किताबहरूबाट गुज्रँदा

किताबहरूबाट गुज्रँदा

ग्रीष्म र शिशिर
झन्डै १० किलोमिटर परको पुस्तकालयमा पुग्नुपथ्र्यो अहिले पन्ध्र सय पाउन्ड पर्ने पुस्तक पढ्नलाई। तेस्रो दिनपछि पुस्तकालय बन्द भयो। कारण के रहेछ भने आधा घन्टा पुस्तकालयमा बसेर लाइब्रेरियनको घर हिँड्ने बानी रहेछ कोही पनि नजाने हुनाले।त्यसपछि माथि भनसुन गरेर पुस्तकालय खोल्न लगाउनु पर्यो। तर, उसले पुस्तक नै लुकाइदियो। फेरि भनसुन गरेपछि बल्लबल्ल पढ्न पाइयो।

केन्द्रीय पुस्तकालयको नेपाल सेक्सनमा एक महिला लाइब्रेरियन थिइन्। दुईवटा किताबमात्र पढ्न दिने चलन भए पनि उनलाई लिस्ट दिएपछि पच्चीसवटै किताब ल्याएर बेलाबखत दिइन्। त्यसले गर्दा झन्डै बाह्र सय किताब तीन वर्षमा सर्सर्ती हेर्न पाइयो।

विज्ञानको छात्र भएताका वीर अस्पतालको लाइब्रेरीमा एकजना दाहाल थरकी महिला पनि त्यति नै सहयोगी थिइन्। तर, केशर पुस्तकालयको सम्बन्धमा मेरो त्यस्तो राम्रो अनुभव छैन। एक कर्मकाण्डी लाइब्रेरियन थिए, त्यत्रो विशाल अंग्रेजी भाषाको पुस्तकालयमा।

यसरी लाइब्रेरी भनेजस्तो उपयोग गर्न सकिएन। दुई हप्ताअघि इन्जिनियरिङ क्याम्पसको पुस्तकालय गएको थिएँ। त्यहाँ पनि त्यस्तै अनुभव भयो। प्राकृतिक विज्ञान संग्रहालयको मिटिङ हल रहेनछ, तीनपल्ट जाँदाखेरि पनि कर्मचारीले लाइब्रेरी ओगटेका थिए।

अब आउँदिनँ भनेर फर्कें। केन्द्रीय पुस्तकालयको नेपाली सेक्सनमा मतदाता परिचयपत्र लग्यो, नागरिकताको प्रमाणपत्र लग्यो, पुरानो पासपोर्ट लग्यो, लाइब्रेरियनले जहिले पनि खोट खोजेकाले अब आउँदिनँ भनेर परारदेखि फर्केको छु।

परोपकार स्कुलको पुस्तकालय सुरशमशेर राणाको कलेक्सन हो। त्यो ध्वस्तकै अवस्थमा छ। नेपाल राष्ट्रिय पुस्तकालयको कुरै नगरौं। श्रीरामदेव भट्टराई र योगेन्द्रनाथ अर्यालले खडा गरेको 'जनताको नेपाल राष्ट्रिय पुस्तकालय' पद्मकन्या कलेजको लाइब्रेरीमा परिणत भएपछि त्यहाँ जाने कुरै भएन।

मूर्खता गर्दा
'किताब फर्काउने मूर्ख हो भन्छन्, मूर्ख नै हुन मञ्जुर छ' भन्दै तीस वर्षपछि 'बुक अफ इन्स्लट्स' फर्काएँ मधुवन पौडेल, कतारका निम्ति पूर्वराजदूतलाई। सधैं उहाँ देशबाहिर भइरहने।

कुमार रेग्मी अधिवक्तालाई दुईवटा किताब, डा. केशवराज राजभण्डारीलाई तीनवटा, दीपेन्द्रबहादुर क्षेत्री पूूर्वगभर्नरलाई 'इन्डियाज चाइना वार', डा. बीबी शाहीलाई 'मार्को पोलोज् जर्नी' गएको दुई चार महिनामा फर्काएको हुँ। ती कुनै पनि मैले मागेका होइनन्।

