‘विदेशीको खेलमा सरकार परिवर्तन'

‘विदेशीको खेलमा सरकार परिवर्तन'

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनमा विदेशीले प्रत्यक्ष खेलेको आरोप लगाएका छन् । उनले सरकार परिवर्तनका लागि भएका बैठकहरू स्वचालित नभएको बताउँदै यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘यस्ता बैठक ब्याट्रीबाट चल्ने गर्नु दुःखको कुरा हो ।'

ओलीले सरकार परिवर्तनमा अरूले भोज खानुले परिवर्तनका खेल अस्वस्थ र बाह्य भएको स्पष्ट पारेको दाबी पनि गरे । ओली नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेपछि भारतका कूटनीतिज्ञहरूले भोज खुवाएका समाचार प्रचारमा आएकोप्रति उनले कटाक्ष गरेका थिए । उनले भने, ‘आन्तरिक प्रयास हुनु, स्वस्थ तरिकाले हुनु ठीक छ तर एउटा सरकारबाट बाहिर गए अरूअरू उफ्रिने र भोज खाने कुरा ठीक होइन ।'

रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्ले आयोजना गरेको राष्ट्रिय सुरक्षा गोष्ठी उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको राष्ट्रिय सुरक्षा चुनौतीका रूपमा आन्तरिक राजनीतिमा बाह्य खेल र त्यसमा स्वदेशी दल र नेताहरूको सहयोगको विषयलाई गम्भीरताका साथ लिनुपर्ने संकेत गरे । उनले भारतको नाम नलिए पनि प्रस्ट हुने गरी भने, ‘नाकामा सामान रोकेर सरकारले छिमेकीसँगको सम्बन्ध सुधार गर्न सकेन भन्दै जनता भड्काउने प्रयास भए पनि त्यो सफल हुन सकेन ।'

सामान रोकिँदा परेको दुःखका बेला पनि जनताले आफूलाई हौसला दिएर राष्ट्रिय स्वाभिमानका लागि दह्रो प्रेरणा दिएको उनले बताए । उनले भने, ‘अभावका कारण लाइनमा उभिएका जनताले त्यही बाटोबाट हिँड्दा मलाई प्रधानमन्त्री खुट्टा नकमाऊ, शिर नझुकाऊ भने, दुःखका बेला पनि जनताबाट राष्ट्रिय स्वाभिमान प्रकट भएको छ, जनताको सजगतालाई सलाम !'

 

ठूलाले सानालाई र बलियाले कमजोरलाई दस्तुर तिराउने जमाना नभएको बताउँदै ओलीले सानो राष्ट्र भए पनि नेपालले बराबरको हैसियतमा व्यवहार चाहेको बताए । उनले आफ्नो सरकारले संयुक्त राष्ट्रसंघको सदस्यको हैसियतमा बराबरी हैसियतमा काम गरेको र अब पनि नेपालको त्यही हैसियत हुने स्पष्ट पारे । त्यही सार्वभौम मुलुकको हैसियतले भारतसँग थप बन्दरगाह विशाखापट्नम खुला गरेको र अर्को छिमेकी मुलुक चीनसँग पनि समुद्रसँगको बाटो लिएको भन्दै उनले आफ्नो सरकार आएपछि छिमेकीसँग सम्बन्ध सुधार भएको उदाहरण दिए ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारले ल्याएको राष्ट्रिय सुरक्षा नीति अन्य कसैसँग पौंठेजोरी खेल्न नभई स्वाभिमानी देशका रूपमा सुरक्षित रहन नीति ल्याएको जिकिर पनि गरेका थिए । संविधान कार्यान्वयनको पहिलो सर्त देश र जनताको सुरक्षा भएको भन्दै ओलीले संविधानसभाले बनाएको संविधान पुनर्लेखन हुन नसक्ने तर यसलाई छलफलका आधारमा संशोधन गर्न सकिने बताए । विविधताले भरिएको देशमा आफ्नामात्र सबै माग पूरा गर भन्नु अनुचित भएको भन्दै उनले मधेसी दलहरूको नाम नलिई सोधे, ‘कुन माग पूरा गर्ने ? '

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रप्रतिको इमानदारीमा डबल स्ट्यान्डर्ड हुनु, अन्यत्र पनि लोयल्टी देखिनु खतरनाक भएको भन्दै कतिपय राजनीतिक घटनाक्रममा त्यस्तो देखिएको बताए । आन्तरिक एकता मजबुत बनाउनुपर्नेमा देशभित्र देशघाती कुरा फैलिरहँदा पनि तमासा हेरिरहेको बताउँदै उनले भने, ‘बहुराष्ट्रका कुरा आएका छन्, जनता पनि तमासे, सरकार पनि तमासे भएका छौं ।'

पूर्वप्रधानमन्त्री तथा नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईले सरकार परिवर्तनको अनन्त खेलले मुलुकलाई गम्भीर संकटमा पार्दै आएको बताए । उनले आर्थिक पक्ष, क्षेत्रीय सुरक्षा अवस्था र पर्यावरणीय सन्तुलनका आधारमा राष्ट्रिय सुरक्षालाई अघि बढाउनुपर्ने बताए ।

कार्यक्रममा राप्रपाका अध्यक्ष पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल र रक्षासचिव महेश दाहालले राष्ट्रिय सुरक्षा नीतिबारे धारणा राखेका थिए । कार्यक्रममा निम्त्याइएको भए पनि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.