सान्चेज उत्कृष्ट युवा खेलाडी
पेरिस: पोर्चुगलका मिडफिल्डर रेनाटो सान्चेज युरोकप फुटबल प्रतियोगिता—२०१६ का उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । सोमबार बिहान भएको फाइनल खेलमा आयोजक फ्रान्सलाई अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै च्याम्पियन बनेको पोर्चुगलका महत्त्वपूर्ण खेलाडी सान्चेज प्रतियोगिताकै उत्कृष्ट युवा खेलाडी चुनिएका हुन् ।
सान्चेजले सो अवार्डका लागि आफ्नै राष्ट्रका राफेल गुइरेरो र फ्रान्सेली खेलाडी किङ्सले कोमानलाई पछि पारेको युरोपेली फुटबल महासंघ (यूईएफए) ले जनाएको छ । यूईएफएका प्रमुख प्राविधिक अधिकृत लोन लुपेस्कुको नेतृत्वमा प्रशिक्षक एलेक्स फर्गुसन र एलन गिरेस रहेको टोलीले उत्कृष्ट युवा खेलाडी अवार्डको विजेता चयन गरेको हो । उत्कृष्ट युवा खेलाडी अवार्डका लागि १ जनवरी १९९४ पछि जन्मिएका खेलाडीलाई मात्र समावेश गरिएको थियो ।
सान्चेजले युरोकपको पोल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलमा पोर्चुगिज टोलीबाट मैदानमा ओर्लने अवसर पाएका थिए । सान्चेजले आफ्नो डेब्यु खेलमै टोलीका लागि गोल गरेका थिए । डेब्यु खेलको प्रदर्शनसँगै सान्चेज त्यसपछिका खेलमा पनि प्रशिक्षक फर्नान्डेस सान्तोषको पहिलो रोजाइका खेलाडी बनेका थिए । उनले वेल्सविरुद्धको सेमिफाइनल र फ्रान्सविरुद्धको फाइनलमा पनि सुरुमै अवसर पाएका थिए ।
उत्कृष्ट युवा खेलाडीको अवार्डका लागि सूचीमा परेका तीन खेलाडीले अर्को सिजन जर्मन बुन्डेस लिगामा प्रतिस्पर्धा गर्नेछन् । विजेता सान्चेज र फ्रान्सेली विंगर कोम्यानले जर्मन क्लब बायर्न म्युनिख तथा डिफेन्डर गुइरेरोले बोरुसिया डोर्टमन्डबाट खेल्नेछन् ।