मारवाडी पौरख

मारवाडी पौरख

सन् १९२१ मा जुटको व्यापार गर्न विराटनगर भित्रिएका रामलाल गोल्छाले सुरु गरेको व्यापार अहिले व्यवसाय हुँदै उद्योगमा परिणत भएको छ । ‘गोल्छा अर्गनाइजेसन'का नाममा स्थापित यो परिवार हाल मुलुककै ठूलो औद्योगिक घराना हो । ‘विराटनगरमा मात्रै हाम्रा करिब एक दर्जन उद्योग छन् र मुलुकभर ३५/४० वटा छन्', गोल्छा अर्गनाइजेसनका निर्देशक सुरेन्द्र गोल्छा सुनाउँछन्, ‘ती उद्योगमा २० हजार जनाले रोजगारी पाइरहेका छन् ।'

विराटनगरको हाटबाटै कपडाको व्यापार थालेका चाँदमल दुगडको परिवार अहिले ‘दुगड समूह' बनिसकेको छ । खाद्यान्नको व्यापार थालेका चाँदमलका छोरा लुनकरणका चार छोरा तोलाराम, हुकुमचन्द, किसनलाल र मोतीलालले व्यवसायलाई विविध क्षेत्रमा फैलाए । अहिले दुगड समूहले कपडा, घिउ–तेल, चामल, दाललगायतका दर्जनौं उद्योग सञ्चालन गरिरहेको छ ।

गोल्छा र दुगड समूह त केवल प्रतिनिधिमात्र हुन् । विराटनगरको भूमिमा केही लाखको पुँजीबाट सुरु भई अहिले करोडौंको उद्योगधन्धा सञ्चालन गरिरहेका मारवाडी समूहहरू पौरखको अनुपम उदाहरण बनिआएका छन् ।

नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुषहरू मातृका, बीपी, गिरिजाका पिता कृष्णप्रसाद कोइरालाले विसं १९७१ मा आधुनिक विराटनगरको जग बसालेपछि यसले औद्योगिक सहरको रूप लिन थालेको हो । योभन्दा पहिला रंगेली मोरङको सदरमुकाम थियो । ‘मोरङको सदरमुकाम रंगेलीबाट विराटनगर सरेपछि आधुनिक विराटनगरको प्रारम्भ भएको हो' प्राज्ञ दधिराज सुवेदी भन्छन्, ‘आधुनिक विराटनगरको जगढुंगाको श्रेय कृष्णप्रसाद कोइरालालाई जान्छ । उहाँकै पहल र अगुवाइमा विराटनगर सदरमुकाम कायम गरिएको थियो ।'

नेपाललाई औद्योगिकीकरण गर्न र विराटनगरमा उद्योग कलकारखानाको विकास गर्न मारवाडी समुदायको भूमिका प्रधान छ ।

कृष्णप्रसाद कोइरालाले नै मारवाडी समुदायलाई विराटनगर डाकेका थिए । कृष्णप्रसाद लाहा अभ्रक, चा“दमडुवालगायत वनस्पति संकलन गरेर विदेश पठाउँथे । उनीसँगको मित्रता र चिनजानका कारण पनि व्यापारको अवसर र सम्भावना खोज्दै मारवाडी समुदाय विराटनगरमा प्रवेश गरेको थियो । उनले भारतका मारवाडीहरूलाई यहाँ ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको पुराना पुस्ताका मारवाडीहरू नै बताउँछन् ।

आफ्नो व्यावसायिक सीप, कौशल र अथक मेहनतका कारण आज विराटनगरको भूमिबाट उदाएका अनेकन मारवाडी समुदाय छन् ।

व्यापारकै सिलसिलामा विराटनगर प्रवेश गरेको बोहरा परिवार पनि अहिले सफल व्यावसायिक समूह ‘बोहरा ग्रुप' भइसकेको छ । ‘खाद्यान्न खरिदबिक्री, कुटानीपिसानीबाट हाम्रो परिवारले विराटनगरबाट व्यापार थालेको थियो', इतिहास खोतल्दै सो ग्रुपका एक सदस्य एवं मोरङ व्यापार संघका पूर्वअध्यक्ष अविनाश बोहरा भन्छन्, ‘मेरो हजुरबा रामकुमार बोहरा व्यापार गर्नुहुन्थ्यो ।'

