद्ध लडाइँ गर्यो। भारतीय सेनाले पोर्तुगलीहरूको ४५० साल पुरानो कब्जाबाट गोवालाई मुक्त गर्यो।

यसको इतिहास घरि हिन्दू शासनसित, घरि मुस्लिम शासनसित जोडिएको छ। मुस्लिम शासनपछि फेरि पोर्तुगालीहरूको शासनसित। नेपोलियनले पोर्तुगालीहरूलाई कब्जा गरेपछि भने एंगङ्गलो-पोर्तुगाली गठबन्धन गरेर गोवालाई अंग्रेजी अधिकार क्षेत्र बनाइयो।

१८१५ देखि १९४७ सम्म गोवा अंग्र्रेजको शासनमा रह्यो। भनिन्छ, पोर्तुगाली शासनको कारण कोंकणी साहित्य अघि बढेन। अंग्रेजीले कोंकणीलाई किनारमा पार्यो अनि राज गर्यो। त्यसको झल्को गोवन साहित्यकारहरूका यी हाउभावमा स्पष्ट देखिन्थ्यो।

महाराष्ट्रमा विलय गर्ने चर्चाबीच पनि गोवा केन्द्र शासित प्रदेश थियो। पछि ३० मे १९८७ को दिन संघीय भारतको २५औं राज्य बनेको यो गोवामा अंग्रेजीको दबदबा अहिले पनि छ।

अहिले पनि गोवामा पठनपाठनमा मातृभाषा चलाइनुपर्ने सम्बन्धका आन्दोलनहरू चलिबस्छ। अंग्रेजीको झारले छोपेको यहाँको मातृभाषा जुन सकसमा छ, त्यो गोवन कविहरूको कवितामा पसेको छ, खुसीको कुरा यत्ति हो।

ट्रेनमा हिरो
इत्रिने च्याप्टर क्लोज भइसकेको थियो। मलाई हेटौंडा पुग्नु थियो। एकल कविता वाचन जो थियो। झोलामा फेनीहरू खाँदेकै थिएँ। फेरि ट्रेनयात्रा। बिस्तारै चल्ने खटेरा ट्रेन थियो।

नाम त बिर्सेँ। साँझ पर्न लाग्दा भोक लाग्यो। ट्रेनमा खाना नपाइने। जहाँ रोक्छ, त्यहीँ किन्ने सल्लाह थियो। एक ठाउँ रोक्यो ट्रेन। म खाना खोज्न निस्किएँ। भनेजस्तो कतै छैन। निकै पर पुगेपछि भनेजस्तो पाइयो।

प्याक गरेँ, दोकानेले पैसा फर्काउन ढिलो गर्यो। पछिल्तिर फर्केर हेर्दा ट्रेन हिँडिसकेको थियो। कुदेर जुन डब्बामा पसेँ, त्यो जनरल थियो। मानिसहरूको खाँदाखाँद, मलाई न डब्बा नम्बर थाहा छ, न बर्थ नम्बर। स्लिपर भनेरमात्र थाहा छ।

एकएक डब्बाभित्र छिर्दै ट्रेनसितै म हिँडिरहेको छु। अर्को स्टेसन आइपुगेपछि मलाई पक्का भयो, म मेरो डब्बा नजिक आइपुगेको छु। बिस्तारै झरेँ र हिँड्न थालेँ। पर टीका र लेखनाथ हरेकको अनुहार हेर्दै आउँदै थियो।

मैले आरामले हात हल्लाएँ। नजिक पुगेपछि मुसुक्क हाँसे र सोधेँ, 'के भो ?' रजनी र भीमादी उत्तिकै आत्तिएका। लेखनाथ पसिनैसरी। टीका रिस्ले रा....तो म कुल।

'अत्ताउँछ, मोरो', टीकाले यति भन्यो। त्यसपछि दुई दिदी र एक भाइको आएको जति गाली खाँदै खाना खाएँ। उनीहरू त म छोडिएँ भनेर पक्का भइसकेका रहेछन्। नखानु त गाली ?

भीमा दिदीले मलाई हेरिन्। रिस र मायाले भनिन्, 'बेहोशी मोरो।'
...
ट्रेन राम्रो छैन भने यात्रा दिक्कलाग्दो हुन्छ। दिक्क लाग्यो भने मलाई छटपटी हुन्छ। छटपटी लाग्यो भने तान्छु सिगरेट। भोलिपल्ट कतै बाटोमा मलाई तलतल लाग्यो। शौचालय छेउको दैलो उघारेँ।

टाउको बाहिर निकालेँ र सर्को लाउन थालेँ। कसैले मेरो घुच्चुक समात्यो। हेरेँ पुलिस रहेछ। त्यसपछि झमेला। टीकाले भन्यो, 'भूल हो गई, एक बार माफ करदिजिए।'

माने पो। २५ सयबाट बार्गेनिङ सुरु भयो। निषेधित कुरा जो तानेको थिएँ। नदिऊँ त सनकी पुलिसले बाटोमा झारेर थुन्दिने डर, दिन मन नलाग्ने। आखिर यति ठूलो दण्ड के नै पो होला र? म ढिट।

टीकाले अनेकौं डर देखाए। मलाई कवि, पत्रकार भनेर खुब बुझाए। उसको भनाइ एउटै थियो, 'यति सब जान्ने मान्छेले किन कानुन मिचेको त ?'
टीका भन्थ्यो, 'बानी छ नि त।'निकै आशाले हेरिरहेको त्यो पुलिसलाई मैले पत्तो दिइरहेको थिइनँ। टीकाले 'एक सौ देउ त', भन्यो। मैले चुपचाप दिएँ। चम्पट कस्यो पुलिस।

टीकाले मलाई हेर्यो अनि बर्थमा चढ्यो। मिनरल वाटरको बोतलमा हालेको फेनी चुरुक्क तान्यो र चुपचाप सुत्यो। मेरो हिरोगिरी सक्किसकेको थियो। एनजीपी पुगेपछि उनीहरू कालेबुङतिर लागे म नेपालतिर।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.