खुसियालीमा रोनाल्डोलाई नयाँ कार
एजेन्सीः पोर्चुगलका चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डो यति बेला खेल जीवनकै सबैभन्दा खुसीको समय बिताइरहेका छन्।
युरोकपको उपाधि जितेपछि रोनाल्डोमा खुसीको सीमा छैन। तीनपटकका फिफा वर्ष खेलाडी रोनाल्डोले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेकाले उनको खेलजीवन नयाँ उचाइमा पुगेको हो।
यही खुसियालीको माहोलमा रोनाल्डोले नयाँ कार किनेका छन्। रोनाल्डो १७ लाख पाउन्ड पर्ने कालो बुगाटी भेरोन १६.४ ग्रान्ड स्पोर्ट किनेका हुन्।
प्रतिघन्टा दुई सय ५५ माइल गुड्नसक्ने यो कार भित्र्याएपछि रोनाल्डोको चर्चा थप चुलिएको छ। रोनाल्डोले किनेको यो कार बुगाटीको सबैभन्दा उच्च ‘रेन्ज’को उत्पादन हो।
४५० बुगाटी भेरोन १६.४ ग्रान्ड स्पोर्ट यसअघि उच्च रेन्जको थियो। निकै महँगो मानिने बुगाटी कार यसअघि चर्चित पूर्वबक्सर फ्ल्योड मेवेदर र ब्राजिलका पूर्वखेलाडी रोबर्टो कार्लोसले पनि किनेका थिए।
रोनाल्डोले आफ्नो नयाँ कारलाई ‘जनावर’ भनेका छन्। स्पेनिस क्लब रियल म्याड्रिडका स्ट्राइकर रोनाल्डोले यो सिजन युरोपियन च्याम्पियन्स लिग जित्नुका साथै केही कीर्तमान पनि बनाएकाले फिफा वर्ष खेलाडी अवार्डमा उनको सम्भावना बलियो देखिएको छ।
रोनाल्डोले क्लबबाट वार्षिक रूपमा २१ मिलियन पाउन्ड लिने गर्छन्। उनी विश्वका महँगा खेलाडीको सूचीमा पर्छन्। आफ्नो १३ वर्ष लामो सिनियर अन्तर्राष्ट्रिय खेल जीवनमा राष्ट्रिय टोलीका लागि पहिलो उपाधि जितेपछि रोनाल्डो निकै भावुक बनेका थिए।
३१ वर्षीय रोनाल्डो हाल परिवारसहित बिदा मनाउन पर्यटकीय टापु इबिजामा पुगेका छन्। युरोकपको फाइनलमा घाइते भएका रोनाल्डोमा घुँडाको चोट छ। स्पेनिस अखबार मार्काका अनुसार रोनाल्डो इबिजामा पनि चोटबाट चाँडै मुक्त हुने उपाय खोज्दै थेरापी सेन्टर पुगेका छन्।