को हुन् एलिट ?
‘महाएलिटको आत्मश्लाघा' भन्दै –डा. बावुराम भट्टराईले रुक्माङ्गत कटवालको आत्मकथा आएको केही दिनपछि ट्विट गरेका थिए । यही शीर्षकमा किताबको समीक्षा पनि छापियो । झन्डै एक वर्षअघि मधेस आन्दोलन सुरु भएपछि सामाजिक सञ्जाल (खासगरी, ट्विटर) मा एलिट शब्दको प्रयोग खुब भयो/भइरहेकै छ । पत्रकार प्रशान्त झाले ‘हिल एलिट' शब्द प्रयोग गरिरहे । प्रतिवादमा मधेसी एलिट आदि भनियो । पछिल्लो दिनमा ‘पावर एलिट' शब्द आक्कलझुक्कल प्रयोग भइरहेको छ ।
महाएलिट भनियो, तर काठमाडौंमा अभिजात्य भनेर चिनिने समूहले कटवाललाई सामान्य एलिट पनि मान्दैन । तिनका लागि एलिट हुन काठमाडौंको सम्पन्न परिवारमा जन्मिन पर्छ । दरबारसँग पुस्तैनी पहुँच आदि हेरिन्छ । बरु, कटवाललाई एलिट परिवारका सैनिक अधिकृतहरू गाइने भनेर होच्याउन रुचाउथे । ‘राजाको भ्रमणका क्रममा रूखमा चढेर बा“सुरी फुक्दै गरेको देखेपछि राजा महेन्द्रले प्रभावित भएर काठमाडौं ल्याएकाले गाइने', भनिएको भन्दै एक सैनिक अधिकृतले कारण सोध्दाको जवाफ दिएक थिए ।
सम्पन्न परिवारमा जन्मिएका शिक्षा/दीक्षा पाए पनि सीमान्तकृत जात, लिंगको अधिकारको कुरा गर्नेलाई पावर एलिट भनिएको छ, सामाजिक सञ्जालमा । पावर एलिट प्रचलनमा आएको अमेरिकी समाजशास्त्री सि–राइट मिल्सले सन १९५६ मा ‘पावर एलिट' किताब लेखेपछि हो । मिल्सले तत्कालीन अमेरिकामा सत्ता परिवर्तन भए पनि समाज/सत्तामा प्रभाव कायम राख्न सक्ने राजनीतिक, सैनिक र कर्पोरेट नेतृत्वलाई पावर एलिट भनेका छन् ।
‘पद, पैसा र प्रभाव भएका काठमाडौंका दुई सय जति परिवार वास्तविक एलिट हुन्', केहीअघि विराटनगर भ्रमणका क्रममा प्रदीप गिरीलाई सोध्दा भन्नुभयो । गिरीका अनुसार २०५२ सालमा सशस्त्र विद्रोह गरेयता सत्तामा प्रभाव पारिरहेका प्रचण्ड, धनको आधारमा प्रभावशाली विनोद चौधरी तथा अहिले पनि सम्पत्ति र नेटवर्कका कारण बलियो चन्द्रशमशेर खलकको परिवारसम्म एलिट हुन । प्रभावशाली मिडियाका मालिक/सम्पादक पनि एलिटको सूचीमा पर्ने उनको भनाइ छ । ‘यो वा त्यो कुल/घरानाको भनेरमात्र भएन सत्तामा प्रभाव छ, सरकारको नीतिमा प्रभाव पार्न सक्छ भने मिडियासम्बद्ध एलिट हो', उनी थप्छन् ।
काठमाडौं कब्जा गरेपछि उनीसँग भित्रिएका भारदार खलक, जसको पञ्चायतको अन्त्यसम्म सत्तामा प्रभाव थियो त्यसलाई एलिट मानिँदै आएको थियो । सत्तामा पहुँचका कारण जसले बिर्ता/बक्सिस पाए, राज्यको अरू स्रोतको दोहनबाट पनि सम्पत्ति जोडे, राम्रो शिक्षादीक्षा पाए तिनैलाई एलिट भनिँदै आएको थियो । तर पछिल्लो समय एकअर्कालाई होच्याउन/गाली गर्न एलिट शब्दको प्रयोग भइरहेको छ ।
‘सत्तामा प्रभाव पारिरहेका प्रचण्ड, धनको आधारमा प्रभावशाली विनोद चौधरी तथा अहिले पनि सम्पत्ति र नेटवर्कका कारण बलियो चन्द्रशमशेर खलकको परिवारसम्म एलिट हुन् । प्रभावशाली मिडियाका मालिक÷सम्पादक पनि एलिटको सूचीमा पर्छन् ।'–प्रदीप गिरी
