नेपाली कहिले ब्युँझन्छन् ?

नेपाली कहिले ब्युँझन्छन् ?

विश्व परिवेशमा होसे मुहिका एक चर्चित व्यक्ति हुन्, तर नेपालमा उनको धेरै चर्चा नगरिने हुँदा अधिकांश जनतामाझ उनी परिचित नहुन पनि सक्छन् । यद्यपि उनी यस्ता प्रेरणादायी पात्र हुन्, जसको अध्ययन नेपाली जनता, मिडिया र शासक वर्गले गर्नैपर्ने आवश्यकता छ । उनी १ मार्च २०१० देखि १ मार्च २०१५ सम्म उरुग्वेका चालीसौँ राष्ट्रपतिका रूपमा कार्यरत थिए ।

समलिंगी विवाह, गर्भपतन र गाँजा नियन्त्रण गर्ने उद्देश्यले कानुनसम्मत बनाएर अनि तुलनात्मक रूपमा उदार र बलियो अर्थतन्त्र दिएर आफ्नो सफल कार्यकाल पूरा गरेका थिए । आफ्नो तलबको ९० प्रतिशत दान दिने मुहिका अनि सत्तामा पुगेर जनताको करबाट लुट मच्चाउने नेपालका शासकबीच तुलना गर्नु मुहिकाको ठूलो अपमान हो तर उनीबाट हामीले सिक्नुपर्ने धेरै छन् ।

उनी क्युबेली क्रान्तिबाट प्रभावित भएर सशस्त्र विद्रोह गर्दा १४ वर्ष जेल जीवन बिताएका वामपन्थी नेता हुन् । पाँचवर्षे कार्यकालमा कतिपयले उनलाई संसारको सबैभन्दा नम्र र गरिब राष्ट्रपतिका रूपमा पनि हेरेका थिए । पदीय प्रतिष्ठा अनि सुरक्षाको लागि राष्ट्रपति भवनमा बस्न र सुविधासम्पन्न गाडी प्रयोग गर्न धेरैले गरेको आग्रह हुँदाहुँदै पनि सुरक्षा वा सेवाको लागि धेरै कर्मचारी राख्न उनले मानेनन् ।

राष्ट्रपति भएकै कारणले आफ्नो सरल जीवनशैली त्याग्न आवश्यक नरहेको भन्दै सुविधासम्पन्न राष्ट्रपति भवनमा नभई दुईजना सुरक्षाकर्मी र एउटा पुरानो गाडीको साथमा श्रीमतीको नाममा रहेको सानो घरमा श्रीमती र तीनखुट्टे कुकुरसँगै बस्थे । उनी गरिब र पीडित जनतालाई सहयोग गर्नु आफ्नो त्याग नभई कर्तव्य ठान्थे ।

आफ्नो कमाइ आवश्यकताभन्दा बढी भएकाले ९० प्रतिशत तलब समाज सेवामा समर्पित गर्थे । सरल जीवनशैली र उनका विचारले गर्दा उनी अहिले पनि चर्चित छन् ।

संसारको गरिब राष्ट्रपति भनिए पनि आफूलाई गरिब भएको आभास नभएको बताउने गर्थे । उनी बाँच्नको लागि अत्यधिक आवश्यकता र लालच भएका, महँगो जीवनशैलीका लागि सधैँ मरिमेट्ने र जतिले पनि नपुग्ने मानिस गरिब हुन् भन्ने गर्छन् । मुहिकाले राष्ट्रपति भवन घरविहीनहरूको लागि राज्यको एक आश्रय स्थलका रूपमा प्रयोग गरिने घोषणा गरेका थिए, तर नेपालमा आफ्नो घर, गाडी हुँदा पनि राज्यको ढुकुटीबाट आवास र गाडी सुविधा लिने शासकहरूको हालीमुहाली छ । सम्पन्न नेताहरू पनि लाज पचाएर उपचार वा अन्य वहानामा लुट मच्चाइरहेका हुन्छन् ।

 

