हिमालमा पानी घट्यो

हिमालमा पानी घट्यो

काठमाडौं: नेपालको हिमाली भेगबाट बग्ने पानीको परिमाण घट्दै गएको देखिएको छ । अन्तर्राष्ट्रिय अनुसण्धान संस्था तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका वैज्ञानिकले हालै गरेको अध्ययनअनुसार पानीको मात्रा घटेपछि तल्लो क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजना तथा अन्य सिँचाइका कार्यक्रम प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।

दूधकोसी बेसिनमा आगामी सन् २१०० सम्ममा ३० प्रतिशत पानीको मात्रा घट्ने अनुमान छ । त्यही बेलासम्ममा हिमनदीमा भने ५० प्रतिशतभन्दा बढीले बरफको मात्रा घट्ने प्रक्षेपण छ ।

पानी घट्ने अनुमानसँगै वैज्ञानिकले तल्लो क्षेत्रमा सिँचाइ तथा जलविद्युत् आयोजना निर्माणका लागि लागि अहिलेदेखि नै योजना बनाउनुपर्ने सुझाव दिएका छन् ।

 

अध्ययनकर्तामध्येका एक स्पेनिस वैज्ञानिक ड्यानियल बोचिओलाले नेपालमा जलवायु परिवर्तनका कारण कृषिजन्य उत्पादनमा समस्या देखिएको उल्लेख गर्दै दूधकोसी बेसिनमा आगामी दिनमा झन् ठूलो खडेरीको समस्या उत्पन्न हुने चेतावनी दिएका छन् । ‘यसैगरी सुक्खाग्रस्त यो क्षेत्रमा झन् ठूलो समस्या आउने देखिन्छ,' ड्यानियले लेखेका छन् ।

उनीहरूले दूधकोसी क्षेत्रमा सन् २०१२ देखि नियमित रूपमा हिउँको अवस्था, पानीको अवस्था, हिउँ पग्निले क्रम, हिउँको गहिराइ तथा अन्य वातावरणीय पक्षकाबारे तथ्यांक संकलन गरिरहेका थिए । उनीहरूले जलवायुजन्य गतिविधि तथा सन् २१०० सम्मको सम्भावित जलवायु परिवर्तनको अवस्थाबारे अन्तर्राष्ट्रिय गणितीय ढाँचासमेत प्रयोग गरेका थिए ।

अध्ययनअनुसार अहिले वार्षिक रूपमा बरफ पग्लिएर दूधकोसी बेसिनमा ५५ प्रतिशत पानी उपलब्ध हुन्छ भने हिउँ पग्लिएर १९ प्रतिशत पानी नदीमा बगिरहेको छ ।

वैज्ञानिकले सन् २१०० सम्ममा पानीको स्रोतका रूपमा हिउँ ३९ र बरफ ३१ प्रतिशत रहने अनुमान गरेका छन् । ‘सो क्षेत्रका एक लाख ४० हजारका लागि यो साझा समस्या हुने देखिन्छ', नास्टको समेत संलग्नतामा भएको अध्ययन प्रतिवेदनमा भनिएको छ । बरफको आकार नै ५० प्रतिशतभन्दा बढीले घट्ने प्रक्षेपण पनि वैज्ञानिकहरूको छ ।

दूधकोसी नदी प्रणालीमा गरिएको अनुसन्धानका आधारमा देशका अन्य नदी प्रणालीमा पनि यस्तै असर देखिने रिपोर्टको निष्कर्ष छ ।

हिउँ पग्लिने क्रमसँगै हिमतालको आकारसमेत बढिरहेको छ । तर क्रमशः हिउँ पर्ने क्रममा कमी आउने तथा छिटा हिउँ बिलाउनेलगायतका समस्यासमेत अहिले बढिरहेका छन् ।

वैज्ञानिकहरूले हिमताल विस्फोट भएको अवस्थामा भने तल्लो तटीय क्षेत्रमा झन् ठूलो समस्या पैदा गर्ने चेतावनी दिएका छन् । उच्च हिमाली भेगमा केही हिमताल विस्फोटको खतरामा रहेको भन्दै सरकारले पानीको सतहसमेत घटाउने काम थालेको छ । दोलखाको च्छोरोल्पामा यसअघि नै तीन मिटर पानी घटाइसकिएको छ भने इम्जा हिमतालमा अहिले नेपाली सेनाले काम गरिरहेको छ । हिउँ पग्लिने क्रमसँगै यी हिमतालको आकारसमेत बढिरहेको छ ।

भूकम्पपछि पनि तीनवटा सानाठूला हिमताल विस्फोट भइसकेका छन् । जलवायु तथा मौसमविज्ञान विभाग बाढी पूर्वानुमान शाखाले ती हिमतालको अनुगमन गरिरहेको छ । ‘विस्फोटको खतरा छ, पूर्व सूचना दिएर तल्लो क्षेत्रका बासिन्दा बचाउन सकिन्छ', बाढीविद् विनोद पराजुलीले भने ।

यसअघिका विभिन्न अध्ययनले पनि हिमालको हिउँ पग्लिने क्रम तीव्र गतिमा भइरहेको प्रतिवेदन सार्वजनिक गरेका छन् । हिउँको मात्रा घटेपछि पानीको बहाव पनि घट्ने वैज्ञानिक अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.