व्यापारसँगै रामकुमारमा वैद्यसम्बन्धी ज्ञान भएकाले गाउँगाउँ पुग्दा बिरामी परेका त्यहाँका बासिन्दाको उपचार पनि गरिदिँदा रैछन् । त्यसैले उनी समाजसँग भिज्दै पनि गए, व्यापार पनि बढाए । अविनाशका अनुसार हाल चामल, तेल, आँटा, मैदा, दानालगायत एक दर्जन उद्योग छन् । अधिकांश उद्योग कृषिजन्य हुन् ।

करिब पाँच दशकअघि टाँक बनाउने सानो कारखाना खोलेर व्यवसाय सुरु गरेका रातवमान गोल्यानका छोरा शंकरलालले ‘शंकर समूह' बनाएर व्यवसाय विस्तार गरे । उनका छोरा सुलभ र साहिलले अहिले बाबुले थालेको व्यापारलाई फैलाउँदै सिमेन्ट, छड, धागो, सिन्थेटिक, विद्युतीय उत्पादन, गाडीलगायतका दर्जनौं उद्योग/व्यवसाय चलाइरहेका छन् ।

 

किराना पसलबाट व्यवसाय सुरु गरेका हजारीमलको परिवार अहिले ‘शारडा गु्रप'का नामले चिनिन्छ । शिवरत्न शारडाले त्यो गु्रपको नेतृत्व गरिरहेका छन् । उनका एक भाइ पवनकुमार शारडा व्यापारसँगै राजनीतिमा समेत संलग्न छन् । हाल सिमेन्ट, चाउचाउ, तेल, स्टिल, खाद्यान्न, लिकर्सलगायत एक दर्जनभन्दा बढी उद्योग शारडा गु्रुपले चलाइरहेको छ ।

भारतको राजस्थानबाट आएको ज्वालाप्रसाद मुरारका परिवार लाहानबाट विराटनगरमा व्यापार गर्न छिरेको थियो । कपडाको पसलबाट व्यापार सुरु गरेका मुरारका अहिले ‘मुरारका ग्रुप' भइसकेको छ । विराटनगरमा ‘एभरेस्ट आइरन उद्योग' स्थापना गर्दा साझेदारीमा लगानी गरेको सो ग्रुपको अहिले छड, सिमेन्ट, खाने तेल, जलविद्युत्, विद्युतीय सामग्री पेन्टस्, मोबाइललगायत दर्जनौं उद्योग÷व्यवसाय छन् । पशुपति मुरारका हाल उद्योग वाणिज्य महासंघको केन्द्रीय अध्यक्षसमेत छन् ।

९० को दशकमा विराटनगर प्रवेश गरेका बालकिसन मुन्दडाले सुरुका दिनमा निकै संघर्ष गरे । सामान्य पसलबाट व्यापार सुरु गरेको उनको परिवार अहिले ‘देबेनरा ग्रुप'ले चिनिन्छ । तेल, साबुन, अगरबत्ती, जुट मिल्स, गरगहनालगायत एक दर्जन उद्योग÷व्यवसायमा यो ग्रुपको लगानी छ ।

कपडाको कारोबारबाट व्यापार सुरु गरेका रामानन्द जाजूको परिवार अहिले ‘जाजू गु्रप' बनिसकेको छ । उनका दुई छोरा महेश र आनन्दले त्यो गु्रपबाट व्यापारको दायरा बढाउँदै लगेका छन् । जाजू गु्रपको बिस्कुट, चाउचाउ, साबुनलगायत आधा दर्जन उद्योग छन् ।

चामल, सुनचाँदीको कारोबारबाट व्यवसाय सुरु गरेको राठी परिवार पछिल्लो समय गु्रपमा परिणात भइसकेको छ । राठी गु्रपले विद्युत्का सामग्री उत्पादन गर्ने उद्योगहरू चलाइरहेको छ । खाद्यान्नको कारोबारबाट व्यापारमा प्रवेश गरेको काबरा परिवार पनि काबरा गु्रप बनिसक्यो । काबरा गु्रपले बिस्कुट, चाउचाउलगायत उद्योगमा लगानी गरेको छ ।

