बढ्दै दुर्व्यसनी महिला

बढ्दै दुर्व्यसनी महिला

तपाईंका छोरामात्र होइन, छोरी पनि लागूपदार्थको दुर्व्यसनीमा त फसेका छैनन् ? चनाखो हुने बेला भइसकेको छ। धेरैलाई पत्तो नहुन सक्छ। केही समययता लागूपदार्थको दलदलमा फस्ने महिलाको संख्या भुसको आगोझैं सल्किँदै छ।

नेपालमा चुरोट, पानपराग, सुर्तीखैनी, गुट्का, हुक्का तथा जाँडरक्सीमात्र होइन गाँजा, चरेस ब्राउन सुगर, ह्वाइट सुगर, हेरोइन, मर्फिन, प्रोक्सिबोन, नाइट्रोसन, फेन्सिडिलजस्ता लागूपदार्थ सेवन गर्ने युवतीको संख्या अपत्यारिलो ढंगले वृद्धि भइरहेको छ।

सामाखुसीकी २० वर्षीय कृपा (नाम परिवर्तन) चार वर्ष पहिलादेखि नै चुरोट, रक्सीमात्र होइन माल (ब्राउन सुगर) समेत सेवन गर्दै आएकी थिइन्। हालै उनी प्रहरीको फन्दामा परेपछि मात्र आफ्नी छोरी दुर्व्यसनीको दलदलमा फसेको उनका आमाबाबुलाई थाहा भयो।

भैरहवाकी श्वेता ११ कक्षामा पढ्छिन्। उनी केटासाथी सँगै पाइप (सिगरेट), बुच (रक्सी) तथा ज्वाइन (गाँजा) सेवन गर्छिन्। आफू एडिक्ट भएको कुरा आमाबाबुलाई पत्तो नभएको बताउँछिन्।

के हो दुर्व्यसनी?
विश्व स्वास्थ्य संगठनका अनुसार लागूपदार्थ दुर्व्यसनीक्रमिक वा जीर्ण नशाको स्थिति हो, जुन लागूपदार्थको निरन्तर उपयोगद्वारा उत्पन्न हुन्छ र व्यक्ति एवं समाजका लागि हानिकारक हुन्छ। डीएसएम-फाइभले लागूपदार्थ दुर्व्यसनीलाई एक मानसिक रोगको संज्ञा दिँदै दुर्व्यसनीसम्बन्धी विकारहरू अन्तर्गत राखेको छ।

लागूपदार्थ-दुर्व्यसनीमा परेका व्यक्ति लागूपदार्थ-दुर्व्यसनी हो, यस्ता दुर्व्यसनीमा लागूपदार्थको सेवनलाई कायम राख्ने तीव्र इच्छा हुनुको साथै नशाको मात्रा (खुराक) लाई बढाउँदै जान्छ। कुनै व्यक्तिले नशाको सेवन गर्छ भने त्यो व्यक्ति लागूपदार्थ दुर्व्यसनीको सिकार भएको मानिन्छ।

उदाहरणका लागि ब्राउन सुगरको दुर्व्यसनीमा फसेको व्यक्तिले आधा ग्राम ब्राउन सुगरको खुराकलाई केही दिनभित्रमा नै दुई ग्राम पुर्‍याउँछ। यस्ता व्यक्तिले सारा समय लागूपदार्थको सेवनमा केन्द्रित हुन्छ।

सामाजिक कार्य, भेटघाट, आफ्नो सरसफाइ तथा बालबच्चाको रेखदेख पूर्णतया नजरअन्दाज गर्छन। यसले शरीरलाई हानि पुर्‍याउँछ, जीवनलाई बर्बाद बनाउँछ भन्ने कुरा थाहा पाएर पनि लागूपदार्थ सेवन गर्न छोड्दैनन्।

लागूपदार्थको प्रकार
सामान्यतया कानुनी र गैरकानुनी गरी दुई भागमा विभाजित गरिएको छ। चियाकफी, सुपारी, पानपराग, गुट्खा, मधु, बिँडी-चुरोट तथा सुर्ती-खैनीजस्ता सुर्तीजन्य पदार्थहरू, बियर, ब्हिस्की, भोडका, जिन, तथा ब्रान्डीजस्ता रक्सीजन्य पदार्थहरूलाई नेपालमा कानुनी लागूपदार्थअन्तर्गत राखिएको छ।

यस्ता पदार्थको सेवन गर्न कुनै रोकतोक वा बन्देज छैन। जसले जुनसुकै बेला पनि यस्ता पदार्थहरू बेचबिखन तथा सेवन गर्न पाउँछन्। सस्तो र सर्वसुलभ रूपमा पाइने हुँदा यी लागूपदार्थहरू हिजोआज महिलाहरू, खासगरी युवतीहरू आकर्षित हुन थालेका छन्।

गैरकानुनी लागूपदार्थहरू गाँजा, चरस, अफिम, हेरोइन तथा लागूऔषध डायजिपाम, बेनजोडायजिपाम, नाइट्रोजिपाम, एलपराजोलम, प्रोक्सिवान, स्पाजमोवोन, लोमोटिल, एम्फेटामिन, कोडिन, कारेक्स तथा फेन्सिडिलजस्ता औषधिहरूसमेत नशाको रूपमा दुरुपयोग भएको देखिन्छ।

मोरफिन, नोरकिन, टीडीजैसिक, फोर्टविन आदिलाई इन्जेक्सनका रूपमा प्रयोग गरिन्छ। सोलवेंट जस्तैः पेट्रोल, इरेजर तथा पालिस आदिलाई सुँघेर नशा लिइन्छ। कतिपय दुव्यर्सनीले अन्य औषधिहरू एविल, फिनारगन तथा डायजिपाम आदिका साथमा मिसाएर मासु तथा नशामा लगाउने गर्छन्।