‘मलाई एलिट भन्ने पनि छन्', मानवशास्त्री मल्लिका शाक्य भन्छिन, ‘आफू एलिट हुँ भन्ने मान्दिनँ ।' मल्लिका पाटनको सुन व्यवसायी परिवारमा जन्मिएकी हुन् । साधारण स्कुल र पद्मकन्या स्कुलमा पढेकी मल्लिकाले मेहनत गरेर अक्सफोर्डबाट पीएचडी गरिन् । विश्व बैंकमा जागिर खाइन् । अहिले दिल्लीको साउथ एसिया युनिभर्सिटीमा पढाउँछिन् । आफूभन्दा परिष्कृत देखिनेबित्तिकै एकथरीले एलिटको पगरी गुथाइदिन थालेको हो कि भन्ने उनलाई लाग्छ । एलिटका बारे छुट्टै अध्ययन चिन्तन नगरेकी उनी राज्यस्रोतमा पकड जमाएको परिवारको सन्तति एलिट हुन् भन्ने ठान्छिन् ।
‘विश्लेषकले कसैलाई सम्बोधन गर्नुपर्दा सन्दर्भअनुसार सोलोडोलोमा एलिट शब्दको प्रयोग भयो', अनुसन्धानकर्मी प्रत्यूष वन्त भन्छन्, ‘कस्तो देखियो भने, भोलि महिलाले पुरुष एलिट भन्न सक्ने भयो ।' तैपनि एलिट शब्द आफैंमा गाली वा होच्याउने शब्द चाहिँ होइन । नेपालमा को एलिट हुन् भन्नेमा उनले पनि अध्ययन/चिन्तन गरेका छैनन् । तैपनि राणाशासनको अन्त्यतिरको अवस्थामा जसलाई एलिट भनिन्थ्यो, अहिलेको अवस्थामा निरन्तरता हेरिनुपर्छ ।
राणाकालमा राजनीतिक, सैनिक र आर्थिक शक्ति एकै ठाउँमा थियो । पञ्चायतमा पनि राजनीतिक र सैनिक शक्ति एकै ठाउँमा केन्द्रित थियो । विनोद चौधरीकै आत्मकथालाई पत्याउँदा आर्थिक शक्ति पनि करिब दरबारमै केन्द्रित देखिन्छ । दरबारियालाई नरिझाइ ठूलो व्यापार गर्नै नसकिने, तिनलाई सित्तैमा सेयर दिनुपर्ने कुरा उनले उल्लेख गरेका छन् । पर्यटन व्यवसायमा त दरबारियाको एकाधिकारजस्तै थियो ।
यस्तै शक्तिकेन्द्रले पत्याएका ससाना शक्ति केन्द्र थिए, जसले त्यस्तो शक्ति प्रयोग गर्थे । तिनले कमाएको सम्पत्ति व्यवस्थापन गरिदिनेहरू पनि थिए । तर अहिलेको राजनीतिमा तिनको सहभागिता न्यून छ । तैपनि तिनको धेरै पुस्ता केलाउदा लिंक भेट्नै नसकिने भने हैन । यस्तो इतिहास खोतल्ने काम बाँकी छ । आर्थिक शक्तिमा पनि उस्तो पकड छैन ।
विश्लेषक सीके लालले मुलुकको स्थायी संस्थापन (पर्मानेन्ट स्ट्याब्लिसमेन्ट अफ द नेसन ‘पिओन') चर्चा बारम्बार गर्ने गर्छन् । पृथ्वीनारायण शाहले जितेपछि काठमाडौं भित्रिएको गोरखाको भारदार खलक जो सत्तासँग स्थायी सम्बन्ध भयो तिनै पिओन हुन् । सत्तामा जोसुकै आए पनि पीओनको प्रभाव रहन्छ । गोरखाबाट काठमाडौं आएका पनि त्तामा सधैं उत्तिकै प्रभावशाली रहेनन् ।
भीमसेन थापाको उदय र पतन, जंगबहादुरको उदय, राणाशासनको अन्त्य आदिमा कुनै परिवार प्रभावशाली भए, कोही पेलिए । सबैथरीका उथलपुथलमा जोगिएर प्रभावमा रहन सफल काठमाडौंमा यस्ता पिओन दुई सय परिवार छन् । राजनीतिक, सैनिक नेतृत्वमा परिवारकै प्रतिनिधित्व नरहे पनि तिनलाई प्रभाव पर्दैन । तिनको नेटवर्क यति तगडा हुन्छ कि सत्ताको फाइदा लिइरहेकै हुन्छन् ।
