फुटबलबारे यस्तो छ कलाकारको अनुभव
युरोकप फुटबल प्रतियोगिता चलिरहेको छ। खेलाडीमात्रै होइन दर्शक पनि रातबिरात खेल हेर्न झुमिरहेका छन्। रंगीन दुनियाँका यात्री मानिने कलाकार यसबाट अछूतो रहने कुरै भएन। युरोकपका बारेमा केही कलाकर्मीको खेल धारणाबारे अन्नपूर्णकर्मी विनीता मरहट्टाले बुझ्ने प्रयास गरेकी छन्ः
खेलाडी झै महसुस हुन्छ
करिश्मा मानन्धर, अभिनेत्री
फुटबल हेर्न एकदम मन पर्छ तर यसपालिको युरोकपमा त्यति ध्यान दिन पाएको छैन। हेर्दामात्र नभई खेल्दा पनि रमाइलो लाग्छ। खेल भन्नेबित्तिकै एनर्जेटिक महसुस हुन्छ। केही समयअगाडि नेता भर्सेज कलाकारको फुटबल भएको थियो। त्यसमा पनि सहभागी भएकी थिएँ।
मैदानमा पुग्दा आफूलाई खेलाडी नै महसुस गर्छु। खेल्नै नसके पनि खेले जस्तो लाग्दो रहेछ। किपर हुनुभन्दा खेल्नै मन पर्छ। अहिलेसम्म गोल गर्न सकेको छैन।
गाउँमा फुटबल खेलेको सम्झन्छु
युवराज चौलागाईं, गायक
स्पोर्ट्समा असाध्यै रुचि राख्छु। फुटबल बढी मन पर्छ। गाउँको चउरमा फुटबल खेलेको याद आउँछ। स्कुल सकिनेबित्तिकै खेल्न गइहाल्थेँ। मैदानमा राम्रो प्रस्तुत गर्ने भएकाले सबैले याद गर्थे।
गोल पनि गर्थेँ। केही समयअघि नेता र कलाकारको फुटबलमा खेलेको थिएँ। भ्याएसम्म खेल्न मन लाग्छ। टेलिभिजनमा फुटबल हेर्दा पनि कसैले डिस्टर्ब गर्यो भने, आफूले सपोर्ट गरेको टिमलाई कसैले केही भन्यो भने एकदम रिस उठ्छ।
हेर्न रमाइलो
सुनिता दुलाल, गायिका
बच्चा हुँदा जानिनजानी फुटबल खेलेको याद आउँछ। यसको नियमकै बारेमा पनि धेरै थाहा थिएन। तैपनि निकै राम्रो खेल्छु जस्तो लाग्थ्यो। जानिनजानी कुद्थेँ। ध्यान सबै त्यसमै केन्द्रित हुन्थ्यो। गोल गर्छु भनेर कुद्थेँ। बच्चै भए पनि प्रतिस्पर्धाको भावना हुन्थ्यो। तर अहिले भने धेरै भयो खेलेको छैन। हेर्न चाहिँ रमाइलो लाग्छ।
छोरीले जिस्क्याइन
सरिता लामिछाने, अभिनेत्री
धेरै भयो फुटबलसँग नजिक हुन नपाएको। पछिल्लो पटकको खेलमा जर्सी लगाएर मैदानमा उत्रिँदा आफूलाई खेलाडीजस्तै महसुस गरेँ। तर खेल्न राम्रोसँग सकिँदो रहेनछ। मैले खेलेको देखेर छोरीले नै जिस्क्याइन्।
खुट्टाले बल नै छुन पाइनँ गोल त टाढाको कुरा। स्कुलमा हुँदा मोजाको बल बनाएर पनि खेलिन्थ्यो। अहिले नियमहरू पनि बिर्सँदै गइएछ। साथीहरूको समूहमा बसेर हल्ला गर्दै फुटबल हेर्न रमाइलो लाग्छ।
स्टार महसुस गर्थें
नाजिर हुसेन, अभिनेता
स्कुलमा हुँदा फुटबल खेल्थेँ। स्कुल नजिकै ठूलो चउर थियो। एक पटक दुई गाउँको प्रतिस्पर्धा हुने भयो। प्राक्टिस गर्दा मोजाको बल बनाएर खेल्थ्यौं। फाइनलको लागि दुई टिमले पैसा उठाएर बल किनेका थियौं।
हामी जुनियर टिमको त्यो पहिलो बल थियो। म किपर थिएँ। आफूलाई अरूभन्दा बढी जिम्मेवार ठान्थेँ। गोलपोस्टमा बल छिर्न नदिँदा दर्शकको हुटिङ आउँदा आफूलाई स्टार जस्तो महसुस गर्थेँ। दुर्भाग्यवश एक गोलले गेम हार्यौं। हार्नेले ५० रुपैयाँ दिनुपथ्र्यो। त्यो पनि गयो। त्यसपछि कहिल्यै खेलेको छैन। हेर्न चाहिँ रमाइलो लाग्छ।
०००