पहिचान मात्र बदलिएको हो डिस्कोर्स होइन

 पहिचान मात्र बदलिएको हो डिस्कोर्स होइन

प्रथम भएको कविताको भावभूमि परिवर्तनको मर्मविपरीत छैन। यसले पहिचान पक्षधरहरूलाई विखण्डनकारी बताउने एकथरी आलोचकहरूको भाषा पनि बोल्दैन। सामेली लोकतन्त्रको मर्म र त्यसप्रतिको चिन्ता तथा चासो नै कवितामा व्यक्त भएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानका कविता विभाग प्रमुख डा. अमर गिरीसँग लक्ष्मण श्रेष्ठले कविता महोत्सवको विषयमा केन्द्रित भएर गरेको कुराकानी:

प्रज्ञाले आयोजना गरेको कविता प्रतियोगिताको निर्णयबारे सामाजिक सञ्जाल र चिया गफहरूमा निकै आलोचना भयो। प्रज्ञाले बदलिँदो डिस्कोर्सलाई सम्बोधन गर्न सकेन भन्ने छ। के प्रज्ञाको दृष्टिकोणमा परिर्वतन नआएकै हो ?

-प्रज्ञाले बदलिँदो डिस्कोर्सलाई सम्बोधन गर्न सकेन भन्ने कुरा सही होइन। पहिचानमात्र बद्लिएको, डिस्कोर्स होइन। समय, परिस्थिति फेरिएको छ र विमर्शका कयौं विषय पनि फेरिएका छन्। प्रज्ञाले त्यस्ता विषयमा बहस चलाएको छ।

मेरै काव्य विभागले यस्ता विषयमा पटकपटक बहसको आयोजना गरेको छ। यस्ता विषयमध्ये कवितामा व्यक्त पहिचानको स्वर पनि रहेको छ। बहसका नयाँ नयाँ विषयलाई सम्बोधन गर्ने प्रयास गरिएको छ।

प्रज्ञाका समग्र सिर्जनात्मक एवं प्राज्ञिक गतिविधि तथा प्रकाशनहरूलाई हेर्दा यो कुरा स्पष्ट हुन्छ। प्रज्ञाको दृष्टिकोण पुरानै रहेको छैन। जहाँसम्म कविता प्रतियोगिताको निर्णयबारे आलोचनाको कुरा छ, यो पनि सही र स्वस्थ छैन। निर्णायकहरूले उपयुक्त कवितालाई नै पुरस्कृत गरेका छन्।

प्रज्ञाको गठन प्रक्रियामा समावेशीकरण अपनाउने प्रयास भए पनि प्रज्ञाको चिन्तन प्रक्रियामा सामेलीपन आउन सकेन भन्ने धारणालाई कसरी खण्डन गर्नुहुन्छ ?
-प्रज्ञाको चिन्तनमा सामेलीपन आउन सकेन भन्ने कुरा पनि सही होइन।

प्रज्ञाका सबै गतिविधिलाई सामेली बनाउन खोजिएको छ। जसले प्रज्ञाका गतिविधिलाई नजिकबाट नियाल्दै आएका छन्, उनीहरूले यस्तो टिप्पणी गर्ने छैनन्। कयौँ मानिसको प्रज्ञा-प्रतिष्ठानप्रतिको धारणा नै नकारात्मक छ। यस्तो धारणाले प्रज्ञाले गरेका राम्रा काम पनि देख्न सक्तैन।

कति त सामान्य कुरासमेत थाहा नपाई आलोचना गर्छन्। आलोचना गैरजिम्मेवार, सतही र पूर्वाग्रहयुक्त हुनु हुँदैन। यस्तो आलोचनाले नोक्सानसिवाय अरू केही गर्दैन।

 

कविता प्रतियोगिताको निर्णायक मण्डल पनि पाँच जनाको बनाउनुभो। कतै यो दलीय भागबण्डाको प्रभाव त होइन ?
-दलीय भागबन्डका निम्ति पाँचजना निर्णायक राखिएको होइन। राष्ट्रिय स्तरका ठूल्ठूला प्रतियोगितात्मक कार्यक्रमहरूमा पाँचजना निर्णायक राखिनु उपयुक्त र स्वाभाविक नै हुन्छ।