‘नेपाललाई औद्योगिकीकरण गर्न र विराटनगरमा उद्योग कलकारखानाको विकास गर्न मारवाडी समुदायको भूमिका प्रधान छ', सुवेदीले भने ।

मारवाडी समुदायको प्रवेश

भारत राजस्थानको मारवाड भन्ने ठाउँबाट आएकाले मारवाडी भनिएको व्यापारिक समुदाय विसं १९३०÷४० का बीचमा मोरङ पसिसकेको पाइन्छ । व्यापारकै सिलसिलामा अनेक ठाउँ घुम्ने यो समुदायका केही सदस्य विराटनगर पनि आइपुगेका हुन् । त्यति बेला हालको सुनसरी जिल्लासमेत मोरङभित्रै पथ्र्यो । उनीहरू औलो रोगको भयले दैनिकै आउनेजाने गर्थे ।

मोरङको सदरमुकाम रंगेलीमा हरखचन्द–विश्वनाथ, पदमचन्द–उदयचन्द, फत्तेचन्द–शिवदतराय (चैनवाल), चिमनीराम–भगतरामलगायत मारवाडी हिउँदमा आएर व्यापार गर्ने र वर्षामा राजस्थान फर्किन्थे । मोरङको सदरमुकाम विसं १९७१ मा रंगेलीबाट विराटनगर सारेपछि यहाँको व्यापारले गति लियो । त्यसअघि मोरङको प्रमुख व्यापारिक केन्द्र रंगेली, धुलाबारी र उपकेन्द्र हरैंचा, पकली, दुहवी, तोपगाछी, धरान थिए । विराटनगरदेखि भारतको जोगबनीसम्म त्यस बेला घना जंगल थियो ।

‘मारवाडी समुदायभित्र ब्राह्मण, अग्रवाल, महेश्वर र जैन पर्छन् । उनीहरूको मूल थलो भारतको राजस्थान हो । सुरुमा औसवाल परिवार विराटनगरमा आएको देखिन्छ', मारवाडी समुदायका बुद्धिजीवी सुरेशकुमार शर्मा भन्छन्, ‘त्यसपछि जैन समुदाय आएको पाइन्छ । उनीहरू जुटको कारोबार गर्थे । विराटनगर जुट खेतीमा राम्रो थियो । यहाँ जुटको व्यापारको सम्भावना देखेर उनीहरू आए ।' उनीहरू मोरङका किसानसँग जुट किनी भारतमा लगेर बेच्थे ।

जैन समुदायको आगमनपछि अग्रवाल परिवार आएका थिए । ‘विराटनगरमा व्यापारको राम्रो सम्भावना देखेपछि विस्तारै एकपछि अर्को मारवाडी समुदायको आगमन भएको पाइन्छ', उनले भने, ‘व्यापार गर्न आएकाहरूले व्यापार राम्रो हुँदै गएपछि आफ्ना परिवारका अन्य सदस्य, नातागोताका मान्छेहरू पनि ल्याए ।'

King-Birendra-and-Madan-Lal-Agrawal

बाढीपीडित सहायता कोषका लागि २०४४ सालमा पूर्वराजा श्री ५ वीरेन्द्रवीरविक्रम शाहदेवलाई सहयोग रकमको चेक हस्तान्तरण गर्दै मदनलाल अग्रवाल ।

मोरङ व्यापार संघले २०३८ सालमा प्रकाशन गरेको स्मारिकामा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले ‘मोरङको व्यावसायिक इतिहास' शीर्षकको लेख लेखेका छन् । सो लेखमा कोइरालाले उल्लेख गरेअनुसार मोरङको सदरमुकाम रंगेलीबाट विराटनगरमा सारेपछि तत्कालीन मोरङ बन्दोबस्त अड्डाका हाकिम सरदार कालीदास कोइराला र तत्कालीन बजार अड्डाका हाकिम सुब्बा गुञ्जमानकै अग्रसरतामा व्यापार गर्नकै लागि भारतको कुशमाहा हाटबाट पाँच व्यापारी परिवार ल्याई प्रत्येकलाई दुई/दुई बिघा जग्गा निःशुल्क प्रदान गरिएको थियो ।

