कांग्रेस सांसदले पार्टीको ह्विप मानेनन्

कांग्रेस सांसदले पार्टीको ह्विप मानेनन्

काठमाडौं: पार्टीले वर्तमान केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर राजधानीबाहिर नजान ह्विप जारी गरेकै बेला कांग्रेसका डेढ दर्जन सांसद विदेश सयरमा निस्किएका छन् ।

कांग्रेस संसदीय दलले गत असार १३ गते नै ह्विप जारी गर्दै भूकम्पपीडितको घर निर्माण र बाढीपहिरो प्रभावित जनताको समस्यालगायत महत्त्वपूर्ण विषयमा छलफल चलिरहेको भन्दै असार १४ गते बस्ने संसद्को बैठकमा र समितिमा अनिवार्य उपस्थित हुन आग्रह गरेको थियो ।

तर त्यसको उल्लंघन गर्दै ती सांसदहरू कुनै महत्त्व नभएका कार्यक्रमका लागि विदेश भ्रमणमा गएका छन् । सांसदहरू पार्टीसँग परामर्श नगरी ह्विप उल्लंघन गर्दै विदेश गएपछि शुक्रबार मुख्य सचेतक चीनकाजी श्रेष्ठले साउन २ गतेभित्र विदेशमा भएका सबैलाई नेपाल फर्किन अर्को ह्विप जारी गरेका छन् ।

डेढ दर्जन सांसद अघिल्लो सातामात्रै विदेश गएका छन् भने पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेकै भोलिपल्ट तीन सांसद धनराज गुरुङ, सीता गुरुङ र राजु थापा हङकङ र मकाउ भ्रमणमा निस्किएका छन् । उनीहरू नेपाली जनसम्पर्क समिति मकाउका अध्यक्ष सुदर्शन थापाको निमन्त्रणामा त्यहाँ पुगेका हुन् ।

थापा मानव बेचबिखनको आरोपमा नेपाल सरकारले खोजी गरेर ‘मस्ट वान्टेड' सूचीमा राखेका व्यक्ति हुन् । उनीहरू एक साताका लागि भ्रमणमा निस्किएको बारे पार्टी नेतृत्व र मुख्य सचेतकसमेत बेखबर छन् । ‘अहिलेको यस्तो तरल अवस्थामा हामीलाई जानकारी नै नदिई सांसदहरू विदेश भ्रमणमा गएका छन् । हामीले आइतबारसम्म काठमाडौं आइपुग्न कडा निर्देशन गरेका छौं', मुख्य सचेतक श्रेष्ठले भने, ‘केही सांसदलाई विदश भ्रमण रद्द गर्नुहोस् भन्दा पनि बलजफ्ती गएका छन्, केही कता गए जानकारी छैन । यस विषयमा पार्टीमा छलफल गर्छौं ।'

केही सांसदलाई विदेश भ्रमण रद्द गर्नुहोस् भन्दा पनि बलजफ्ती गएका छन्, केही कता गए कुनै जानकारी छैन । यस विषयमा पार्टीमा छलफल गर्छौं ।

डेढ दर्जन विदेश गएपछि शुक्रबार फेरि कांग्रेस संसदीय दलले विज्ञप्ति जारी गर्दै आतइबारभित्र काठमाडौं आइपुग्न निर्देशन गरेको छ । ‘विदेशमा रहनुभएका माननीय सदस्यज्यूहरू आउँदो साउन २ गतेसम्म नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सम्पर्क राख्न निर्देशानुसार यो ह्विप जारी गरिएको छ', शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

अघिल्लो आइतबारमात्रै सांसद रामचन्द्र पोखरेलको नेतृत्वमा १० जना १० दिने भ्रमणमा चीन गएका छन् । पौडेलसँगै सांसदहरू सुरेन्द्र आचार्य, रेशम बानियाँ, तप्तबहादुर बिष्ट, रश्मी ठाकुर, बुद्धिसागर चौधरी, अनिता देवकोटा, दिवानसिंह बिष्ट, शारदा पौडेल र विष्णुमाया परियार चीन भ्रमणमा छन् । उनीहरू साउन ६ गते बेलुका नेपाल फर्कने कार्यक्रम छ ।

त्यस्तै सांसद गगन थापा अमेरिका भ्रमणमा छन् । उनी पार्टीले संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएपछि भ्रमण छोट्याएर आइतबारसम्म नेपाल आइपुग्ने भएका छन् । तर चीन गएका सांसदहरूले भने अझै भ्रमण छोट्याएका छैनन् । ‘चीन गएको टोलीले उड्ने बेलामा जानकारी गरायो, हङकङ र मकाउ जानेलाई नजानुस् भन्दाभन्दै बलजफ्ती गए', श्रेष्ठले भने, ‘पार्टीको नियम नमान्ने सांसदलाई कारबाही गर्ने गरी अब विदेश भ्रमणमा कडाइ गर्ने तयारी गरेका छौं ।'

मकाउको कार्यक्रममा जाने तयारी गरेका सांसदहरू प्रकाशशरण महत र दीपक खड्काले भने पार्टीले ह्विप जारी गरेको र मुलुकको परिस्थिति तरल भएको भन्दै भ्रमण रद्द गरेका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गरेपछि मकाउ र हङकङ भ्रमणमा गएका धनराज गुरुङसहितका तीन सांसद पनि एक सातापछि मात्रै नेपाल फर्कने गरी उडेका छन् ।

सांसदहरू विदेशमा हुँदा बुधबार कांग्रेस, एमालेसहित १३ वटा विभिन्न राजनीतिक दलले संयुक्त रूपमा संसद्मा पेस गरिएको प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा कांग्रेसबाट एक सय ८० जनाले मात्रै हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.