'७१ प्रतिशत पर्यटक बिदा मनाउन नेपाल आउँछन्'

  '७१ प्रतिशत पर्यटक बिदा मनाउन नेपाल आउँछन्'

काठमाडौं: नेपाल भ्रमण गर्ने विदेशी पर्यटक मध्ये ७१ प्रतिशत बिदा मनाउन आउने गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१५मा नेपाल आएका पाँच लाख ३८ हजार पर्यटक मध्य तीन लाख ८६ हजार जना बिदा मनाउन आएका हुन्।

मन्त्रालयले तयार पारेको 'नेपालको पर्यटकीय तथ्यांक २०१५' मा बिदा मनाउन आउने विदेशीको संख्या ७१ दशमलव ६३ प्रतिशत छ। यो तथ्यांक सन् २०१४ को तुलनामा दुई प्रतिशतले घटेको मन्त्रालयले जानकारी दिएको छ। सन् २०१४ मा तीन लाख ९५ हजार पर्यटक नेपालमा बिदा मनाउन आएको तथ्यांकमा उल्लेख छ।

पर्यटन मन्त्रालयले तयार पारेको यस्तो तथ्यांकअनुसार सबैभन्दा बढी पर्यटक नेपाल आउने कारण नै बिदा मनाउन हुने गरेको छ। कुल पर्यटक आगमनको ७१ प्रतिशत पर्यटक बिदा मनाउन नेपाल आउनु सकारात्मक विषय भएको मन्त्रालयको भनाइ छ। नेपाल आउने पर्यटक मध्य धार्मिक पर्यटक १४ हजार छन्।

पर्यटक आमगनको उद्देश्यमा सबैभन्दा बढी प्रभाव पदयात्रा तथा पर्वतीय पर्यटनमा परेको छ। सन् २०१४ मा नेपालको पदयात्रा तथा पर्वतीय पर्यटनमा वार्षिक ९७ हजार पर्यटक भए पनि सन् २०१५ मा ९१ प्रतिशतले घटेर जम्मा नौ हजार जना मात्रै रहेको तथ्यांकले देखाएको छ।

नेपालमा कार्यालयको कामका लागि आउने २१ हजार, व्यापारिक उद्देश्यले आउने २० हजार, सभा,सम्मेलनको उद्देश्यले आउने नौ हजार र उद्देश्य नखुलाई आउने पर्यटकको संख्या ७७ हजार छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार नेपाल भित्रिएका पाँच लाख ३८ हजार पर्यटक मध्य अघिकांशले पहिलोपटक भ्रमण गरेका छन्।

 

दोहोर्याएर नेपाल आउने पर्यटकको संख्या पनि करिब २५ प्रतिशत पुगेको अनुमान मन्त्रालयको छ।तथ्यांकअनुसार नेपाल आउने सबैभन्दा बढी पर्यटक भारतीय छन्। भारतबाट सन् २०१५ मा ७५ हजार पर्यटक आएका छन्। यी पर्यटक गत वर्ष सन् २०१४ को तुलनामा ६० हजार भारतीय पर्यटक घटेको देखिएको छ।

सन् २०१४ मा नेपालमा एक लाख ३५ हजार भारतीय पर्यटक आएका थिए। भारतीय तथा अन्य पर्यटक घट्नुका एक मात्र कारण अघिल्लो वर्ष वैशाखमा गएको भूकम्प भएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायको भनाइ छ।

नेपाल आउने भारतीय र चिनियाँ पर्यटक हरेक वर्ष बढदै गएको भए पनि सन् २०१५ मा भने भूकम्पकै कारणले घटेको देखिएको छ। सन् २००३ मा नेपालमा जम्मा सात हजार चिनियाँ पर्यटक आएका थिए।

सन् २०१४ सम्म आइपुग्दा संख्या बढेर वार्षिक एक लाख २३ हजार पुगेको छ। सन् २०१५ मा भने जम्मा ६६ हजार मात्रै चिनियाँ पर्यटक नेपाल भित्रिएका छन्। भारतीयको तुलनामा चिनियाँ पर्यटकको नेपाल आगमको दर निकै उत्साहजन रूपमा बढिरहेको देखिएको छ।

सन् २०१५ मा नेपाल आउने विदेशी पर्यटकमा देशअनुसार प्राथमिकता निर्धारण गर्दा पहिलो भारत, दोस्रो चीन, तेस्रो श्रीलंका, चौथो, अमेरिका र पाँचौ थाइल्यान्ड रहेका छन्। सरकारले सन् २०१६ का लागि अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने भएको छ।

सरकारले गर्ने अन्तर्राष्ट्रिय पर्यटकको प्रवद्र्धन प्राथमिकतामा पहिलो भारत र दोस्रो चीन छन्। त्यसपछि श्रीलंका, अमेरिका, थाइल्यान्ड, बेलायत, कोरिया, सिंगापुर, अस्ट्रेलियासहितका मुलुक रहेको मन्त्रालयका प्रवक्ता उपाध्यायले जानकारी दिए।

नेपाल आउने विदेशी पर्यटकमा सबैभन्दा बढी हवाई मार्गबाट आउने गरेको छन्। सन् २०१५ मा हवाई मार्गबाट चार लाख पाँच हजार पर्यटक आएका छन् भने बाँकी एक लाख ३२ हजार स्थल मार्गबाट आएको तथ्यांक छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.