त्यस बेला जग्गा पाउने व्यापारीमा सुगनमल चाँदमल (दुगड परिवार), सुरजमल चाँदमल (सेठिया परिवार), बीजराज बनेचन्द (नाहटा परिवार), प्रेमचन्द छतमल (लुनियाँ परिवार) र धनराज नेमचन्द (पारेख परिवार) थिए । नाहटा परिवार र पारेख परिवार हाल विराटनगरमा भेटिँदैनन् । मोरङमा व्यापारको सम्भावना राम्रो देखेपछि अन्य मारवाडी क्रमिक रूपमा आएका थिए ।

सफलताको रहस्य

सामान्य व्यापारबाट सुरु गरेर छोटो समयमै अधिकांश मारवाडीले सफलता प्राप्त गरेको पाइन्छ । खाद्यान्न, जुट खरिदबिक्री, कपडा व्यापार र सामान्य किराना पसलबाट व्यवसाय सुरु गरेका मारवाडी समुदायका अधिकांश मुलुककै ठूला व्यापारी बनिसकेका छन् । एउटै परिवारका दर्जनौं उद्योग÷व्यवसाय छन् । सुरेशका अनुसार आँट, हिम्मत, परि श्रम र इमानदारी नै यो सफलताको रहस्य हो ।

भन्छन्, ‘मारवाडी समुदाय आँटिलो छ, हिम्मत राख्छ, रिस्क लिन सक्छ, परिश्रमी र इमानदारी छ । त्यो नै मारवाडी समुदायको सफलताको कडी हो ।' उनका अनुसार व्यापारको राम्रो सम्भावना देखेर विराटनगरमा भित्रिएको मारवाडी समुदायले औलो, बिफर, जंगली जीवजन्तुको बिगबिगीबाट समेत नडराई संघर्ष गरेर व्यवसाय सुरु गरेको थियो ।

संघर्ष गर्ने बानी, कर्ममा इमानदारी, सञ्चय गर्ने बानी, सहजै अन्य समुदायसँग मिल्ने क्षमता, एकजुट हुने बानी नै मारवाडी समुदायको सफलताको कारण मान्छन् सुरेन्द्र गोल्छा । ‘राजस्थानबाट आउँदा नै उनीहरूले संघर्ष गरेर बस्नु पर्‌यो । संघर्ष गरेपछि उसमा शक्ति जागरण हुन्छ । संघर्ष मारवाडी समुदायको डीएनएमै छिरिसक्यो', उनले भने, ‘कमाएको पैसा सञ्चय गर्ने बानी हुन्छ । ता कि एउटा व्यापारबाट घाटा खाए बचत गरेको पैसाले बचाउँछ ।'

आफ्नो समुदाय व्यापारमा एकजुट हुने र एउटाले राम्रो गरेपछि अर्कोलाई पनि ‘सपोर्ट' गर्ने चलन रहेको पनि उनले बताए । उनी भन्छन्, ‘त्यसैले मारवाडी समुदायले व्यापार सुरु गरेको छोटो समयमै सफलता हात पारेको हो ।' कमाइको केही भाग समाजका लागि खर्च गर्नुपर्छ भन्ने भावले गर्दा मारवाडीलाई स्थानीय समुदायसँग प्रगाढ बनाएको सुरेन्द्रको दाबी छ । उनको दाबीलाई पुष्टि गर्ने उदाहरण नेपालमा १९९० सालमा गएको भूकम्पपछिको बेला हो ।

काठमाडौंमा स्थानीयवासीले भन्दा राम्रो व्यापार व्यवसाय गरेपछि राणाहरूलाई उनीहरूविरुद्ध उकासिएको थियो । तर, भूकम्पपीडितलाई मारवाडीले त्यति बेला गरेको सहयोग देखेर तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले यो समुदायको तारिफ गरेको कुरा आफ्ना हजुरबुवालाई उद्धृत गर्दै विनोद चौधरीले आत्मकथामा लेखेका छन् ।