उहाँहरूबाटै पढ्नलाई आएको हो। फर्काउन राखिएका पच्चीसवटा छन्। धेरैजसो लानुपर्नेले नलाँदा थन्किएको हो। अन्यथा म आफैं फर्काउन जान्छु। यस्तो मूर्ख हुन पाउँदा मलाई असाध्यै खुसी लाग्छ। झन्डै बाह्र सय पुस्तक लगेकाहरूले नफर्काउँदा मूर्ख हुन नमानेकोमा पनि मलाई खुसी नै लाग्छ।

आँखा विशेषज्ञ डा. एनसी राईको संकलनबाट जापानी साहित्य पढेको हुँ। त्यति बेला जापानी साहित्य सहजै पाउन गाह्रो थियो। शिव रेग्मीको संकलनबाट धेरैजसो नेपाली पुस्तक पढेको छु।

फर्काउने हुनाले मेरो निम्ति करिब दुई दर्जन निजि संकलन चौबीसै घन्टा खुला छन्। तर, बोकेर जानुपर्ने हुनाले म आफैं ल्याउँदिनँ। बरु किन्न प्राथमिकता दिन्छु। शरदचन्द्र शाहले आफूलाई पढ्न झिकाएको हात नपर्दै गुरुदास कामतको 'द डिफिकल्टी अफ विइङ गुड' आफूले पढ्दै नपढी उपहारै दिए।

उनी बितेर गइसके तर त्यो मैले पढ्न भ्याएको छैन। रानिया पहल्बीको संस्मरण र पिटर हपकिर्कको 'द ग्रेट गेम' पनि उनले नै पढ्न दिएका हुन्। त्यो किताबमा भएजस्तै चेपुवामा छ आजको नेपाल भन्थे उनी।

नपढ्दा
निस्किनेबित्तिकै विश्वेश्वर कोइरालाको 'जेल जर्नल', 'आत्मवृत्तान्त' र कर्मयोगी राजनीतिज्ञ कृष्णप्रसाद भट्टराई आदि आदि किनेको हुँ, अहिलेसम्म पढेको छैन। रमेशनाथ पाण्डे, रुकमांगद कटवाल, छत्रमानसिंह गुरुङका संस्मरण किनेको छु, पढेको छैन।

कुलबहादुर खड्काको संस्मरण निस्केपछि सानुभाइ डंगोल र विवेक शाहको संस्मरणसँगै जुधाएर पढ्नुपर्ला भनेर पर्खिरहेको छु। आत्मकथा मेरा रुचिका पुस्तकहरू हुँदैनन् पनि प्रायः। त्यसैले होला 'माओ द अन नन स्टोरी' आधीमै छोडेको छु। ध.च. गोतामेको 'कालान्तर'चाहिँ अपवाद हो।

बाटाघाटामा कहिलेकाहीँ 'जंक बुक्स' थमाइदिन्छन् जबर्जस्ती परिचितहरूले। त्यस्तो पुस्तक धेरैजस्तो बिर्सेजस्तो गरेर जानाजान ट्याक्सीका, बसका सिटमै छोडेर धेरैपल्ट हिँडेको छु कुनै बेला।

कसैका घरका पर्खालका टाउकोमाथि पनि छोडेर हिँडेको छु। यस्ता पुस्तकको पनि पुस्तकालय हुँदो रहेछ। भृकुटीमण्डपको पब्लिक लाइब्रेरी त्यस्तै जंक बुक्स लाइब्रेरी हो।

 

हल्लैमात्र
जति पढ्छु त्योभन्दा हल्ला छ बजारमा। १९८५-१९८७ बीच दिनको सोह्र घन्टा अवश्यै पढेको हुँ। १९९७-२००० मा त्यस ज्ञानलाई अपडेटेड पनि गरेकै हुँ। त्रिविको पुस्तकालय सोह्र वर्षको उमेरदेखि नै जान्थेँ।

तर, विद्यार्थी भएर पाठ्यपुस्तक लिनु परेको अवस्थामा बाहेक म कुनै लाइब्रेरीको सदस्य कहिल्यै बनिनँ। त्यो एउटै कारणले हो, किताब बोकेर हिँड्नुपर्ने झन्झटले। जुन मैले अघि पनि भनेँ।

छापिएकै पुस्तकमात्र मेरानिम्ति पुस्तक होइनन् पनि। आफूलाई नचिन्ने देशभरिका अनगिन्ती सर्वसाधारण पात्रहरू मेरा विभिन्न विषयका पुस्तकहरू हुन्।