लालका अनुसार अभिजात्य (एरिस्टोक्र्याटिक), योग्यता (मेरिटोक्र्याटिक) र पावर एलिट गरी तीनथरी एलिट हुन्छन् । पृथ्वीनारायण शाहले उपत्यका जितेपछि उनीसँग काठमाडौं छिरेका भारदार खलक, जो शाहवंश चलुन्जेल सत्ताको वरिपरि रहे, ती एरिस्टोक्र्याटिक एलिट हुन् । आफ्नो योग्यताको आधारमा चम्केका मेरिटोक्र्याटिक एलिट हुन । यसमा क्षमताको भरमा शासन सत्तामा पुगेको व्यक्ति हुन सक्छ ।
कलाकार, आदि पनि हुन सक्छ । पावरबाट आएका पावर एलिट हुन् । जंगबहादुर राणा पावर एलिट हुन् । ‘मुलुकमा पावर एलिटको ठूलो हिस्सा एरिस्टोक्र्याटिक एलिट नै पावर एलिट बनेको देखिन्छ', उनी भन्छन् । गोरखाबाट काठमाडौं आएका रामकृष्ण कुँवरको सन्तान जंगबहादुर सिपाहीको छोरा भए पनि पावर एलिट पनि बने । पावरले सम्पत्ति पनि दिलाउँछ र वर्गीय चरित्र पनि बदलिन्छ । जंगबहादुरका सन्तान मारिए/धपाइए तर उनका भतिजा खलक एरिस्टोक्र्याटिक एलिटमा बदलिए ।
नेपालको आर्थिक इतिहासमा अनुसन्धान गरिरहेका अर्थशास्त्री विश्व पौडेलका अनुसार काठमाडौंमा घर/कम्पाउन्ड हेरेरै एकसरो एलिट पहिचान गर्न सकिन्छ । रिङरोडभित्र टन्न जग्गामा घर भएको व्यक्ति अधिकांश एलिट हुन् । घर पुरानो/सामान्य हुन सक्छ तर जग्गा टन्न हुन्छ । उपेन्द्र महतोलगायतका एकाधबाहेकको ठूलो कम्पाउन्ड भएका घर राणाकाल वा त्यसभन्दा अघिदेखि पञ्चायतको अन्तसम्म सत्ताको छत्रछायामा रहेका परिवारका मात्र छन् ।
यस्ता परिवार पृथ्वीनारायण शाहको पालादेखि पञ्चायतसम्म सत्तामै रहे । त्यसयता पनि तिनको प्रभाव कायम छ । विदेशमा प्रशस्त सम्पत्ति आर्जन गरे पनि अरुण ओझालाई उनी एलिट मान्दैनन् । कारण उनी धनी भए पनि आफन्त सामान्य अवस्थामा छन् । नीतिनिर्माण प्रभावित गर्न सक्ने उनको क्षमता पनि छैन । स्कुलकै पढाइ छाडेर बरालिएको आफन्तलाई टेलिफोनमा पढ्नुपर्छ भन्दै सम्झाएको पनि देखेको छु ।
‘आफूमात्र धनी हुँदैमा पुग्दैन', उनी थप्छन्, ‘पुस्ता दरपुस्तादेखि धनी भएकाको नेटवर्क पनि त्यस्तै हुन्छ । हरेक सम्मानित पेसामा आफन्त हुन्छन्, जसको कारण ऊ ‘प्रिभलेज्ड' हुन्छ । सर्वसाधारणभन्दा फरक देखिने हुटहुटी एलिटमा हुन्छ । यसैले कुँवर थरका जंगबहादुरले गोत्र परिवर्तन गरेर राणा भए । उनका सन्तान कसैले पनि कुँवर लेखेनन् । फरक भाषा बोल्न बक्स्योस, ज्यूनार होस् आदि शब्द प्रयोग गरियो । सर्वसाधारणले पनि यस्तो भाषा सिको गर्न थालेपछि अंग्रेजी स्कुलमा पढ्ने/पढाउने र बोलीचालीमा अंग्रेजी नै प्रयोग गर्न सुरु गरे ।
लामो समय सत्ता चलाएका शाह, राणा परिवार एलिट हुन् । शाह परिवारमा पृथ्वीनारायण शाहपछिका नाबालक राजा, सानो उमेरमा मृत्यु, स्वाँठ/सन्की स्वभावका भएका कारण तिनले धन थुपार्ने र व्यवस्थापन गर्ने कौशल जानेनन् । राणाहरू नै धनी भए । राणाकालको अन्त्यपछि राजा महेन्द्रको पालादेखि मात्र शाह राजा पनि धनी हुन लागेका हुन् ।