 

महिला दुर्व्यसनीको संख्या
नेपालमा दुर्व्यसनी महिला कति छन् भन्ने आधिकारिक तथ्यांक छैन। सन् २००६ सालमा तथ्यांक विभागले गरेको सर्वेक्षणले नेपालमा दुर्व्यसनीमध्य जम्मा दुई प्रतिशत महिला कडा खाले लागूपदार्थको दुर्व्यसनी भएको तथ्यांक निकालेको थियो।

विशेषज्ञका अनुसार ५० हजारभन्दा बढी महिला लागूपदार्थको दुर्व्यसनी भएको अनुमान छ। दुर्व्यसनीमा फसेका अधिकांश महिलाको उमेर १५ देखि ४५ वर्षको छ। दुर्व्यसनीमा फस्ने महिलाको संख्या बर्सेनि बढ्दो छ।

महिला र मदिरा
नेपालमा अत्यधिक प्रयोग हुने लागूपदार्थ मदिरा अर्थात् रक्सी हो। महिलाले बढी प्रयोग गर्ने पनि रक्सी नै हो। एक अध्ययनका अनुसार नेपालमा मदिरा सेवन गर्ने मानिस १८ देखि ३० वर्ष उमेरसमूहमा ८० प्रतिशत छन् भने १५ देखि ६० वर्ष उमेर समूहमा झन्डै ६७ प्रतिशत छन्।

नेपालमा सामाजिक परम्परागत र नियमित सेवनका साथै चार्डपर्व, रीतिरिवाज तथा उत्सवहरूमा मद्यपान गर्ने फेसन निकै बढेको छ। दसैंतिहार, होली, विवाहभोज तथा नयाँ वर्षहरूमा व्यापक रूपमा मदिरा सेवन हुने गरेको देखिन्छ।

कतिपय मानिसहरू दुःख, पीर, तनाव तथा पारिवारिक झमेला भुलाउन रक्सी पिउने गर्छन्। ग्रामीण भेगका महिलाहरू छ्याङ, तोङ्बा तथा जाँडलाई दूधमहीसरह पिउने गर्छन्। अधिकांश युवतीहरू ब्वाइफ्रेन्डका करकापले मदिराको मोहनीमा फसेका हुन्छन्। कतिपय जातजातिलाई संस्कारले नै रक्सी पिउन छुट दिएको छ।

नेपालका अधिकांश मदिरा सेवनकर्ताहरू मदिराको सेवनले गर्ने असरबारे अनभिज्ञ छन्। तर स्वास्थ्य पत्रिका ल्यान्सेटमा प्रकाशित एक सोधका अनुसार स्वास्थ्यका लागि रक्सी हेरोइनभन्दा पनि हानिकारक हुन्छ।

मद्यपान मृत्युका प्रमुख आठ कारणमध्ये एक हो। सोधमा संलग्न सोधकर्ता प्रो. डेभिट नट भन्छन्ः रक्सी सबैभन्दा हानिकारक नसा हो, किनभने समाजमा यसको प्रयोग व्यापकरूपमा हुने गर्छ।'

किन बढ्दैछन् महिला दुर्व्यसनी
मानिस खासगरी वंशानुगत तथा मनोसामाजिक कारणले लागूपदार्थको दलदलमा फस्छन्। जस्तो कि परिवारका कोही सदस्य लागूपदार्थ सेवन गर्छन् भने उनका सन्तान तथा आफन्तमा त्यो लत सर्न सक्दछ। मस्तिष्क रसायनहरू डोपामिन, सेरोटोनिन तथा नोरापिनेफ्रेन आदिमा असन्तुलन आयो भने पनि मानिस दुर्व्यसनी हुने सम्भावना हुन्छ।

तर, लागूपदार्थ दुर्व्यसनीको प्रमुख कारण मनोसामाजिक हो। निम्नलिखित मनोसामाजिक कारणले लागूपदार्थ दुर्व्यसनीको सिकार बन्न सक्छन्। जस्तैः किशोर तथा युवावर्ग उत्सुकता, कौतुहलता, लहैलहै र फेसनेबुल बन्नका लागि लागूपदार्थको दलदलमा फसेका हुन्छन्।

नेपालमा महिला दुर्व्यसनी बर्सेनि बढ्दै जानुमा नेपाल समाज, यहाँका मानिसको मानसिकता, शिक्षा, जनचेतना तथा नियमकानुनको अभाव, खुला सिमाना तथा संगतको महत्वपूर्ण हात रहेका जानकारहरू बताउँछन्। अधिकांश युवतीहरू ब्वाईफ्रेन्डका कारण कुलतमा फसेका छन्। कसैलाई लागूपदार्थ सेवन गर्यो भने फिगर बन्छ, इनर्जी आउँछ, आनन्द आउँछ भन्ने भ्रम छ।

अन्त्यमा
लागूपदार्थको संसार भनेको नर्क हो। यो नर्कले सबैभन्दा बढी किशोरकिशोरीलाई मोहनी लगाउँछ। त्यसैले लागूपदार्थबाट टाढै रहनुपर्छ। जतिसुकै मोहनी लगाए पनि यसको मायाजालमा कुनै हालतमा पनि फस्नु हुँदैन।

कुनै कारण यसको जालमा फसेकाहरूले छिटो भन्दा छिटो उम्कने प्रयास गर्नुपर्छ। उचित उपचार र परिवारको सहयोग प्राप्त भएको खण्डमा लागूपदार्थको नर्कबाट मुक्त हुन गाह्रो भए पनि असम्भव छैन।


(लेखक मनोविद् हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.