संग्रहालयमा भोटे ताल्चा

 संग्रहालयमा भोटे ताल्चा

रामेछाप: करिब एक सय ५० वर्षपहिले रामेछाप मन्थलीस्थित सानीमदौ (हाल सिर्जनानगर) का किसान चन्द्रलाल सुवेदीले पुत्र विष्णुकुमारको वियोगमा विह्वल पत्नी पदमकुमारीलाई खुसी पार्न गाउँको सिरानमा बाईसवटा झ्याल र ढोका भएको नयाँ घर बनाइदिए।

घरको मूल ढोका र झ्यालका बुट्टा बनाउन तीन सहरदेखि सिकर्मीहरू मगाए। कलाकारहरूले त्यस भेगकै नमुना बुट्टा कुँदेर झ्याल र ढोकाहरू बनाइदिए।
शाहजहाँले रानी मुमताजको स्मृतिमा तालजमहल निर्माण गरेको र राजा प्रताप मल्लले पुत्रवियोगले छट्पटाएकी रानीलाई खुसी पार्न रानीपोखरी निर्माण गरिदिएको घटनासँग मिल्ने कथा सामान्य किसान चन्द्रलालले पत्नीलाई खुसी पार्न बनाइदिएको नयाँ घर २०४५ सालको भूकम्पले भत्काएको थियो।

नयाँ घरका केही काठपात माझाटारमा झारेर चन्द्रलालका सन्तानले सिर्जनानगर स्मृतिगृह बनाए। त्यो घर पनि २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले ध्वस्त पारिदिएको छ।पाँच सय वर्ष पुरानो इतिहास भएको पुरानो सानीमदौ गाउँमा हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले निर्माण गर्दै गरेको संग्रहालयमा चन्द्रलाल र पदमकुमारीको प्रेमको चिनो नयाँ घरका बुट्टेझ्याल, ढोका र त्यसमा प्रयोग भएको डेढ सय वर्ष पुरानो भोटे ताल्चा सजाइने भएको छ।

 

संग्रहालयमा त्यति नै पुरानो भतेरे पन्यु, ७० वर्षअघि लेखिएको चन्द्रवदन काव्य हस्ताक्षरमा उतारिएको शिलालेख, स्थानीय बुद्धिजीवी नारायणप्रसाद सुवेदीको पहलमा डेढ सय वर्ष पुराना छालाका खराउ, बडिमुहानका नाटककार श्याम ढुंगेलको पहलमा डेढ सय वर्ष पुरानो चाँपको विशाल सन्दुस, स्थानीय किसान रामप्रसाद काफ्लेले जोगाएर राखेको आँपको ढिकी र ओखल, शिवलालका पालाको ४०हात लामो सालको निराल पनि राखिने भएको छ।

किंवदन्ती सुनाउँदै स्थानीय केदारनाथ चापागाईंले भने, 'देवीस्थान नजिकको सालबाट तयार उक्त निराल ल्याउँदा देवीस्थानमा परेवा र पाठीको भोग लगाइएको थियो।' नयाँ घरमा प्रयोग भएका बुट्टेदार झ्यालढोकालाई संग्रहालयमा प्रयोग गरिने प्रतिष्ठानले जनाएको छ।

संग्रहालयमा सजाउन गाउँभरिबाट आआफ्ना घरमा भएका सय वर्ष पुराना सामग्री आउने क्रम सुरु भएको बताइएको छ। प्रतिष्ठानले सिर्जनानगर, भँगेरी, कठजोर र अन्य स्थानमा आयोजना गरेको चित्रकला कार्यशालामा निर्मित ५० भन्दा बढी चित्र संग्रहालयमा राखिने भएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.