बेलायतमा नेपाली क्रिकेटको चर्चा
काठमाडौँ: बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लबसँग भएको पहिलो मैत्रीपूर्ण खेल जितेको छ ।
बुधबार भएको खेलमा लन्डनको क्लब फ्रि फोरेस्टरलाई १२९ रनको फराकिलो रनको अन्तरले हराउँदै आफ्नो अभ्यास सत्रमा सुखद सुरुवात गरेको हो ।
इन्डियन जिमखाना मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेकको नेपालले निर्धारित ४० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३५ रनको विशाल लक्ष्य खडा गरेको थियो।
नेपालको सहज जितका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरले अर्धशतकीय पारी खेले।
ओपनर अनिल मल्ल चार रनमा आउट भएपछि नेपालको सुरुवात भने सुखद भएन। तर अर्का ओपनर ज्ञानेन्द्रले ७४ रनको पारी खेल भने तेस्रो क्रममा आएका शरदले ५० रन बनाए।
त्यस्तै, कप्तान पारस खड्काले ४०, सागर पुनले २१, राजेश पुलामीले ११, अविजित रहेका राजु रिजाल र सोमपाल कामीले आठ÷आठ तथा विनोद भण्डारीले सात रन बनाएपछि नेपालले घरेलु टोलीसामु गतिलो चुनौती पस्कन सक्यो ।
जवाफी ब्याटिङमा आएको फ्रि फोरेस्टरले २९.१ ओभरमै सबै विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो।
नेपाली बलरहरु विक्रम सोबले चार, सन्दीप लामिछानेले तीन, करण केसीले दुई तथा शक्ति गौचनले एक विकेट लिएपछि फ्रि फोरेस्टर अलआउट भयो ।
संसारकै पुरानो क्लब भनिएको इङ्ल्यान्डको मरिलेबोन क्लबको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीले आज जिमखाना क्रिकेट क्लबसँग अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।
खेलअघि नेपाली टोलीका कप्तान पारसले फ्रि फोरेस्टरका कप्तान ज्याक किङ्सलाई नेपाली वीरताको प्रतीक खुकुरी उपहार दिएका थिए। रासस