समृद्ध मुलुक बनाउन समृद्ध सोचाइ

समृद्ध मुलुक बनाउन समृद्ध सोचाइ

हामीले विगत सात दसक अधिकार प्राप्तिको लडाइँ गर्‌यौँ । त्यसनिम्ति धेरै सहिद भए । धेरै घरपरिवार तहसनहस भए । कतिपय अहिले पनि अपांग जीवन जिउन बाध्य छन् । एकातिर विभिन्न समयका जनआन्दोलन र त्यसविरुद्धका निर्मम दमन र यातनाहरूका कारण उल्लिखित पीडादायी अवस्था विद्यमान छन् भने अर्कोतिर त्यस्ता आन्दोलन र क्रान्तिको फलस्वरूप स्वर्णिम युगको उदय भएको छ ।

दसकौँदेखिको नेपाली जनताको चाहनाअनुसार संविधानसभाबाट नेपालको संविधान २०७२ निर्माण भएको छ र तदारुकताका साथ कार्यान्वयन पनि भइरहेको छ । यसै सन्दर्भमा संविधानले परिकल्पना गरेको समृद्ध नेपाल निर्माणमा प्रत्येक नेपालीले आफ्नो भूमिका खोज्नुपर्ने बेला आएको छ ।

नेपालमा बसोवास गर्ने नेपाली उस्तै, हाम्रा संरचना उस्तै, त्यो संरचनाभित्रका पात्र पनि उस्तै, राजनीतिक दल र त्यसका नेता पनि उस्तै । उस्तैउस्तै परिस्थितिबाट समृद्ध नेपाल स्थापना गर्न कसरी सकिएला ? संविधान बन्दैमा, त्यसअन्तर्गतका कानुन बन्दैमा, सरकारले जनमुखी नीति तथा कार्यक्रम घोषणा गर्दैमा कसरी नेपाल समृद्ध होला ? भाषणमा हुन सक्ला, त्यो अर्कै पक्ष हो, तर साँचो अर्थमा समृद्ध मुलुक बनाउन त प्रत्येक नेपालीले आफ्ना सोच, शैली, धारणा, प्रवृत्ति आदिलाई उन्नत स्तरमा परिणत गर्नैपर्छ ।

नेपालको राजनीतिक परिवर्तनको लागि एक सय चारबर्से राणाशासन उखेल्ने, तीसबर्से पञ्चायती शासन ढाल्ने र राजसंस्था उन्मूलन गर्ने कार्य कम चुनौतीपूर्ण थिएनन् । त्यो चुनौतीपुर्ण परीक्षामा हामी उत्तीर्ण भएका छौँ । हामीले यति ठूलो राजनीतिक परिवर्तन गर्दा त्यति क्षति व्यहोरेका छैनौँ, जति गणतन्त्र प्राप्तिको लडाइँमा अन्य राष्ट्रहरूले व्यहोरेका छन् ।

 

अब हामी देश निर्माणको चुनौतीपूर्ण परीक्षामा कसरी उत्कृष्टता हासिल गर्न सक्छौँ, त्यसतर्फ ध्यान केन्द्रित गर्नु जरुरी छ । भत्काउन जति सजिलो हुन्छ, निर्माण गर्न त्यत्तिकै असजिलो हुन्छ । ध्वंस गर्न कमान्डरको एक आदेश काफी हुन्छ तर निर्माण गर्न योजना, श्रम, पुँजी, संगठन, प्रविधि, विचार आदिको आवश्यकता पर्छ ।

आलोचकहरू लोकतन्त्र भनेको छाडातन्त्र हो भन्छन् किनकि यसमा पक्ष र विपक्ष हुन्छन् । विपक्षले सत्तापक्षले जति राम्रा योजना बनाएर तिनको कार्यान्वयन गरे पनि प्रतिपक्षले त्यसको प्रत्यक्ष–परोक्ष विरोध गर्नु आफ्नो धर्म ठान्छ । त्यसैले हाम्रो देशको परिस्थितिमा समृद्धितर्फ जाने विषय चुनौतीपूर्ण देखिन्छ । यहाँ कुनै पनि पार्टीको बहुमतीय सरकार बन्ने अवस्था छैन ।