आहुतीले जंगबहादुरले मुलुकी ऐनले बिर्ता दिने अधिकार शाह/राणामा केन्द्रित गरेपछि नेपाली समाजमा नयाँ वर्ग पैदा भएको उल्लेख गरेका छन् । त्यसअघि स्थानीय रजौटाले पनि बिर्ता बाँड्थे । १९१० को मुलुकी ऐनले तागाधारीलाई सबैभन्दा उपल्लो श्रेणीमा राख्यो । त्यसपछि क्रमशः नमासिन्या मतवाली, मासिन्या मतवाली, छोइछिटो हाल्न नपर्ने अछूत र छोइछिटो हाल्न पर्ने अछूत रहे । जातको विभाजन र विर्ता वितरणमा केन्द्रीकृत गरेपछि शाह÷राणाखलक र तिनका नजिकका तागाधारी खलकले मात्र विर्ता पाए ।
गोरखाली राज्यको ६ थरेमा पाण्डे, पन्थ, अज्र्याल, बोहरा, रानामगर थिए । एकीकरणपछि सर्वजित राना, अभिमानसिंह राना पनि थिए । तर जात र निकटकाले मौका पाउने भएपछि कतिपयले आफ्नो जातै परिवर्तन गरे । कतिपय प्रियपात्रको शासकले जात परिवर्तन गरेर क्षेत्री/ठकुरी बनाउने क्रम पनि चल्यो ।
पञ्चायतमा एलिट देखाउन क्षेत्रीले ठकुरी भनाउने पनि गरियो । महेन्द्रको पालामा प्रभावशाली खडगमानसिंह बोगटी क्षेत्री थिए । तर उनले ठकुरी भनाउन सिंह लेखेका थिए । राजा महेन्द्रले छोरी बिहा गरिदिन लागेको थाहा पाएपछि उनी ठकुरी नभई बोगटी क्षेत्री भएको भन्दिएर दरबारियाले नै राजाको योजना रद्द गराइदिएका थिए ।
वास्तवमा अहिले एलिट भनिएकाहरू यसपछि बिर्ता/बक्सिसमा जमिन पाएर धनी भएकाहरू हुन् । ‘अभिजात्य आफ्नो मेहनतले बनेका हैनन्, राज्यस्रोतको दोहनबाट चम्केका हुन्, यसैले गर्व गर्ने ठाउँ हुन्न', पौडेलको भनाइ छ । समाजशास्त्री चैतन्य मिश्रका अनुसार पुस्तैनी नेतृत्वको जमानामा राजाको छोरा राजा, काजीको छोरा काजी, मुखियाको छोरा मुखिया हुन्थे । यसैले छुट्टै शब्दले चिनाउनु पर्थेन ।
पुस्तैनी शासन हराउँदै गएपछि शासनमा पुग्नेलाई शासक वर्ग भन्न थालियो । अब, लोकतान्त्रिक अभ्यासले शासक वर्ग पनि स्थायी नहुने भयो । जो साह्रै हुने खाने परिवारको हैन, आफ्नो मेहनत र कौशलको बलमा नेतृत्वको तहमा पुग्न सक्ने भयो । अनि एलिट शब्द प्रचलनमा ल्याइयो । बदलिएको नेपालमा एलिटलाई पुनःपरिभाषित गर्नैपर्ने बताउँछन् उनी ।
शक्तिशाली मिडियाको मालिक एलिट हो । ट्रेड युनियनको नेता पनि एलिटको परिभाषामा अटाउन सक्ने भइसक्यो । ऊ सत्तासँग सम्बन्धका साथै बन्द/हडतालको त्रासमा आफूले चाहेको काम गराउन सक्षम छ । कर्मचारी सरुवामा उसको लिस्ट चल्छ । पैसा कमाएको छ । आफूले नरुचाउने ट्रेड युनियन सम्बद्ध कानुन रोक्न सक्छ । यस्तै अवस्था शिक्षक/प्राध्यापकको छ ।
कसरी भए धनी
अभिजात्यले आफूलाई विशिष्ट देखाउन र अरूलाई होच्याउन ती त अस्तिसम्म चप्पल लगाएर काठमाडौं छिरेका, भ्रष्टाचार गरेका आदि टीकाटिप्पणी गर्ने गर्छन् । पछिल्लो समय धनी भएकाहरू तिनका लागि खान, लाउन, बोल्न नजान्ने सोमत नभएका हुन्छन् । एरिस्टोक्र्याटिक एलिटको अवस्था कस्तो थियो त ?
