पश्चिमाञ्चलका जिल्लामा भूकम्पको धक्का
काठमाडौंः पश्चिमाञ्चलका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो २ बजेर ४३ मिनेटको समयमा कास्की, लम्जुङ र गोरखासहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लम्जुङको घनपोखरा र सिउरुङक्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्प गएको हो ।
केन्द्रबिन्दु नजिकै भएकाले लमजुङमा बलियो झट्का महुसस भएको त्यहाँस्थित अन्नपूर्णकर्मी दीपक अधिकारीले जानकारी दिएका छन् ।
भूकम्प मापन केन्द्रका अनुसार यसअघि जुन २२ तारिखमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको परकम्प गएको थियो ।
२०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पयता मात्रै नेपालमा ४ म्याग्निच्यूडमाथिका ४ सय ६२ वटा परकम्प गइसकेको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।