Biratnagar-Jut-Meel

नेपालकै पहिलो उद्योग विराटनगर जुट मिल्सको प्रवेशद्वार । यो उद्योग हाल पूर्ण रूपमा बन्द छ ।

अग्रजलाई निकै आदरसम्मान र उनीहरूका निर्देशनलाई तत्काल पालना गर्ने संस्कृति मारवाडी समुदायमा छ । व्यापारमा उनीहरू कहिल्यै साहुपारा देखाउँदैनन् । हरेक दिन अन्य कर्मचारीसरह काम गर्छन् । मारवाडी समुदायलाई लिएर नेपाली समाजमै एउटा आहान पनि छ, ‘उनीहरूको मुखमा सधैं रसबरी हुन्छ र टाउकोमा बरफ ।' अर्थात्, उनीहरू ग्राहकसँग गुलियो भाषामा बोल्छन् र कहिल्यै रिसाउँदैनन् । आखिर मीठो बोलीले प्रेम बढाउँछ । रिस भनेको मूर्खहरूको टाउकोमा मात्रै हुने चिज हो ।

‘मारवाडी विशुद्ध व्यापार गर्ने समुदाय हो । व्यापारको कौशलता बढी जानेको छ । फलस्वरूप त्यसैबाट संसारभर चिनिएको छ', अविनाश भन्छन्, ‘हरेक काम व्यापारिक दृष्टिबाट गर्छौ । मार्केट, वस्तु उत्पादन र गुणस्तरतालाई सधैं ध्यान दिन्छौं । समयसापेक्ष बजारको मागअनुसारका सामान उत्पादन गर्छौ । यसले गर्दा हामी सधैं सफल भएका छौं ।' नेपालका उद्योग कलकारखानामा ६० प्रतिशत हिस्सा मारवाडी समुदाय रहेको उनले दाबी गरे ।

कामप्रतिको लगनशीलताले नै मारवाडी समुदायलाई व्यापारमा सफल बनाएको देबेनरा गु्रपका निर्देशक एवं मोरङ व्यापार संघका महासचिव प्रकाश मुन्दडा बताउँछन् । ‘व्यापार अपार हुन्छ । समयअनुसार परिर्वतनलाई आत्मसात् गदै राम्रो नियत राखेर कामप्रति लगनशील र इमानदार भई खट्छन्', उनले भने । मारवाडी समुदायभित्र उनी पछिल्लो पुस्ताका सफल व्यावसायीभित्र पर्छन् ।

काबरा गु्रपका निर्देशक विपीन काबरा सामान्य पसल, गद्दी, अफिस हुँदै कर्पोरेट कल्चरमा व्यवसाय अगाडि बढाइरहेको बताउँछन् । ‘अग्रजहरूबाट सिकेका कुराहरूलाई आत्मसात् गर्दै समयसापेक्ष परिवर्तनअनुसार आधुनिक प्रविधिलाई प्रयोग गरेर व्यवसाय गर्दै आइरहेका छौं । यसबाट सफलता पाइरहेका छौं', उनी भन्छन्, ‘अग्रजहरूको मार्गदर्शनलाई आत्मसात् गर्दै आफ्नो निर्णय लिएर व्यवसायमा अगाडि बढिरहेका छौं ।' उद्योग र व्यवसाय बन्दी तथा मन्दी हुँदा पनि यो समुदायले हरेश खाएन बरु संघर्ष गर्दै अघि बढेकै छ ।

राजनीति र मारवाडी

मारवाडी समुदायको प्रवेशसँगै विराटनगरमा उद्योगको विस्तारले तीव्रता पायो भने कोइराला परिवारको नेतृत्व र अगुवाइमा भएको प्रजातान्त्रिक आन्दोलनले मारवाडी समुदयाबाट प्रशस्त सहयोग पायो । मारवाडी समुदायका केहीले आर्थिक सहयोग गरे त केही राजनीतिक गतिविधिमा सक्रिय भएर ।

