छिमेकीसँगको सम्बन्ध उचाइमाः परराष्ट्रमन्त्री
काठमाडौं: उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले राष्ट्रिय स्वाभिमान र स्वार्थमा कुनै पनि आँच नपुर्याई सरकारले भारतसँगको सम्बन्ध सुदृढ र अघोषित नाकाबन्दी हटाउने काम गरेको दाबी गरेका छन् । व्यवस्थापिका संसद्मा आफूले समालेका मन्त्रालयको बजेटमाथि सभासद्का प्रश्नको जबाफ दिँदै मन्त्री थापाले दुवै छिमेकी भारत र चीनसँगको सम्बन्ध नयाँ उचाइमा पुर्याइएको दाबी गरे ।
‘नयाँ संविधान जारीपछि सीमा अवरोध र अघोषित नाकाबन्दी हटाउने क्रममा सरकारले राष्ट्रिय स्वाभिमान र स्वार्थमा कत्ति पनि आँच नपुर्याई सफलता हासिल गर्यो,’ थापाले भने, ‘यो घटनाले प्रत्येक नेपालीको शिर उँचो भएको छ । राष्टिय स्वभिमानमा नेपाले अडान लिन सके हुँदो रहेछ भन्ने कुरा पनि स्थापित भएको छ ।’ नयाँ संविधानपछि भारतसँगको चिसो सम्बन्ध सुधार भई नयाँ उचाइमा पुगेको र उत्तरी छिमेकीसँगको सम्बन्ध पनि नयाँ ढंगले अघि बढेको मन्त्री थापाले बताए ।
स्थानीय विकास मन्त्रालयको समेत जिम्मेवारी समालेका थापाले स्थानीय तह वा निकायमध्ये केको निर्वाचन गर्ने भन्नेमा राजनीतिक सहमति आवश्यक रहेको बताए ।
उपप्रधान एवं रक्षामन्त्री भीम रावलले राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा आइसकेको भन्दै सबै सुरक्षा निकाय त्यसअनुसार सञ्चालन हुने बताए । भारतलगायत अन्य देशका सेनासँग संयुक्त रूपमा तालिम गर्दा नेपालको गोप्यता भंग हुन्छ कि भन्ने आशंका नगर्न सभासद्हरूलाई आग्रह गर्दै रावलले त्यस्तो प्रचलन अन्यत्र पनि रहेको बताए ।
गृहमन्त्री शक्ति बस्नेतले केही दिनयता मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट ४७ जनाको मृत्यु भएको र १६ जना बेपत्ता भएको जनाएका छन् । बाढीपहिरोबारे संसद्लाई जानकारी गराउने क्रममा मन्त्री बस्नेतले एक सय ३८ घर पूर्ण क्षति हुनका साथै एक सय ६० मा आंशिक क्षति पुगेको जानकारी दिए ।