दुई वा सोभन्दा बढी पार्टी मिलेर मात्र सरकार बन्ने अवस्था छ । माओवादीको दसबर्से युद्ध र गत वर्षको विनाशकारी भूकम्पको कारण देशका महत्त्वपूर्ण भौतिक संरचनाहरू प्रायः ध्वस्त भएका छन् । इतिहास नमेटिने गरी वर्तमान र भविष्यको पुस्ताको आवश्यकतामा कत्ति पनि कमी नहुने गरी हामीले ती महत्त्वपूर्ण ऐतिहासिक संरचना पुनर्निर्माण गनुपर्नेछ ।

अब हामीले गर्ने संरचनात्मक विकासमा हाम्रा राष्ट्रिय मूल्यमान्यतालाई मात्रै ध्यान दिएर पुग्दैन, विश्वव्यापी मान्यताप्राप्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी १७ वटा लक्ष्य र त्यसअन्तर्गतका अवधारणालाई पनि अवश्य ध्यान दिनुपर्दछ । सन् २०३० सम्म संसारबाट गरिबी उन्मूलन गर्ने, विद्यमान असमानता हटाउने, सहर तथा ग्रामीण क्षेत्रको दिगो विकास गर्ने, संसारमा शान्ति तथा न्याय पूर्णरूपले स्थापित गर्नेलगायतका लक्ष्य राष्ट्रसंघले अवलम्बन गरेको छ ।

आजको विश्व परिस्थितिमा कुनै एउटा देशभित्र त्यहाँका जनताले आफ्नो मनलागी गर्ने अवस्था छैन किनकि अन्तर्राष्ट्रिय कानुन र प्रतिबद्धताका कारण पनि त्यस्ता कतिपय विषय प्रतिबन्धित हुन्छन् । आज प्रविधिको विकासका कारण विश्व एउटा गाउँमा परिणत भएको छ ।

यी सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति र सीमाको ख्याल राख्दै समृद्ध नेपाल निर्माण गर्नु हामी नेपालीको दायित्व हो । त्यसको लागि संविधान, कानुन, निर्देशिका, नीति तथा कार्यक्रम, योजना बजेट आदि त आवश्यक छँदैछन्, त्यसका अतिरिक्त हामीले परम्परागत सोच, विचार र शैलीमा भने अवश्य निखार ल्याउनैपर्छ । हिजो टाउकाको मूल्य तोक्ने र तोकिइनेहरू आज सँगै बसेर समाज रूपान्तरणको महाअभियान सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

शासक र शोषित, आन्दोलनकारी र दमनकारी, सामन्तवादी र सर्वहाराबीचको दूरी कानुनीरूपले शून्य भए पनि व्यावहारिक रूपले भने अझै शून्यमा पुग्ने स्थिति छैन । समाजमा छुवाछूत, बोक्सी, छाउपडी जस्ता विभिन्न कुप्रथा अझै विद्यमान छन् । हाम्रा पुराना संस्कार, संस्कृति र परम्परागत सोचाइका कारण यस्तो हुन गएको हो । यतिबेला नेपालको संविधान २०७२ अन्तर्गत विभिन्न प्रकारका कानुन निर्माणको क्रम चलिरहेको छ ।

विगतमा हामीले राजनीतिक परिवर्तनको लागि जति प्रतिबद्ध भएर सफलता प्राप्त गर्दै आयौँ, आज पनि समाजलाई आर्थिक, सामाजिक रूपले रूपान्तरण गरी समृद्ध नेपाल निर्माण गर्न हाम्रा सोच, विचार, व्यवहार र कामकारबाहीलाई पनि समृद्ध बनाऔँ ।