मारवाडी समुदाय र संस्कृतिबारे आधा दर्जन पुस्तक प्रकाशन गरेका पत्रकार तथा साहित्यकार शंकर खरेलले बताए, ‘मारवाडी समुदायको नौलखा, नाहटा, गोल्छा, अग्रवाल, बोहरा, दुगड, धनावतलगायत परिवार त्यस बेलाको राजनीतिक परिवर्तनमा सक्रिय थिए ।' उनका अनुसार भीमराज नौलखा कांग्रेसले थालेको २००७ सालको क्रान्तिमा बम, बन्दुक बोकेर हिँडे ।

कांग्रेससँग आबद्ध हुँदै पूरै जीवन राणाशासनको अन्त्य, प्रजातन्त्रिक, लोकतन्त्र ल्याउनै खर्चिए । खरेल भन्छन्, ‘सात सालदेखि अहिलेसम्मका सबै राजनीतिक परिवर्तनमा मारवाडी समुदायले अतुलनीय भूमिका खेलिरहेका छन्' । त्यस्तै बोहरा परिवारका हदराज बोहराले पूरै जीवन राजनीतिमा समर्पित गरेका थिए । कांग्रेससँग आबद्ध भएर उनले राजनीति गरे । त्यो परिवारका नैनालाल र मोहनलाल बोहराले पनि प्रारम्भमा राजनीतिक संलग्ना देखाएको पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले लेखेको ‘मोरङको व्यावसायिक इतिहास' लेखमा उल्लेख छ ।

२००८ सालमा भएको नगर निर्वाचनमा मारवाडी समुदायका प्रतिनिधिसमेत उम्मेदवार बनेका थिए । त्यस निर्वाचनमा वडा प्रतिनिधिका रूपमा आशुलाल बोहरा, तोलाराम दुगड, कालुराम अग्रवाल निर्वाचित भएका थिए ।

‘हरेक राजनीतिक परिवर्तनमा मारवाडी समुदायले सघाइरहेको छ', सुरेशकुमार भन्छन्, ‘केहीले भित्रभित्रै सघाए, केहीले खुलेरै ।'

२०६२/६३ सालको जनआन्दोलनपछि मारवाडी समुदायको राजनीतिक संलग्न बढ्दै गएको देखिन्छ । मोती दुगडले नव नेपाल निर्माण पार्टी खोलेर दोस्रो संविधानसभा निर्वाचनमा भाग लिएका थिए । उनको पार्टीको चुनाव चिह्न खरायो थियो । अहिले उनको पार्टी एमालेमा विलय भएको छ ।

फूलकुमार लालवानी कांग्रेस, दिलीप बगडिया माओवादी र दिलीप धाडेवा मधेसवादी दलबाट राजनीतिमा सक्रिय छन् । लालवानी र धाडेवा व्यापारमा संलग्न छैनन् । उनीहरूको परिवारका अन्य सदस्य व्यापारमा संलग्न छन् । बगडिया व्यापार र राजनीति दुवैमा सक्रिय छन् । पहिलो संविधानसभामा दिवाकर गोल्छा कांग्रेसबाट, मोती दुगड सद्भावनाबाट समानुपातिक निर्वाचनबाट सभासद् भएका थिए ।

अहिले राज्यलक्ष्मी गोल्छा एमालेबाट र पवनकुमार शारडा लोकतान्त्रिक फोरमबाट समानुपातिकबाट सांसद छन् । त्यसैगरी दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिकबाट कांग्रेसले महेश जाजू, एमाओवादीबाट राजकुमार गोल्छा, फोरमबाट प्रदीप मुरारका, लोकतान्त्रिक फोरमबाट दीनबन्धु गोयल, सद्भावनाबाट वासु गोल्यान उम्मेदवार बनेका थिए ।

विशेषज्ञका रूपमा राजनीतिमा संलग्न भएको जिकिर गर्दै सांसद पवनकुमार शारडाले भने, ‘सांसद भएपछि मुलुकभित्र कसरी उद्योग व्यवसायको वृद्धि, विकास र प्रवद्र्धद्ध गर्ने भनेर योजना बनाउँदै काम गरिरहेका छौं ।'