प्रकृति सबैभन्दा ठूलो पुस्तक हो।पुस्तक पढ्नमा भन्दा घोत्लिनमा समय जान्छ। जस्तो कि तीन घन्टा टेलिभिजन हेरेँ तर बन्द गरेपछि टेलिभिजनमा के हेरेथेँ भन्ने पत्तो हुँदैन।

पुस्तकभन्दा बढी सीएनएन, बीबीसीमा आइरहने लाइभ भाषणहरू मन पर्छन् सिनेट र पार्लियामेन्टमा दिइएका। लाइभ भाषणको आनन्द यु ट्युबमा हेर्दा हुँदैन। लाइभले आधुनिक कुरुक्षेत्रमा अदृश्य हातहतियारले सुसज्जित योद्धाले कसरी लड्छ भन्ने कुराको जीवन्त दृश्य दिन्छ।

त्यो फुटबलको लाइभ हेर्दा हुँदैन पोर्चुगल र फ्रान्सको जस्तो। किनभने त्यसमा चिन्तनको दरकार पर्दैन। यसपालि डेभिड क्यामरुनले जेरेमी कोर्बिनलाई अन्तमा भनेका कुरा गज्जबको थियो। यस्तो दृश्य पच्चीस वर्षअघि नेल किनकलाई जोन मेजरले भन्दा देखेको थिएँ जुन आज पनि अविस्मरणीय लाग्छ।

पाठकहरूमा भ्रम छ, इतिहास मेरो मूल विषय वा संस्कृति हो भन्ने। त्यो त आफ्नो लेख्य सामग्रीलाई रुचिपूर्ण बनाउन प्रयोग भएको जिरा-मेथी हो। मुख्य विषय समसामयिक राजनीति नै हो।

अगाडिबाट पढ्न थालेको १० वर्ष जति भयो। अन्यथा पछाडिबाट पढ्न सुरु गर्थें म, यो माछाले फूल पार्ने बेला मुहानतिर पौडेजस्तै हो। पत्रिका विचार पृष्ठसम्म पढेर छोडिदिन्थेँ।

सिफारिस छैन
हेनरी म्याकिन्डरको 'ज्योग्राफिकल पिभट अफ द हिस्ट्री', लेनिनको 'स्टेट एन्ड रिभोलुसन', सिन्क्लेयर लेविसको उपन्यास 'ब्याबिट' आदिआदि बीसौं शताब्दीको सोचमा प्रभाव पारेका सामग्री मानिन्छन्।

अहिले हन्टिङटन, फुकुयामा आदिको नाम छ। तर, यी अरूका विचार हुन् मेरा विचार होइनन्। म कुनै पनि पुस्तक पढ्नैपर्छ भनेर सिफारिस गर्न सक्दिनँ। त्यसका पछाडि दुईवटा कारण छन्, मन पर्नु नपर्नु आफ्नो कुरा हो।

अर्कोचाहिँ विगत बीस वर्षदेखि नेपाल र नेपालीमात्र मेरो रुचिको विषय भएकाले म अलि सीमित पनि छु। यसैले 'राईबाबासँग साक्षात्कार', 'देवकोटाका आनीबानी'जस्ता पुस्तक एकपल्ट पढे हुन्छसम्म म भन्न सक्छु। जेयर्ड डायमन्डको 'गन्स, जर्म्स एन्ड स्टिल' पनि हेरे हुन्छ।

बाटाघाटामा कहिलेकाहीँ 'जंक बुक्स' थमाइदिन्छन् जबर्जस्ती परिचितहरूले। त्यस्तो पुस्तक धेरैजस्तो बिर्सेजस्तो गरेर जानाजान ट्याक्सीका, बसका सिटमै छोडेर धेरैपल्ट हिँडेको छु कुनै बेला। कसैका घरका पर्खालका टाउकोमाथि पनि छोडेर हिँडेको छु।

समसामयिक राजनीतिमाथि धेरै वर्षदेखि लेखिरहेको र बोलिरहेकाले मेरो एउटा मान्यता बनेको छ— अशिक्षित राजनीतिज्ञ क्रूर हुन्छ भने अर्धशिक्षित राजनीतिज्ञ भ्रष्टाचारी।

पहिलो कोणका निम्ति 'नेपालको महाभारत' पढे हुन्छ। तर, साझा प्रकाशनले छापेकाले यसको गेटअप र शीर्षक नै ठीक छैन भन्ने लाग्छ मलाई। नयाँ कलेवरले पठनीय बनाउँछ यसलाई।

