पहिरोमा परेका गाउँलेको उद्धार गर्ने प्रहरी सम्मानित

पहिरोमा परेका गाउँलेको उद्धार गर्ने प्रहरी सम्मानित

धादिङ: असार १६ गते बिहान धादिङ जिल्लाको री गाविस ९ चेप्राङमा भीषण पहिरो गयो। सदरमुकामदेखि ३ दिनको पैदल दूरीमा रहेको उक्त गाउँमा चारैतिरबाट पहिरो गएको खबर आएपछि २१ जना पहिरोको बीचमा परेको खबर एकैछिनमा देशभर फैलियो।

तत्कालै जिल्ला प्रहरी कार्यालय धादिङको निर्देशनमा उत्तरी क्षेत्रकै दार्खा गाविसमा रहेको प्रहरी चौकीबाट ७ जनाको टोली खटियो। टोलीमा सामेल थिए नवलपरासीका प्रहरी जवान सन्दीप कुमाल र प्रहरी हबल्दार रुद्रबहादुर कुमाल।

पहिरो गएको खबर आउनेबित्तिकै नेपाली सेनाको हेलिकोप्टरमा जिल्लाका सुरक्षा निकायले घटनास्थलको हवाईअवलोकन गरेर तत्कालै त्यहाँका बासिन्दालाई सार्ने भने पनि त्यसपछि लगातार परेको पानी र खराब मौसमका कारण उनीहरूको उद्धार गर्न नसकिरहेको बेला ज्यानकै बाजी लगाएर नेपाल प्रहरीका सन्दीप र रुद्रबहादुरले दुईजना गाउँकै युवाको सहयोगमा १४ जनाको पैदल मार्गबाटै उद्धार गरेपछि उनीहरू प्रहरी वृत्तमा चर्चामा आए।

पहिरो गएको ५० घन्टा बितिसक्दा पनि भौगोलिक विकटता र खराब मौसमका कारण गाउँमा सम्पर्क हुन नसकिरहेका बेला उनीहरू गाउँमै पुगेर स्थानीयको उद्धार गर्न सफल भएका हुन्। गाउँ पुग्नेबित्तिकैको अनुभव सुनाउँदै प्रहरी हबल्दार रुद्रबहादुर कुमालले भने, 'जिल्लाबाट निर्देशन आउनेबित्तिकै हामी चेप्राङ गाउँतर्फ हिँड्यौं। दिनभरि हिँडेर साँझ पहिरोनजिकैको अर्को गाउँ ताजिम्राङमा बास बस्यौं। पानी परिरहेको थियो। गाउँको अवस्था केही थाहा थिएन।

जसरी पनि हामी गाउँमा पुग्नुपर्छ भन्ने लागेर आफ्ना हातहतियार सँगै गएका साथीलाई जिम्मा लगाएर पहिरोकै बीचबाट खुट्टा गाड्दै र बुटा समाउँदै हामी गाउँमा पुग्न सफल भयौं। गाउँमा पुग्नेबित्तिकै पहिरोको त्रासका कारण चिन्तित अवस्थामा रहेका गाउँलेहरू साह्रै खुसी भए। उनीहरूलाई उद्धार गरेर जिम्मेवारी पूरा गर्न सकेकोमा मलाई सन्तुष्टि मिलेको छ।'

 

ज्यानको बाजी लगाएर समस्यामा परेका १४ जनालाई सुरक्षित स्थलमा लैजान सफल प्रहरीहरूलाई बागमती अञ्चल प्रहरी कार्यालय बागमती र जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार नगद पुरस्कारसहित सम्मान गरेको छ।

सम्मानित भएपछि गाउँलेलाई उद्धार गरेको अनुभव सुनाउँदै प्रहरी जवान सन्दीप कुमालले भने, 'पारिपट्टिबाट हेर्दा चारैतिर पहिरो गएको देखियो। पहिरोको बीचमा समेत घर थियो तर गाउँमा सम्पर्क भएको थिएन। धन्न मानवीय क्षति भएको रहेनछ। त्यहाँका मान्छे के गरिरहेका होलान्, कसरी बसेका होलान्जस्तो लाग्यो।'

उनले अगाडि भने, 'गाउँनजिकै पुगेपछि जसरी पनि गाउँमा प्रहरी पुग्नुपर्छ भन्ने लागेर सँगै गएका सहकर्मीसँग सल्लाह गरेर स्थानीय दुई युवा मिलन तामाङ र मे लामा तामाङसँगै गाउँतर्फ गयौं। पहिरोले बगाएको ठाउँमा खोतलेर बाटो बनाउँदै हामी अघि बढ्यौँ।

पानी परिरहेको थियो। हिँड्ने बाटो सबै भत्किएको थियो। अलिकति चिप्लिए पनि झसंग भएर घरपरिवारलाई सम्झिन्थें। फेरि देश र जनताको सुरक्षा गर्ने कसम खाएर प्रहरीमा जागिर खाएपछि घरपरिवारभन्दा पनि देश ठूलो भन्ने ठानेर झार, पात, बुटा समाउँदै हामी गाउँमा पुग्न सफल भयौं।

गाउँका बासिन्दाले पहिरोको त्रासका कारण दुई दिनसम्म खाना नै खाएका रहेनछन्। गाउँले सबैजना त्रसित थिए। के गर्ने, कसो गर्ने सबैजना अन्योलमा रहेछन्। सबैजनाले सँगै खाना खाइयो। गाउँमा २१ जना रहेछन्। त्यसमध्ये केही बिरामी र हिँड्नै नसक्ने वृद्धवृद्धा थिए।

मौसममा सुधार आउनेबित्तिकै हेलिकोप्टर आउने खबर थियो। उनीहरूलाई सुरक्षितजस्तो स्थानमा बस्न अनुरोध गरेर हिँड्नसक्ने १४ जना (२ जना अपांग बालबालिका, जसलाइ बोकेर पहिरो कटायौं) लाई हामी २ जना प्रहरी र सँगै गएका २ जना गाउँलेले मिलेर भीर र पहिरोको बाटोमा बालबालिकालाई बोक्दै र हिँडाउँदै उद्धार गर्न सफल भयौं।'

पहिरोमा परेकाहरूलाई उद्धार गरेको खबर सुनेर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पनि उनीहरूलाई बधाई र शुभकामना दिएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसएसपी शरदकुमार खत्रीले भने, 'ज्यानको बाजी लगाएर प्रहरीले स्थानीयको उद्धार गरेको जानकारी पाउनेबित्तिकै फोनमार्फत आईजीपी सापले समेत बधाई दिनुभएको छ। कुनै विशेष कार्यक्रममार्फत सम्मान गरिने बताउनुभएको छ।'

उनीहरूले गाउँकै सुरक्षित स्थानमा राखेर आएका बिरामी र स्थानीयलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार उद्धार गरेर सेनाले नै बनाउँदै गरेको सामूहिक आवासमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.