गोरखा दरबार अभिजात्यको विगत बयान गर्न काफी छ । दरबारको कोठा/चोटा डुल्दा थाहा हुन्छ । तत्कालीन गोरखाली राजा कति विपन्न थिए । राजा नै त्यस्तो दरबारमा बस्ने राज्यका जनताको अवस्था कस्तो थियो होला । तन्नम राज्यको तुलनामा काठमाडौं वैभवशाली थियो । यसैले महत्त्वाकांक्षी पृथ्वीनारायण शाहलाई काठमाडौंमा राज गरिछाड्ने हुटहुटी चल्यो । काठमाडौं जितेपछि उनले मुकाम काठमाडौंलाई नै कायम गरे । राज्य विस्तारका क्रममा टाढाटाढा पुगे पनि राजधानी काठमाडौं नै बनाइयो ।
एरिस्टोक्र्याटिक एलिटको सम्पत्तिको स्रोत राज्य स्रोतको दोहन हो । उतिबेला सम्पत्ति भनेकै जग्गा थियो । बिर्ता पाए । बक्सिसमा जग्गा पाए । लखनऊ लुटले पनि अहिले एलिटमा दरिएका परिवारको पुर्खाले धनआर्जन गरेका थिए । लखनउमा लुटेर ल्याएको जवाहरात राणाकालीन दरबारका शोभा बने ।
ब्लडमनीको कारण चन्द्रशमशरेको पालादेखि राणा परिवारलाई झन् धनी हुने अवसर दिलायो । गोर्खा भर्ती सुरु गरेबापत ब्रिटिस सरकारले नेपाललाई बर्सेनि पैसा दिन्थे । चन्द्रशमशेरको पालामा १० लाख पाउन्ड र पछि २० लाख पाउन्ड बर्सेनि नेपालले पाउँथ्यो । जुन राणाशासकको गोजीमा जान्थ्यो ।
काठमाडौंका एलिटमा पनि चन्द्रशमशेर खलककालाई सबैभन्दा ठूला एलिट ठान्ने गर्छन् । चन्द्रशमशेरका खलकसँग सबैभन्दा बढी सम्पत्ति थियो । त्यो सम्पत्ति कसरी जोडियो बुझ्न इतिहासकार पुरुषोत्तमशमशेर राणाको ऐतिहासिक दरबारहरूको यो अंश काफी छ– ‘सिंहदरबारको निर्माणमा ५० लाख रुपैयाँभन्दा बढी खर्च भएन । किनकि त्यसमा प्रयोग भएको सम्पूर्ण काठ काठमाडौं नजिकको ‘छरिया' जंगलबाट कटानी गरियो । ढुवानीको काम पनि बेगारीद्वारा गराउँथे, जसलाई पेटभरि ढिँडो र नुन खर्च दिनुपथ्र्यो । सिकर्मी, डकर्मीको काम पनि सेना, प्रहरी, पिपा तथा कैदीद्वारा गराउँथे ।
ज्यालामा जसलाई काम लगाइयो तिनलाई पनि दैनिक चारदेखि ६ पैसाभन्दा बढी दिइएको थिएन । बीचबीचमा राँगो खानेलाई राँगो र खसी खानेलाई खसी काटेर भोज भने अवश्य खुवाउने गरिन्थ्यो । चन्द्रशमशेरको लागेको खर्च भनेकै किला, काँटा, रेलिङ, पाइप, फलाम आदिमा हो, जो सोझै भारतबाटै किन्नु पर्दथ्यो । ती सामानको भन्सार तिर्न पर्दैन्थ्यो ।
‘झलारी' द्वारा ढुवानी गराउँथे, जसलाई बेगारीलाई झैं पेटभरि ढिँडो र नुन खर्च दिनुपथ्र्यो । त्यसकारण सिंहदरबारको निर्माणमा चन्द्रशमशेरको जम्मा ५० लाख रुपैयाँभन्दा धेरै पैसा खर्च भएको छैन भनेर त्यतिबेलाका बूढापाकाहरू भन्ने गर्थे । सिंहदरबार निर्माणकार्य सम्पन्न भएपछि चन्द्रशमशेरले एक दिन भारदारी सभा गठन गरी सबै समक्ष प्रस्ताव राख्दै भने आज उप्रान्त श्री ३ महाराज प्रधानमन्त्री जो हुन्छन्, उनी यसै दरबारमा बस्नेछन् ।
तसर्थ यो दरबार मैले नेपाल सरकारलाई आजै बेचिदिएँ । चन्द्रशमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गरी राष्ट्रको ढुकुटीबाट दुई करोड झिके । यसरी चन्द्रशमशेरलाई डेढ करोड नाफा भयो । क्रमशः