सामान्य नागरिकको जस्तै जीवन शासकले बिताउनुपर्छ किनकि जनताले उनीहरूलाई राजा बनाएर सत्तामा पठाएका होइनन् भन्ने विचार उनी राख्छन्, तर नेपालमा झुपडीबाट राजनीतिमा आएकाहरू आज महलमा बस्छन् तर उनीहरूलाई सत्तामा पुर्‌याउने अधिकांश जनता गाँस, बास, कपासजस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित छन् ।

मुहिका आफूसँग सुत्ने ओछ्यान मात्र हुँदा पनि खुसी हुने विगत स्मरण गर्दै राष्ट्रपति भएपछि पनि पुरानै शैलीमा जीवन बिताउन सक्ने बताउने गर्थे तर खुला आकाशमुनि बसेका भूकम्पपीडितलाई दिइनुपर्ने त्रिपालमा समेत गिद्दे दृष्टि लगाउने र राहत वितरणमा समेत भ्रष्टाचार गर्ने लाजमर्दो घटना हाम्रा शासकहरूले देखाएका थिए, देखाउँदैछन् ।

आफू गरिबी, अभाव, पीडाको पक्षमा नरहेको तर विश्वका सबै सात खर्ब जनसंख्याले भड्किलो जीवनशैली अपनाउने हो भने संसारमा एउटा पृथ्वी पर्याप्त नहुने कुरा बताएर उनले वातावरणीय प्रभावप्रति सचेत रहन विश्व नेताहरूलाई आग्रह पनि गरेका छन् ।

राजनीतिज्ञहरू राजा वा भगवान् नभई जनताको सेवक हुन्, हुनुपर्छ । एउटा असल र इमानदार शासकले अधिकांश जनताको जस्तै जीवनशैली अपनाउने कोसिस गर्नुपर्छ, तर नेपालमा भने करोडौँको गाडी चढ्ने, सयौँ सुरक्षाकर्मीको ताँती लगाउने र इमानदार कार्यकर्ता नभई गुन्डा सहयोगीका रूपमा लिएर हिँड्ने कुरामा शासकहरू गौरवान्वित हुने गरेको पाइन्छ ।

बाराक ओबामा, भ्लादिमिर पुटिन जस्ता शक्तिशाली देशका शासकहरू पानीमा भिज्दै गरेका वा आफैँ छाता ओड्ने गरेका दृश्य देखिन्छन् तर हाम्रो गरिब देशका शासकमा छाता ओढाइदिनुपर्ने, ढाडमा राखेर खोला तारिदिनुपर्ने, सयौँ प्रहरी अघिपछि लगाएर शक्तिशाली देखिनुपर्ने जस्ता सामन्ती संस्कार अझै जीवित छ ।

पदमुक्र भएपछि के पूर्व विशिष्टहरू सडकमा जाने भन्ने प्रश्न कतिपयले गर्ने गरेका छन् । निश्चय पनि, सम्पूर्ण जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताको ग्यारेन्टी गर्न सक्ने संयन्त्रको विकास नगरेसम्म जनताको नाम लिएर नथाक्ने शासकले विशेष सुविधा लिनु हुँदैन ।

गैरकानुनी रूपमा राज्यबाट लिएको गाडी फिर्ता गर्नुभन्दा त्रिशूलीमा फलिदिन्छु भन्ने, सुरक्षाका नाममा नागरिकको सुरक्षामा खटिनुपर्ने प्रहरीलाई घरायसी काममा लगाएर दासजस्तो व्यवहार गर्ने, राज्यको स्रोतसाधन निजी हितको लागि प्रयोग गर्नेहरू शासक नभई अपराधी हुन् । आफू र आफ्नो परिवारको समेत हेरचाह गर्न नसक्ने अक्षमहरूकै कारण देश भ्रष्टचारी र माफियाको दलदलमा फसेको हो ।

आफ्नो कार्यकालपछि जीवन गुजाराको लागि काम गर्ने क्षमता नभएकाहरूले मात्र पूर्व विशिष्टका नाममा देशको ढुकुटी सक्ने गर्छन् । विभिन्न देशहरूमा प्रधानमन्त्री, मन्त्री भइसकेपछि अध्यापनलगायतका आफ्नो क्षमताअनुसारको पेसा गरेर समाजमा योगदान दिने गरेका छन् तर नेपालमा मर्नु अघिल्लो दिनसम्म कुर्सीकै लागि षड्यन्त्र रचिरहेका हुन्छन् भ्रष्टहरू ।