औद्योगिक क्रान्तिका कर्मवीर योद्धा रामलाल

Ramlal-Golchha

स्व. रामलाल गोल्छा

नेपालमा उद्योगको श्रीगणेश गर्ने औद्योगिक क्रान्तिका एक कर्मवीर योद्धा हुन्, रामलाल गोल्छा । भारतको राजस्थान पुख्र्यौली थलो भए पनि उनी पूर्वी बंगालमा सन् १८९८ मा जन्मिएका थिए । २३ वर्षको उमेरमा १९७८ सालमा नेपाल भित्रिए र यही देशलाई कर्मभूमि बनाए । सुरुमा उनी त्यस बेलाको मोरङ जिल्लाभित्रको देवानगन्ज आएका थिए ।

त्यसअघि उनी मोरङ र सुनसरीका गाउँ घुमेर किसानसँग जुट किन्थे । यहाँका किसान फारबिसगन्जमै गएर पनि उनलाई जुट बिक्री गर्थे । जुट व्यापारका बारेमा उनी राम्रो जानकार थिए । त्यस बेला मोरङमा प्रशस्त मात्रामा जुट खेती हुन्थ्यो । नेपाल आउनेजाने क्रममा बीपीका बाबु कृष्णप्रसाद कोइराला, डिट्ठा दुर्गानिधि लोहनीलगायत मोरङका प्रबुद्ध व्यक्तित्वसँग उनको घनिष्ठ सम्बन्ध स्थापित भइसकेको थियो । कृष्णप्रसाद कोइरालाले व्यापारका क्रममा उनलाई निकै सघाएको पाको पुस्ता सुनाउँछ ।

यसरी खोलियो जुट मिल

रामलाल गोल्छाको जीवनगाथा लेखिएको ‘कर्मवीरको कथा' पुस्तकमा उल्लेख भएअनुसार उनले त्यस बेलाको पाँच हजार रुपैयाँबाट विराटनगरमा व्यापार थालनी गरेका थिए । उनी यहाँका किसानसँग जुट किनेर भारतमा रहेको कटिहार जुट मिलमा पठाउँथे ।

पछि कटिहार जुट मिलका म्यानेजर हरद्वारी मल झुनझुनवालासँग विराटनगरमा जुट उद्योग खोल्ने प्रस्ताव गरे । हरद्वारी मलले उनलाई कटिहार जुट मिल्सका मालिक राधाकिसन चमडियालाई भेट गराई कुराकानी गराए । चमडियाले जुट मिल खोल्न चासो देखाए ।

गोल्छाले त्यो कुरा मोरङका बडाहाकिम कर्णेल शिवप्रताप थापा, कृष्णप्रसाद कोइराला, डिठ्ठा दुर्गानिधि लोहनीलाई समेत जानकारी गराए । थापाले नेपालमा अहिलेसम्म उद्योग स्थापनासम्बन्धी कुनै कानुन बनेको छैन भन्दै त्यसका लागि श्री ३ मा बिन्ती चढाउनुपर्ने सुझाए ।

हरैंचा क्याम्प सिकारबाट बाघ मारेर खुसी हुँदै आएका श्री ३ जुद्धशमशेरमाझ कृष्णप्रसाद कोइरालाले जुट मिल स्थापना गर्ने बिन्तीपत्र चढाए । जुट मिल खोल्नेबारे गोल्छाले भारतीय लगानीकर्ताहरूलाई नेपालमा ल्याई उनीहरूसँग पनि भेटाएका थिए । श्री ३ ले कम्पनी कानुन तयार गर्न आदेश दिए ।

उनकै आदेशपछि विसं १९९४ मा नेपाल कम्पनी कानुन जारी भयो । नेपाल उद्योग परिषद् पनि बन्यो । मिल स्थापनाका लागि कृष्णप्रसाद कोइरालाले ६ बिघा १० कट्ठा जग्गा दिए । गोल्छाले जुट संकलनको जिम्मा लिए । मिल स्थापनाका लागि नेपालीको ५१ प्रतिशत सेयर र भारतीयको ४९ प्रतिशत सेयर रहने सहमति भएपछि विसं १९९४ मा विराटनगर जुट मिल्स लिमिटेड उद्योगको शिलान्यास भयो । यो नै नेपालको औद्योगिकीकरण क्रान्तिको पहिलो पाइला बन्यो । विराटनगर जुट मिल्स खोल्न अथक मेहनत र अगुवाइ गर्दै गोल्छा जुटकिङ भनेर चिनिए ।

