‘डा. केसी एक व्यक्तिको पछि लाग्नुहुन्न'

‘डा. केसी एक व्यक्तिको पछि लाग्नुहुन्न'

काठमाडौं: अनशनरत प्राध्यापक डा. गोविन्द केसीलाई भेट्न पुगेका नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकनमानसिंह कार्कीलाई महाभियोग लगाउनुपर्नेबाहेक अधिकांश मागप्रति आफ्नो समर्थन रहेको बताएका छन् ।

अनशनको पाँचौं दिन बिहीबार केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका भट्टराईले कुनै एक व्यक्तिको पछि लाग्नुभन्दा पनि पहिलेदेखि उठाउँदै आएका प्रमुख माग र यसअघि भएका सम्झौता कार्यान्वयन गर्न डट्नुपर्ने बताए । चिकित्सा शिक्षाको मुख्य मागमा भने आफूहरूले पनि साथ दिनुपर्छ भन्ने आफ्नो बुझाइ रहेको भट्टराईले बताए ।

डा. केसीले भने आफ्नो प्राण गए पनि आफ्ना सम्पूर्ण मागबाट विचलित नहुने अडान लिएका थिए । डा. भट्टराईले राजनीति अस्तव्यस्त र सरकार अस्थिर भएको वर्तमान समयमा अनशनमा बसी जोखिम नमोल्न पनि घुमाउरो तरिकाबाट आग्रह गरे । डा. केसीलाई भेटिसकेपछि भट्टराईले भने, ‘कुनै एक व्यक्तिको पछि लाग्नुभन्दा पनि मुख्य माग जो उहाँले वर्र्षाैंदेखि राख्दै आउनुभएको छ ती पूरा हुनुपर्छ भन्नेमा हाम्रो जोड हो । अरू सहायक मागका लागि छानबिन समितिबाट पूरा गर्न सकिन्छ होला ।'

भट्टराईले सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्यशिक्षाको पहुँचमा पुर्‌याउन नसकिएको र पैसाको बलमा हुनेखानेहरू चिकित्सक बन्ने परम्परा तोडिनुपर्ने बताए । तर अहिलेको अवस्था सरकार गिराउने र बनाउने खेलमा प्रवेश गरेकाले केसी र उनका माग ओझेलमा पर्ने हुन् कि भन्नेमा पनि आफूहरू चिन्तित रहेको भट्टराईले बताए । उनले डा. केसीलाई मुलुकको विकसित घटनाक्रमले उनको स्वास्थ्यमा पर्ने असरबारे पनि सचेत गराए ।

 

डा. केसीले भने माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका थिए । ‘म बरु मरे मर्छु तर माग पूरा नभएसम्म अनशन तोड्नेवाला छैन', डा. केसीले भने । डा. केसीलाई समर्थन गर्दै काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ, अनेरास्ववियु, क्रान्तिकारी विद्यार्थी संगठनले विज्ञप्ति जारी गरेका छन् ।

डा. केसीको अनशन पाँचौं दिनमा प्रवेश गरिरहँदा चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्ज मेडिकल क्याम्पसको पठनपाठन र त्रिवि शिक्षण अस्पतालको सेवा प्रवाहमा असर पुग्न थालेको छ । आफ्नो कारणले पठनपाठन र स्वास्थ्य सेवामा कुनै बाधा नपार्नु भन्दै अनशन थालेका केसीका समर्थक विद्यार्थीले अध्ययन छोडी हातमा कालोपट्टी बाँधेर बिहीबार केहीबेर प्रदर्शन गरेका थिए ।

एमबीबीएसतर्फ अन्तिम परीक्षा नजिकिएका बेला सुरु हुन थालेको प्रदर्शनले त्यहाँ अध्ययनरत धेरै विद्यार्थीलाई सकस भएको छ । ५० प्रतिशतभन्दा बढी सेवा ‘रेजिडेन्ट' चिकित्सकको भरमा दिइरहेको त्रिवि शिक्षण अस्पताललाई सेवा प्रवाहमा कठिनाइ देखा पर्न थालेको छ ।

अस्पतालका निमित्त निर्देशक प्राध्यापक डा. प्रेमकृष्ण खड्काले अस्पतालमा अनशन वा आन्दोलन छ भन्ने सूचनाका कारण उपचारका लागि आउने तयारीमा रहेका बिरामी पछि हट्ने अवस्था आएको बताए । रेजिडेन्ट चिकित्सकले काम छोड्नेबित्तिकै बहिरंग विभागमा जाँचका लागि आउने बिरामीलाई ठूलो मर्का पर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.