सिन्धुपाल्चोक केन्द्र भएको अर्को परकम्प
काठमाडौंः लमजुङलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको परकम्प गएको केही घन्टामै फेरि अर्को परकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार साँझ ५ बजेर ३८ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको परकम्प गएको हो ।
यो परकम्पको सामान्य धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको छ । त्यसैगरी सिन्धुपाल्चोकका छिमेकी जिल्लामा पनि परकम्पको धक्का महसुस भएको छ ।
आजै दिउँसो २ बजेर ४३ मिनेटमा लमजुङलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको परकम्प गएको थियो ।
२०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पयता मात्रै नेपालमा ४ म्याग्निच्यूडमाथिका ४ सय ६३ वटा परकम्प गइसकेको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।