मेरो आफ्नो सबैभन्दा मन पर्ने कुरा त शब्दकोष हो। 'बृहत् नेपाली शब्दकोष' दुईपल्ट पढेको छु। 'अ डिक्सनरी अफ क्लासिक नेवारी'को सात सय पेजको ठेली पाँच दिन लगाएर पढेको छु। यसकै खाकामा अन्य शब्दकोषहरू निस्केमात्र तिनलाई शब्दकोष भन्न सकिन्छ।

आधार पुस्तक
फाउन्डेसन बुक्स पढिएको छैन भने त्यसले अलमलमात्रै दिन्छ। आफ्नो सोचको गन्तव्यमै नपुगी जीवन सकिन्छ। जस्तो कि अर्थशास्त्रमा एडम स्मिथको 'वेल्थ अफ नेसन्स' वा कौटिल्यको 'अर्थशास्त्र' अनि कूटनीतिमा मेकियाभेलीको 'प्रिन्स' वा विकासवादको सन्दर्भमा डार्विनको 'ओरिजिन अफ स्पेसिज'।

साहित्यमा त्यस्तो हुँदैन। तैपनि 'तरुण तपसी' नपढी लेखनाथ, 'मुनामदन' नपढी देवकोटाको साहित्यको आनन्द लिन सकिँदैन। 'तरुण तपसी'का बारेमा एउटा कुरा भनिहालूँ— त्यो कांग्रेसका चाकडीवाजहरूले भन्नेजस्तो विश्वेश्वर कोइरालामाथि लेखिएको होइन, स्वर्गद्वारी महाप्रभुमाथि लेखिएको हो।

विज्ञानमा चाहिँ फाउन्डेसन बुक्स भन्ने खासै हुँदैनन्। फर्मुला र थ्योरी हुन्छन्, ती बेलाबखत थोत्रिँदै जान्छन्। केही दशकपछि आइन्स्टाइन नै पनि वैज्ञानिकबाट दार्शनिक ठहरिन बेर हुँदैन।गैरआख्यानको पाठकले विषय हेरी आफ्नो युवाकालमा सबैभन्दा पहिला आधार पुस्तकहरू नै पढ्नुपर्छ।

भ्रममात्र
वात्स्यायनको 'कामशास्त्र' अश्लील यौनसाहित्य हो भन्ने भ्रम छ पाठकहरूमा। तर, मोटो अर्थमा भन्ने हो भने बडी ल्यांग्वेजको आधार पुस्तक हो यो। यसमा कुनै चित्रहरू छैनन्।

कुनै छौसट्ठी आसन हुन्छ भन्ने कुरालाई पनि मानिएको छैन। तर, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय (उति बेलाको क्विन्स कलेज)का प्राध्यापकहरूले नै सम्पादन गरेको संस्करण नै फेला पार्नुपर्छ, त्यतिमात्रै हो।

अन्यथा मुल्कराज आनन्दहरूले यसका निम्ति छुट्टै कागज उत्पादन गरेर, अप्सरा नामको टाइपफेस नै डिजाइन गरेर, मसी नै नयाँ आविष्कार गरेर किन सम्पादन गर्थे ?

भन्नाले पढ्न नहुने भन्ने पुस्तक संसारमा कुनै पनि छैन। चयन गर्ने तरिकामा भर पर्छ। मेरो सोचमा तीस वर्षको उमेरसम्म जस्तोसुकै पढे पनि हुन्छ।

रिभ्युकै भरमा किताब चयन गर्नु पटक्कै ठीक कुरा होइन। पुस्तक चयन गर्ने एउटा प्रमुख आधार बिब्लियोग्राफी हो। त्यसबाहेक निरन्तर चर्न सक्नुपर्छ पुस्तक पसलहरूमा।

पढ्न सकिन्नँ
'बदलिँदो नेपाली समाज' पाउने बित्तिकैजस्तो फर्काएँ। पढ्दापढ्दै निस्सासिएँ। १२ पेजभन्दा पढ्न सकिनँ। आफूले लेखेको कुरालाई पुष्टि गर्ने आधार सामग्री नै छैनन् यसमा।

योभन्दा राम्रो छ, 'सहरीकरण : जीविकाको विविध आयाम'को पहिलो च्याप्टर, विषयको आयाम फरक भए पनि। तर 'मुन्दुम होसुङ'का दुई खण्ड पाउनेबित्तिकै तिनमा तन्मय भएँ।

