पूर्वप्रधानमन्त्री सहितको सरकारी टोली कोरला नाकामा
गोपाल छन्त्याल
बेनीः चीनसँग सीमा जोडिएको कोरला नाकाको अवलोकन र वस्तुस्थिति अध्ययन गर्न पूर्वप्रधानमन्त्री माधव नेपाल सहितको सरकारी टोली बिहीबार सीमा क्षेत्रमा पुगेको छ।
टोलीमा पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता नेपाल, उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छदार, भीम रावल, टोपबहादुर रायमाझी, अर्थराज्यमन्त्री दामोदर भण्डारी, सडक विभागका महानिर्देशक माधब कार्की, रक्षा सचिव महेश दाहाल, मुस्ताङका सांसद श्रीमाया थकाली, महेन्द्र शेरचन र रोमी गौचन लगायत छन्।
पूर्वप्रधानमन्त्री सहितको सरकारी टोली नेपाली सेनाको हेलिकोप्टरबाट कोरला नाका पुगेका हुन्। टोलीले चीनसँग व्यापारिक कारोबारका लागि सहज मानिएको कोरला नाकासम्मको पहुँच मार्ग, सुरक्षा व्यवस्था, भन्सार कार्यालयको व्यवस्थापन र स्थानीयबासीसँग छलफल गर्नेछ।
सरकारले नाकामा कारोबारका लागि स्थापना गरेको नेचुङ भन्सार आवश्यक भौतिक पूर्वाधारको अभावमा सदरमुकाम जोमसोमबाट सञ्चालन हँुदै आएको छ।
टोलीले लोमान्थाङ क्षेत्रमा नेपाली सेनाको क्याम्प स्थापनाका लागि आवश्यक जग्गा छनौट गर्नुका साथै सुरक्षाको अन्य प्रबन्ध समेत मिलाउने बुझिएको छ । त्यसका लागि भीमदल गण जोमसोमका गणपति अर्जुन बस्नेत बुधबार नै लोमान्थाङ पुगेका छन्।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले नाकासम्म पुग्नका लागि सडकको अवलोकन, सुरक्षा र भन्सारका दीर्घकालीन व्यवस्थापन नै भ्रमणको मुख्य उद्देश्य भएको बताए।
अहिले ९३ किलोमिटर जोमसोम–कोरला सडकको स्तरोन्नतिको काम भइरहेको छ । टोली बिहीबार नै सदरमुकाम फर्कने जनाइएको छ ।