चितवनका वयस्क गैंडा चीनलाई

चितवनका वयस्क गैंडा चीनलाई

काठमाडौं: चितवनका गैंडा चिनियाँ निकुञ्ज पुग्ने भएका छन् । सरकारले उपहारस्वरूप दुई जोडी गैंडा दिने निर्णय गरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपहार दिने प्रक्रिया र गैंडाबारे छलफल थालेको छ ।

लामो समयदेखि चीनले नेपालसँग गैंडा उपहार मागिरहेको थियो । चीनले लाओस र थाइल्यान्डसँग सिमाना जोडिएको निकुञ्जमा नेपालबाट लगेका दुई भाले र दुई पोथी गैंडा राख्ने योजना नेपाली अधिकारीलाई सुनाएका छन् । अनुसन्धानकर्ताले यो क्षेत्रमा सयौं वर्षअघि नेपालमा पाइनेजस्तो एकसिङे गैंडा ठूलो संख्यामा रहेको पत्ता लगाएका छन् । त्यसैका अधारमा यो क्षेत्र गैंडाका लागि उपयुक्त भएकाले संख्या उल्लेख्य बढाउन सकिने उनीहरूको निष्कर्ष छ ।

चीनलाई पश्चिमाहरूले वन्यजन्तु संरक्षणमा अनुदार देशका रूपमा चर्चा गर्छन् । विज्ञहरूले भने चीनले गैंडा मागेर संख्या वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नु विश्वकै लागि सकारात्मक सन्देशका रूपमा लिएका छन् ।

मन्त्रिपरिषद् निर्णयपछि गैंडा हन्तान्तरण प्रक्रियाबारे दुई देशका विज्ञ सम्मिलित प्राविधिक समिति गठन हुनेछ । विभागका प्रवक्ता डा.महेश्वर ढकालले ब्रिडिङ (बच्चा जन्माउन सक्ने) क्षमता भएका चितवनका गैंडा दिन सकिने बताए । उनले भने, ‘कुन गैंडा कसरी दिने भन्ने प्राविधिक समितिले टुंगो लगाउँछ', नेपालले सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षमा चितवनबाटै गैंडा स्थानान्तरण गरिरहेको छ ।

केही महिनाअघि चीन भ्रमणमा गएको वन तथा भूसंरक्षण मन्त्रालयको उच्चस्तरीय टोलीसँग चिनियाँ मन्त्रीले औपचारिक रूपमा दुई जोडी गैंडा दिन पटकपटक आग्रह गरेका थिए ।

 

वनमन्त्री अग्नि सापकोटा तथा तत्कालीन सहसचिव डा. विश्वनाथ ओलीसँग चीनको स्टेट फरेस्ट्री एडमिनिस्ट्रेसन मन्त्री झाङ जिन लोङले गैंडाको बदलामा नेपाललाई अरू कुनै जनावर तथा आर्थिक सहयोग उपलब्ध गराउने आश्वासनसमेत दिएका थिए । तर नेपालले जनावर लिने वा अन्य सहयोग लिने भन्नेबारे कुनै निर्णय भएको छैन । नेपाली टोलीले त्यतिबेलै गैंडा उपहार दिन सक्नेबारे सकारात्मक वचन दिएको थियो ।

भ्रमण टोलीमा सहभागी एक अधिकारीका अनुसार गैंडा दिएबापत चीन सरकारले भक्तपुरस्थित उद्यान, फरेन्सिक ल्याब तथा वनसम्बन्धी अन्य क्षेत्रमा आर्थिक सहयोग गर्ने प्रस्ताव खुलेरै राखेको थियो ।

सरकारी अधिकारीसँगका विभिन्न छलफलमा चिनियाँ अधिकारीले दोहोर्‌याएर तेहेर्‌याएर गैंडाबारे कुरा गरेका थिए । ती अधिकारीका अनुसार बिहान, दिउँसो तथा साँझका कार्यक्रम तथा मन्त्रीले आयोजना गरेको भोजमा समेत दुई जोडी गैंडा दिन आग्रह गरिरहन्थे । सरकारी निर्णयपछि अब चीनले नेपाली दूतावासमार्फत औपचारिक आग्रह गर्नेछ ।

नेपाल र भारतमा मात्रै पाइने एकसिङे गैंडा कुनै पनि देशलाई उपहार दिन मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ । यसैगरी दुर्लभ वन्यजन्तु तथा वनस्पतिसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) को अनुसूची १ मा सूचीकृत भएकाले त्यसको जानकारी साइटिस सचिवालयलाई समेत दिनुपर्छ । साइटिसको अनुसूची १ मा परको वन्यजन्तु तथा जनावरको बेचबिखन तथा ओसारपसार गर्न पाइँदैन । तर दुई देशबीचको सहमतिमा अध्ययनअनुसन्धान र वैज्ञानिक प्रयोजनका लागि दिन लिन सकिने व्यवस्था छ ।

नेपालले यसअघि बंगलादेश, अस्ट्रिया, जर्मनी र जुओलोजिकल सोसाइटी अफ लन्डन, जापान तथा भारतलाई यसअघि गैंडा दिइसकेको छ । भारतलाई चारवटा गैंडा दिएर १६ वटा हात्ती नेपालले लिएको थियो । त्यस्तै अमेरिकाको सानफ्रान्सिस्को चिडियाखानालाई पनि नेपालले गैंडा दिएको थियो । सन् २००७ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गैंडा उपहारसहित छोरा पारसलाई अस्ट्रिया पठाएका थिए । बहुदलीय व्यवस्था अघि दरबारले गैंडा विश्वका विभिन्न मुलुकलाई सीधै उपहारका रूपमा पठाउँथ्यो । त्यसको जानकारी अहिले कतै भेटिँदैन ।

वन तथा भूसंरक्षण मन्त्रालयका तत्कालीन सहसचिव विश्वनाथ ओलीको नेतृत्वमा सन् २०१३ मा चीन गएको सरकारी टोलीसँग पनि चीनले गैंडा मागेको थियो । नेपाल र भारतमा मात्रै पाइने एकसिङे गैंडाको जम्मा संख्या बढीमा तीन हजार पाँच सय छ । चोरी सिकारका कारण नेपाल–भारत दुवैतिरका गैंडा संकटमा छन् । पछिल्लो गणनाअनुसार नेपालमा ६ सय ४५ गैंडा छन् ।

यीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६ सय पाँच, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ तथा शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ८ तथा पर्सा वन्यजन्तु आरक्षमा तीनवटा गैंडा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.