यस्तो अवस्थामा नीतिनिर्माता पनि ज्यादै चनाखो हुनु जरुरी छ । नेपाली समाजको वास्तविक अवस्था चित्रण गर्दै गलत कुरा निर्मूल गर्ने गरी दीर्घकालीन ढंगले सकारात्मक प्रभाव पार्ने गरी कानुनहरू बनून् ताकि बर्सैपिच्छे परिमार्जन गर्न नपरोस् ।

अब हामीले गर्ने समाज रूपान्तरणका क्रियाकलापमा हरेक क्षण आफ्नो विचार र धारणा उन्नत बनाउन आवश्यक छ । पिछडिएका जातजाति, दलित, महिलालगायत संविधानमा उल्लेख गरिएका सबै पक्षलाई राष्ट्र विकासको मूलधारमा ल्याई समाजलाई साँचो अर्थमा रूपान्तरण गर्ने हो भने यतिखेर हामीले आफू जहाँ छौँ, आफ्नै घर, आँगन, भान्सा, अफिसबाटै प्रभावकारी ढंगले कामको थालनी गर्नुपर्छ ।

हरेक व्यक्तिले आफूले गरेका कामबाट समाजलाई केही न केही लाभ होस् भन्ने धारणा विकास गर्नैपर्छ । करिब सत्तरी वर्षसम्म अनवरत रूपले अधिकार प्राप्तिको लडाइँ गर्न सक्ने हामी अथक र जुझारु नेपाली अब यो मुलुकको रूपान्तरणको लागि कम्तीमा पाँचदेखि दस वर्षसम्म निःस्वार्थ ढंगबाट सामाजिक, आर्थिक क्रान्ति गरौँ । यो रूपान्तरणको क्रान्तिमा हिजो जस्तो घरपरिवार त्यागेर, जीउज्यानको बाजी लगाएर, आफ्नो व्यक्तिगत र पारिवारिक जीवन त्याग्दै, दुस्मनका संगीनहरू छिचोल्दै लडाइँ गर्नुपर्ने अवस्था छैन ।

आज त हामीले प्राप्त गरेका राजनीतिक अधिकारहरू जो संविधानमा स्वर्णाक्षरले समेटिएका छन्, तिनलाई आधार बनाएर आफ्नो व्यक्तिगत र पारिवारिक जीवनलाई ध्यानमा राख्दै साथीभाइ, समाजका सबै सरोकारवाला पक्षसँग वाद, संवाद र हातेमालो गर्दै राष्ट्रिय–अन्तर्राष्ट्रिय सहयोगमा गरिने सामाजिक आर्थिक विकास निकै सुरक्षित, रमाइलो र अविस्मरणीय हुनेछ ।

यसमा त केवल हामीले आफूलाई निःस्वार्थ र सामाजिक भावनाबाट प्रेरित गर्नुपर्छ । आफूले गरेको सकारात्मक कार्यबाट अरूले प्राप्त गर्ने सन्तुष्टि देख्दा हुने खुसी र आनन्दको प्राप्ति संसारमा अरू के कुरासँग तुलना गर्न सकिन्छ र ? यस्ता साना–मसिना कुरा हामीलाई थाह त छँदै छ, तर त्यसलाई व्यवहारमा उतारेर लैजाने कुरा भने वास्तवमा चुनौतीपूर्ण छ ।

विगतमा हामीले राजनीतिक परिवर्तनको लागि जति प्रतिबद्ध भएर सफलता प्राप्त गर्दै आयौँ, आज पनि समाजलाई आर्थिक, सामाजिक रूपले रूपान्तरण गरी समृद्ध नेपाल निर्माण गर्न हाम्रा सोच, विचार, व्यवहार र कामकारबाहीलाई पनि समृद्ध बनाऔँ ।

ज्ञवाली एमाले केन्द्रीय कार्यालयकी उपसचिव हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.