राष्ट्रिय कविता प्रतियोगिताका निम्ति प्रज्ञा-प्रतिष्ठानले धेरै पहिलेदेखि पाँचजना निर्णायक राख्दै आएको छ। अहिले पनि त्यही गरिएको हो। भागबन्डाको आक्षेप त तीनजना राख्दा पनि लगाउन सकिन्छ। निर्णायक मण्डलमा साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका व्यक्तिहरू नै छन्।

यस्तो टिप्पणीलाई ठीक भन्न सकिन्न। निर्णायक मण्डल बनाउँदा व्यक्तिको साहित्यिक योगदान र विज्ञतालाई हेरिन्छ। यस पटक पनि यसै आधारमा निर्णायकहरू चयन गरिएको थियो।

प्रथम भएको कवितामा पहिचान पक्षधरलाई पुर्खाको नलीहाड फुक्दै चन्द्रसूर्यलाई खण्डित गर्ने तत्वको रूपमा प्रस्तुत गरिएको छ। यसले त पहिचान पक्षधरहरू विखण्डनकारी हुन् भन्ने एकथरी कोरा 'राष्ट्रवादी'कै आवाज बोल्छ। प्रज्ञाले यो विचारलाई प्रथम बनाएर 'राष्ट्रवाद'को सरकारी लाइन स्थापित गर्न खोजेको हो?

-प्रथम भएको कविताको भावभूमि परिवर्तनको मर्मविपरीत छैन। यसले पहिचान पक्षधरहरूलाई विखण्डनकारी बताउने एकथरी आलोचकहरूको भाषा पनि बोल्दैन। सामेली लोकतन्त्रको मर्म र त्यसप्रतिको चिन्ता तथा चासो नै कवितामा व्यक्त भएको छ।

कवितामा प्रयुक्त बिम्ब र प्रतीक तथा त्यसबाट व्यक्त हुने भावको अपव्याख्या गर्नु अनुचित हुन्छ। कविताले पहिचान पक्षधरहरू विखण्डनकारी हुन् भन्ने एकथरी कोरा राष्ट्रवादीको आवाज बोल्छ भन्नु कविताको अपव्यख्या गर्नु हो। जानेर वा नजानेर जसरी गरे पनि यस्तो अपव्याख्याले कसैलाई फाइदा पुर्याउँदैन।

नेपाली साहित्य मञ्चमा प्रज्ञा प्रतिष्ठान सधैंभरि सत्ताको प्रतीक बनेर देखापरेको छ। परिर्वतनका यति धेरै घटनाक्रम उल्लेख हुँदा पनि प्रतिष्ठान सत्ताको बौद्धिक फौजभन्दा बढी हुन सकेन किन नभन्ने ?

-पञ्चायतकालमा प्रज्ञा-प्रतिष्ठानलाई सत्ताका हितहरूसँग जोडियो। राजा महेन्द्रले प्रज्ञा-प्रतिष्ठानलाई सत्ताका निम्ति, समग्र राजनीतिक व्यवस्थाका निम्ति बौद्धिक उपकरणका रूपमा प्रयोग गरेका थिए। यस विषयमा धेरै भनिरहनुपर्छ जस्तो लाग्दैन।

प्रज्ञा-प्रतिष्ठान यस अनुरूप क्रियाशील रह्यो र सत्ताले यसबाट मनग्गे लाभ पनि लियो। आजको प्रज्ञा-प्रतिष्ठानलाई भने हिजोको रूपमै परिभाषित गर्न मिल्दैन। आजको प्रज्ञा-प्रतिष्ठान सत्ताको बौद्धिक फौज होइन।

यो आलोचनात्मक विवेकसहितको प्राज्ञिक फौज हो र यो परिवर्तनको मर्मअनुसार अघि बढ्न खोजिरहेछ। नेपालका सबै भाषा साहित्यका साथसाथै वाङ्मयका विविध क्षेत्रहरूको उन्नयनमा योगदान दिनु र परिवर्तनको मर्म अनुसार नेपाली समाजको 'आत्मिक इन्जिनियरिङ' मा भूमिका सम्पादन गर्नु यसको दायित्व हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.