देशलाई कसरी सम्पन्न बनाउने योजना र कार्यान्वयन गर्न नसक्ने अक्षम र भ्रष्टहरूले राजनीति गर्न छोड्नुपर्छ । योग्यताविना आफू स्थापित भएको पेसा छोड्न तयार भएनन् भने सचेत जनताले चुनावबाट उनीहरूलाई पराजित गर्नैपर्छ ।

आवास र रोजगार वा व्यवसाय नभएका प्रत्येक नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्नु राज्यको कर्तव्य हो । नागरिकभित्र राजनीतिज्ञहरू पनि पर्छन्, तर नेपालजस्तो गरिब देशमा पूर्व विशिष्टका नाममा घर भएकालाई आवास, गाडी भएकालाई गाडीलगायतका सुविधा दिनु अनैतिक कार्य हो ।

राजनीति कुनै पेसा होइन र हुनु पनि हुँदैन । एकएकपल्ट पदमा पुगेपछि राजनीतिमा खर्चेको लगानी उठाउने र तीन पुस्तालाई पुग्ने पैसा जम्मा गर्ने प्रवृत्तिले भ्रष्टाचार संस्थागत भएको छ । विभिन्न विकसित देशमा मन्त्रीहरूले सार्वजनिक सवारी साधन वा साइकल प्रयोग गरेर कार्यालय जाने गर्छन् तर सियोसमेत नबन्ने नेपालका शासकलाई करोडौँको सुविधासम्पन्न गाडी नभई हुँदैन ।

४० लाख नागरिक बिदेसिएको र दैनिक औसत पाँचवटा लास बाकसमा आउने, महँगो रोग लागे ९५ प्रतिशत जनता उपचारविहीन हुने, रोजगार वा बेरोजगार भत्ताको ग्यारेन्टी नभएको, सबै नागरिकको आवास मात्र नभई शौचालयसमेत नभएको लगायतका भयावह स्थितिमा गरिब जनताले तिरेको करबाट पूर्व विशिष्टका नाममा आजीवन आवास, सचिवालय, उपचार खर्च, विलासी गाडी, चालक, इन्धन र मर्मत खर्चलगायतका सुविधा दिनु अपराध हो । देश एउटा परिवारको ठूलो स्वरूप हो ।

सन्तानलाई भोको र नांगै राखेर मोजमस्तीमा रमाउने अभिभावकलाई असल मान्न नसकिएजस्तै नागरिकलाई कष्टमा राखेर विशेष सुविधा लिने शासकलाई पनि असल मान्न सकिँदैन ।

मुहिका जनतासँग प्रत्यक्ष सरोकार राख्ने कुरामा राज्यको उपस्थितिको वकालत गर्छन् तर हाम्रा शासकहरू खुला बजार र उदारीकरणको नाममा माफियाको अगाडि बिकेका छन् । गरिब देश भएकाले जनताका आधारभूत आवश्यकताको ग्यारेन्टी गर्न नसकिएको निरिह जवाफ दिएर आफू भने तिनै गरिब जनताले तिरेको करबाट भड्किलो जीवन जिउने अधिकार शासकहरूसँग छैन ।

देशलाई कसरी सम्पन्न बनाउने योजना र कार्यान्वयन गर्न नसक्ने अक्षम र भ्रष्टहरूले राजनीति गर्न छोड्नुपर्छ । योग्यताविना आफू स्थापित भएको पेसा छोड्न तयार भएनन् भने सचेत जनताले चुनावबाट उनीहरूलाई पराजित गर्नैपर्छ । चालीसौँ लाख जनतालाई बिदेसिन बाध्य पार्ने, प्रकृति र संयोगले पाएका कुरामा गर्व गर्न लगाएर अल्मल्याउने र भोकमरी र द्वन्द्वग्रस्त देशहरू देखाएर नेपालमा अवस्था राम्रो रहेको भन्दै जनतालाई मुर्ख बनाउने नेताहरूलाई नेपाली जनताको बढ्दो चेतना स्तरले अब स्विकार्न सक्दैन ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.