माओवादी केन्द्रको महाधिवेशन पुस २३ गते
काठमाडौँ: नेकपा माओवादी केन्द्रले आगामी पुस २३ गतेदेखि २८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको माओवादी पोलिटब्यूरो बैठकले २०७३ पुस २३ गतेदेखि २८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘पुस २३ गते महाधिवेशन उद्घाटन गरेर २८ गते सम्पन्न गर्ने निर्णय भएको छ ।'
विभिन्न १० घटक माओवादीसँगको एकतापछि बनेको माओवादी केन्द्रले मंसिरसम्ममा सम्पूर्ण तयारी पूरा गरेर पुसमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
१० माओवादी एकतापछिका केन्द्रका एक हजार एक सय ९९ केन्द्रीय सदस्यलाई महाधिवेशन आयोजक समिति बनाएर महाधिवेशन गर्ने निर्णय गरेको हो।
माओवादीले कात्तिक अगाडि नै तल्लो तहमा पार्टी एकीकरण,सदस्यता नविकरण, वडा र गाविसको सम्मेलन गरेर कात्तिक र मंसिरमा जिल्ला र प्रदेश सम्मेलन गर्ने भएको छ । बिहीबारको निर्णय बारे जानकारी दिदैँ भुसालले भनिन्, ‘कात्तिकमा जिल्ला सम्मेलन, मंसिरमा प्रदेश सम्मेलन सम्पन्न गरेर पुसमा महाधिवेशन गर्ने निर्णय भएको छ ।'
राष्ट्रिय सरकारका लागि माओवादी खुला
त्यस्तै, बिहीबारको माओवादी बैठकले राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने तर, नेतृत्व जसको भए पनि आपत्ति नहुने समेत निर्णय गरेको छ ।
भुसालले भनिन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भए पनि आपत्ति छैन तर राष्ट्रिय सरकार आवश्यक छ ।'
माओवादीलाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व दिए पनि माओवादी तयार भएको र अन्य कुनै दलको नेतृत्वमा राष्ट्रिय सरकारका लागि सहमति भए पनि माओवादीलाई स्वीकार्य हुने निर्णय बिहीबारको बैठकले गरेको छ ।