लाखौं ठगी गर्ने दुई वकिल थुनामा

लाखौं ठगी गर्ने दुई वकिल थुनामा

काठमाडौं: अदालतमा विचाराधीन मुद्दा मिलाइदिने र थुनामा रहेका व्यक्ति छुटाउने नाममा झन्डै ६० लाख रुपैयाँ ठगी गरेको अभियोगसहित मुद्दा दायर गरिएका अधिवक्ता सञ्जयराज अधिकारीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश बालेन्द्र रूपाखेतीको इजलासले अधिकारीलाई थुनामा राख्न आदेश दिएको हो ।

अदालतमा विचाराधीन मुद्दामा न्यायाधीशको समेत नाम लिएर ठगी गरेको अभियोगसहित पाँच वर्ष कैद, बिगो असुल र जरिबाना मागसहित काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले अधिकारीविरुद्ध ठगी मुद्दा दायर गरेको थियो । डिफेन्स ल फर्मका अधिवक्ता अधिकारीले अर्काको नाममा रहेको जग्गा मिलाइदिने र वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने नाममा समेत ठगी गरेको अभियोगपत्रमा उल्लेख थियो । अधिकारीविरुद्धको जाहेरीमा अनुसन्धान हुँदा न्यायाधीशको नाम बेचेर मुद्दा मिलाउने अरू बिचौलिया वकिलको जालो फेला पर्नसक्ने अनुमान जिल्ला सरकारी वकिलले गरेको छ ।

जग्गा मुद्दा मिलाइदिने नाममा कृष्णकुमारी ढकालबाट १२ लाख पाँच हजार रुपैयाँ, लागूऔषध मुद्दामा थुनामा रहेका अभियुक्तलाई छुटाउन दिलकुमारी लिम्बूबाट चार लाख ५० हजार रुपैयाँ, पुनरावेदन पाटनमा रहेको चेक अनादर मुद्दा मिलाउन एक लाख र जग्गाको बैनाबापत नानीछोरी महर्जनबाट १२ लाख रुपैयाँ ठगी गरेको अभियोग अधिकारीविरुद्ध छ ।

यस्तै प्रहरी अनुसन्धानले काठमाडौं जिल्ला अदालतमा चलेको ‘हक कायम' मुद्दामा अर्को पक्षबाट जग्गा मिलाइदिने भन्दै केशव उप्रेतीबाट २० लाख र जग्गाको आवश्यक कानुनी कार्य गर्नका लागि भनेर थप आठ लाख रुपैयाँ ठगी गरेको देखाएको छ । यता इजरायलमा रोजगारीका लागि पठाउन डम्बरबहादुर चिडीसँग ६ लाख र अर्का नरबहादुर सुनारीबाट ६ लाख रुपैयाँ बुझेर अलपत्र पारेको दाबीसमेत थियो ।

 

उनले रकम फिर्ता गरिदिने भन्दै ‘फर्जी' चेक थमाएर झुक्यानमा पार्ने गरेको भन्दै कतिपय पीडितको जाहेरी परेको थियो । ‘मूलतः कृष्णकुमारी ढकाल र दिलकुमारी लिम्बूको जाहेरीबाट देखिन आएको विषय प्रकृतिको गाम्भीर्य, त्यसबाट पर्नसक्ने असरसमेतका पक्षलाई र उपरोक्तअनुसारको अभियोग दाबी तथा अदालती बन्दोबस्तको ११८ को देहाय २ को कानुनी व्यवस्थालाईसमेत समग्रतामा विचार गर्दा प्रतिवादी सञ्जयराज अधिकारीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्था देखिन आएकोले', असार १९ मा भएको थुना आदेशमा लेखिएको छ, ‘पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई अबं ११८ को देहाय २ अनुसार मुद्दाको पुर्पक्षका निमित्त कानुनबमोजिम थुनामा राख्नु भनी अबं १२१ नं बमोजिम थुनुवा पुर्जी दिई सम्बन्धित कारागारमा लेखी पठाइदिने गरी आदेश पर्चा गरिदिएको छ ।'

यता बेलायतस्थित नेपाली राजदूतावासमा सैनिक सहचरीको काम गर्दै आएका नेपाली सेनाका कर्णेल प्रदीपजंग केसीको नक्कली हस्ताक्षर गरेर बेलायतको भिसा अप्लाई गरेको आरोपमा प्रहरीले अर्का अधिवक्ता हरिओम तिमल्सिनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले तिमल्सिनालाई बेलायती दूतावासकै आग्रहमा पक्राउ गरेको हो ।

बेलायतको एक कार्यक्रम निम्तामा कर्णेल केसीले बोलाएको बेहोराको पत्रसहित तिमल्सिनाले पोखराकी एक महिलाका नाममा भिसा अप्लाई गरेका थिए । काठमाडौंस्थित बेलायती दूतावासले परीक्षणका लागि उक्त पत्र कर्णेल केसीलाई पठाएको थियो । कर्णेल केसीले नै पत्रमा लेखिएको बेहोरा, आफ्नो हस्ताक्षर र छाप सही नभएको प्रतिक्रिया दिएपछि तिमल्सिना पक्राउका लागि प्रहरीलाई बाटो खुलेको थियो । पोखराकी ती युवतीबाट १० हजार लिइसकेका तिमल्सिनाले भिसा लागेलगत्तै थप नौ लाख ९० हजार लिने सहमति गरेका थिए ।

महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार धर्मस्थली घर भएका तिमल्सिनाले अर्की एक युवतीलाई भने चोर बाटो प्रयोग गरेर बेलायत पठाइसकेका छन् । महानगरीय प्रहरी परिसर टेकुले तिमल्सिनाविरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दामा दायर गर्ने तयारीका लागि काठमाडौं जिल्ला अदालतबाट थुना म्याद थपेको छ ।

परिसर मुद्दा शाखाका डीएसपी रवीन्द्र रेग्मीले भने, ‘कर्णेल केसीले निम्ता नै नपठाएकोमा तिमल्सिनाले आफैं हस्ताक्षर र छापसमेत लगाएर बेलायती राजदूतावासमा भिसाको अप्लाई गरेका रहेछन् । हस्ताक्षर भेरिफाईका लागि कर्णेललाई पठाउँदा नक्कली रहेको पुष्टि भएपछि तिमल्सिनाको करतुत पर्दाफास भयो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.