ओलीविरुद्ध अविश्वास प्रस्ताव

ओलीविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं: माओवादी केन्द्रको सहयोगमा कांग्रेससहित मधेसी मोर्चाले प्रधानमन्त्री केपी ओलीविरुद्ध बुधबार संसद् सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्ताव सात दिनपछि निर्णयमा लगिने भएको छ । माओवादीले समर्थन फिर्ता लिए पनि राजीनामा दिन अस्वीकार गरेपछि ओलीविरुद्ध अविश्वास प्रस्ताव आएको हो ।

अविश्वासको प्रस्ताव परिपक्व हुन सात दिन समय चाहिने र त्यसपछि मात्र निर्णयमा लैजानुपर्ने संसद् नियमावलीमा व्यवस्था छ । माओवादी केन्द्रको सहयोगमा कांग्रेस, मधेसी मोर्चासहित केही साना दलको समर्थनमा बुधबार संसद् सचिवालयमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

माओवादी केन्द्र सत्ताबाट बाहिरिएपछि ‘अल्पमत' मा परेका प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिएको भन्दै अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको उनीहरूले बताएका छन् । प्रधानमन्त्री ओलीले भने पदबाट राजीनामा नदिई संसद्को सामना गर्ने अडान लिएका छन् ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालमार्फत प्रधानमन्त्री ओलीले आफूले पदबाट राजीनामा नदिने जानकारी सभामुखलाई गराएका थिए । ‘सरकार अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुहोला भन्ने हाम्रो अपेक्षा पूरा नभएपछि अविश्वास दर्ता गरेका हौं,' कांग्रेस नेता रमेश लेखकले भने ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र नेकपा संयुक्तका जयदेव जोशीले संयुक्त रूपमा आफ्ना सभासद्को हस्ताक्षरसहित अविश्वासको प्रस्ताव संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई बुझाएका थिए । त्यसपछि आन्दोलनरत मधेसी मोर्चा, दलित जनजाति पार्टीकी यशोदाकुमारी लामा, संघीय सद्भावनाका डिम्पलकुमारी झाले पनि अविश्वास प्रस्तावको समर्थन गरेका थिए ।

 

संविधानको धारा २ सय ९८ को उपधारा (१३ ) मा संसद्का एक चौथाइ सांसदले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाउने व्यवस्था गरेको छ । ‘व्यवस्थापिका–संसद्का सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले यस धाराबमोजिम नियुक्त प्रधानमन्त्रीउपर व्यवस्थापिका–संसदको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्नेछन,' धारा २९८ को उपधारा (१३) मा उल्लेख छ । संसद् नियमावलीले त्यस्तो अविश्वास प्रस्तावलाई निर्णयमा लैजान अघि परिपक्व हुन सात दिनको समय तोकेको छ ।

सभामुख ओनसरी घर्तीमगरले बुधबार १० बजेपछि मात्र अविश्वास प्रस्ताव दर्ता भएकाले बिहीबारदेखि सात दिनको गणना सुरु हुने बताइन् । तर आफूले प्रस्तावमाथि छलफल र निर्णयका लागि दिन तोक्न बाँकी रहेको उनले बताइन् । संसद् सचिवालयका अधिकारीका अनुसार साउन ६ गते सभामुखले उक्त प्रस्तावलाई निर्णयमा लैजाने सम्भावना छ ।

अविश्वास प्रस्तावमा कांग्रेस, एमाओवादी र मोर्चाका सबै सभासद्ले हस्ताक्षर गर्न भने बाँकी छ । ‘एक चौथाइ सभासद्को हस्ताक्षरमा अविश्वास प्रस्ताव दर्ता हुने भएकाले सबैको अहिले नै चाहिँदैन,' सचिवालयका एक अधिकारीले भने, ‘अविश्वास प्रस्ताव निर्णयमा लग्ने बेलामा भने बहुमतको समर्थन चाहिन्छ ।'

हाल अविश्वासको समर्थन जनाएका दलहरूको संख्या जोड्दा सजिलै बहुमत पुग्ने अवस्था छ । कांग्रेसको २०७, माओवादी केन्द्रको ८३, मधेसी मोर्चा सम्बद्ध गठबन्धनको ४२ र नेकपा संयुक्तको ३ मत जोड्दा अविश्वासको मतका पक्षमा ३३५ मत देखिन्छ । यो मत यथावत् रहे अविश्वास प्रस्ताव सजिलै पारित भई प्रधानमन्त्री ओली स्वतः पदमुक्त हुने स्थिति छ ।

यस्तो हुन्छ निर्णय प्रक्रिया

एक चौथाइ सभासद्ले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि सभामुखले त्यसको जानकारीसहित छलफल गर्ने दिनको सूचना प्रकाशित गर्नुपर्छ । तर उक्त प्रस्ताव परिपक्व हुन भने सात दिन समय चाहिन्छ । सात दिनपछि सभामुखले तोकेको दिनको बैठकमा अविश्वासको प्रस्ताव संसद्मा प्रस्ताव पेस गर्नुपर्छ ।

त्यसपछि छलफल हुन्छ र प्रधानमन्त्रीले जबाफ दिनुपर्छ । प्रस्तावकले आफ्नो प्रस्ताव फिर्ता नलिएमा सभामुखले त्यसलाई निर्णयमा लैजानुपर्छ । उक्त प्रस्ताव बहुमतले पारित भएमा प्रधानमन्त्री स्वतः पदबाट मुक्त हुने व्यवस्था संसद्को नियमावलीमा छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.