‘रामलाल गोल्छाले नेपालमा औद्योगिकीकरणको सुरुआत गरेका थिए', मारवाडी अगुवा सुरेशकुमार शर्मा भन्छन्, ‘उनकै पहल र अग्रसरतामा विराटनगर जुट मिल्स स्थापना भयो ।' जुट मिल्स नेपालको पहिलो उद्योग हो । त्यसपछि क्रमिक रूपमा विराटनगरमा उद्योग स्थापना हुने क्रम बढ्दै गएको थियो ।

‘हजुरबाले आफ्नो सब थोक विराटनगरलाई मान्नुभएको थियो', नाति सुरेन्द्र गोल्छा भन्छन्, ‘कर्मभूमिप्रति उहाँको अगाध प्रेम थियो । मृत्युपछि पनि आफ्नो शवलाई विराटनगरमै लगेर जलाउन उहाँले भन्नुभएको थियो । हामीले त्यसै गर्‌यौं ।' उनका अनुसार रामलाल (हजुरबा)ले नेपालको पहिलो जुट प्रेस सञ्चालन गरी नेपालको कच्चा जुट पहिलोपटक समुद्रपारका मुलुकमा निकासी गरे ।

नेपाल बैंकमा पहिलोपल्ट निर्यातका लागि प्रतीतपत्र खोलेका थिए । जर्मनीमा निर्मित प्लान्टद्वारा नेपालमा पहिलो स्वचालित चामल कारखाना स्थापना गरे । नेपालमा पहिलोपटक स्टेनसेल स्टिल भाँडा–बर्तन कारखाना भित्र्याए । नेपालको प्रथम सिट ग्याल्भनाइजिङ तथा कर्कट पाता बनाउने उद्योग स्थापना गरे । जुटबाट उद्योग स्थापनामा प्रवेश गरेको गोल्छा अर्गनाइजेसनसँग हाल मुलुकभर ३५÷४० वटा विभिन्न उद्योग छन् । खोलिएका एक दर्जन ठूला उद्योग बन्द हुँदासमेत हरेश नखाई गोल्छा परिवार संघर्ष गरेर अगाडि बढिरह्यो ।

रामलाल गोल्छाले नेपालको औद्योगिकीकरणमा पुर्‌याएको योगदानको कदर गर्दै तत्कालीन सरकारले उनलाई सुप्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु (प्रथम), प्रबल गोरखा दक्षिण बाहु (चौथो) को मानपदवीबाट सम्मानित गरिसकेको छ । सन् १९८३ मा रामलाल गोल्छाको निधन भएको थियो ।

सामाजिक कार्यमा मारवाडी

मारवाडी समुदाय व्यापारमात्र गर्दैन । व्यापार गरेपछि कमाएको केही अंश उनीहरू सामाजिक काममार्फत समाजसेवामा खर्चिने गर्छन् । मठमन्दिर, धर्मशाला, अस्पताल स्थापनादेखि विकासनिर्माणका कामसम्ममा मारवाडी समुदायले लगानी गरिरहेको छ ।

विराटनगरको कोसी अञ्चल अस्पतालको भवन निर्माण, अतिथि सदन, बालमन्दिर, वीरेन्द्र सभागृह निर्माण, आदर्श पुस्तकालय, महेन्द्र मोरङ क्याम्पस, सत्यनारायण स्कुलको भवन, सत्यनारायण मन्दिर, राधाकृष्ण मन्दिर निर्माणलगायत थु्रपै सामाजिक काममा मारवाडी समुदायले लगानी गरेको छ । कसैले गु्रपका नाममा त कसैले मातापिताको नाममा ट्रस्ट बनाएर सामाजिक काम गरिरहेका छन् ।

‘हरेक वर्ष पिता र माताको स्मृतिमा सामाजिक काम गर्दै आइरहेका छौं', मोती दुगडले भने । उनले हरिसिंह–उषादेवी दुगड च्यारिटेबल ट्रस्टमार्फत सामाजिक काम गर्दै आइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.