आश्रय खोज्दै भोटेकोसीपीडित

आश्रय खोज्दै भोटेकोसीपीडित

चौतारा: तातोपानी गाविस–३ लिपिङकी आशामाया मगर दुई नाबालक छोरी लिएर राजधानी पसेकी छन् । सम्पत्तिको नाममा भएको एउटा घर पनि भोटेकोसी नदीले बगाएपछि १० र साँढे दुई वर्षका छोरीसहित मगर दिदीको डेरामा आ श्रय लिन राजधानी गएकी हुन् ।

गत वर्षको भूकम्पले श्रीमान्लाई लगेपछि सामान्य पसल चलाएर गुजारा चलाएकी मगरको पसल समेतको घर भोटेकोसीको पहिलो भेलले नै बगायो । भोटेकोसीको चर्को आवाज र छिमेकीको चिच्याहटपछि दुई छोरी च्यापेर भागेकी मगरको १० मिनेटले ज्यान त बाँच्यो गरी खाने पसल र ओत लाग्ने घर बाँकी राखेन । ‘हतार हतार दुई छोरी च्यापेर भागें, अत्यासमा रात बित्यो', मगरले भनिन्, ‘बिहान उठ्दा घर भएको ठाउँमा खोला बगिरहेको रहेछ ।'

भएको सबै सम्पत्ति गुमाएकी मगर आठ दिनसम्म चौकी डाँडामा अत्यास लाग्दो बसाइ बसिन् । यी आठ दिनमा न उनले राहत पाइन्, न कुनै सहानुभूति । ‘सक्नेहरू त पैदल हिँडेरै गाउँ छाडे', मगर भन्छिन्, ‘आफू दुई बालिका छोरीलाई लिएर हिँड्ने आँट नै गर्न सकिन ।'

चौकी डाँडामा आश्रय लिइरहेकी मगर र उनका दुई छोरी आठौं दिन अक्सफामले व्यवस्था गरेको हेलिकोप्टरमा सदरमुकाम चौतारा झरेर बसमा राजधानीतर्फ लागे । भोटेकोसी उर्लेको आवाजले बाँचिन्छ भन्ने आश नै मारेकी मगर राजधानी पुगेर के गर्ने भन्ने अन्यौलमा छिन् । उनको सहारा कोही छैनन् । उनले दुई छोरी हुर्काउने र पढाउने अभिभारा पूरा गर्नुछ ।

‘केही दिन दिदीको डेरामा बस्छु त्यसपछि ज्याला मजदुरी गरेर छोरी हुर्काउनु पर्ला', सदरमुकाममा भेटिएकी मगरले भनिन्, ‘भोटेकोसीले सुकुमबासी बनायो अब ज्याला गर्नुको विकल्प छैन ।'

लिपिङकै ७४ वर्षीय तेम्बाजाङ्बु शेर्पालाई २१ गतेको त्यो रात सम्झँदा अझै कहाली लाग्छ । भूकम्प जस्तै जमिन हल्लिन थालेपछि घर बाहिर निस्केका उनलाई भोटेकोसीले घर ढाल्न थालेपछि मात्रै बाढी आएको थाहा भयो । २०३८ सालको बाढी झेलेका उनले त्यही नियति दोहोरिएको अनुमान गरे ।

 

बिरामी खुट्टा लत्याउँदै डाँडा तिर लागेका शेर्पा आठ दिनपछि चौतारा आइपुग्दा स्वर्ग पुगेको अनुभव भएको बताउँछन् । श्रीमती छिरिङयाङ्जी शेर्पासहित राजधानी हिँडेका शेर्पा नारायणटारमा रहेको छोरीको डेरामा जाने बताउँछन् । शेर्पाका तीन छोराछोरी अहिले पनि चौकी डाँडामा आफन्त कहाँ आश्रय लिइरहेका छन् ।

तातोपानी–१ कोदारीकी फुर्पु तामाङ ६५ वर्षीया सासुलाई लिएर काठमाडौं हिंडेकी छिन् । बाढी आउँदा घरमै सुतिरहेकी तामाङ छिमेकीहरू चिच्याएको आवाज सुनेपछि परिवारका सदस्यलाई उठाएर भागेकी थिइन् । घर पूरै नबगाए पनि कटान हुन थालिसकेको उनले बताइन् । ‘अब फेरी गाउँ फर्कन सक्ने अवस्था छैन', तामाङले भनिन्, ‘गाउँमा भएको सबै खोलाले बगाउन लागिसक्यो अब ज्याला गरेरै काठमाडौंमा गुजारा चलाउनुपर्ला ।'

प्राय सडक छेउमा एउटा घर बनाएर बसेकाहरू भोटेकोसी बाढीले सुकुमबासी बनाइदिएको तातोपानी गाविससचिव डम्बर श्रेष्ठले बताए । गाउँ छाडेर राजधानी जान लागेकाहरू प्राय आफन्त कहाँ आश्रय लिन जान लागेको उनले जानकारी दिए । चौकीडाँडामा रहेका वृद्ध, बालबालिका, बिरामीलगायतलाई समस्या भएको भन्दै गाउँ स्तरीय विपद् व्यवस्थापन समितिले आग्रह गरेपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको समन्वय तथा अक्सफामको सहयोगमा मंगलबार २२ जनाको उद्धार गरिएको छ ।

हेलिकोप्टरबाट सदरमुकाम ल्याइएकालाई बसमा काठमाडौं पठाइएको छ । यसअघि नेपाली सेनाको हेलिकोप्टरबाट ५८ जनाको उद्धार गरिएका थियो । सदरमुकामबाट हेलिकोप्टरमार्फत औषधि, खाद्यान्न, त्रिपाललगायतका सामान पनि तातोपानी पठाइएको अक्सफामले जनाएको छ ।

२१ गते राति भोटेकोसी नदीमा आएको बाढीले त्यतिबेलै नेपाल चीन सीमा क्षेत्रका २१ घर बगाएको थियो । त्यसपछि लगातार कटान नरोकिँदा मंगलबारसम्म ६५ भन्दा बढी घर बगिसकेका छन् । राजमार्गका विभिन्न ठाउँमा भएको सडक कटानले यातायात अवरुद्ध छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.