मानिसबाट मानिस पो जन्मिन्छ, बाँदरबाट मान्छे जन्मिन्छ कतै ? भनेर करिबकरिब पानैपिच्छेजस्तो डार्विनको आलोचना गरेका थिए प्रपन्नाचार्यले 'प्राचीन किरात इतिहास'मा। त्यसैले म उनलाई भेट्न पनि गएँ। तर, अहिले नभन्दै डार्विन वैज्ञानिकबाट दार्शनिकमा परिणत हुँदैछन्।

विकासवादमाथिको परम्परागत धारणाले गर्दा मुन्धुमहरूमाथि मेरो रुचि बनेको हो। विष्णुको नाइटोबाट निस्केको कमल हुँदै ब्रह्माको उत्पत्ति पनि विकासवादको पूर्वीय सिद्धान्त हो असफल, पश्चिमको बफोनेरिज्मजस्तै।

'म्यान एन्ड द हाउस इन द हिमालयाज' नेपालको ग्रामीण वास्तुशास्त्रमाथिको पुस्तक हो जेरार्द तफ्याँले सम्पादन गरेको। हात परेको भोलिपल्टै पढिसिध्याएँ। भन्न खोजेको, ननफिक्सनले पुष्टिहरू खोज्छ। तर, नेपाली लेखकका किताबमा अझै त्यो सिद्धान्तका रूपमा जमिसकेको छैन।

युज एन्ड थ्रो पारा

दुई सय वर्षभन्दा अघि नै कर्क प्याट्रिकले नेपालसम्बन्धी पुस्तकमा इन्डेक्स दिइसकेका थिए। मैले अघि भनेका विवेक शाह, पाण्डे, कटवाल, गुरुङ वा शर्माको प्रयोगशाला नै हेर्नुस्, इन्डेक्सिङ छैन।

हामीजस्तो रेफरेन्सका लागि पढ्नेहरूका निम्ति यी पुनप्र्रयोजनीय छैनन्। यी कसैले पनि 'यदुनाथ खनाल : जीवनी र विचार'का पाना पल्टाएनन् भन्ने लाग्दैन। तर उपयोगी बनाएनन् आफ्नो पुस्तकलाई।

स्पाइनमा नाम नभएका पुस्तकहरू पसलमा जाँदा र्याकबाट तानेर म हेर्दिनँ। ती पुस्तक पसलमै हराएका किताब हुन्। अझै भूमिका किन लेखाइन्छ भने पन्चानब्बे प्रतिशतलाई थाहा छ जस्तो लाग्दैन।

भूमिका नयाँ लेखकको परिचय दिलाउन र उसले स्थापित गराउन खोजेको मान्यतालाई प्रकाश पार्न लेखिन्छ, न कि आफ्नो राग छाँट्न। पुस्तक फ्रेमिङको बेसिक बाह्रखरीमा पनि हामी पुग्न सकेका छैनौं जस्तो लाग्छ कहिलेकाहीँ।

पुस्तक समीक्षा पढेर पनि पुस्तक किनिन्छ भन्ने सही हो। तर, न्युयोर्क टाइम्सको बुक रिभ्यु कुनै बेला १० वर्ष लगातार पढ्दा हजारौं समीक्षा हेरेको हुँला। सम्भव नभए पनि पाएदेखि किन्थेँ भन्ने लागेका सय÷डेढ सयवटा पुस्तकमात्र थिए होलान्।

शब्द, वाक्य, हरफमा चाख लिईलिई विचारमा मग्न भएर पुस्तकलाई सक्दो समय दिएको छ कि छैन, पढिसकेपछि त्यसमाथि कति समय घोत्लिनलाई दिइएको छ ? यी दुई कुरामा पढाइको मर्म हुन्छ।

केही समीक्षा अजीर्णयुक्त वमनजस्तो देखिन्छ हाम्रोमा। त्यसले पनि पठन संस्कृति परिपक्व छैनजस्तो लाग्छ। पढ्नु भनेको पेजहरू तुर्नु होइन, सामग्रीलाई आत्मसात् गर्नु हो।

(कुराकानीमा आधारित)


सौरभका प्रिय दर्जन किताब


१. पुलागुँ मे मुना- मानदास तुलाधर
२. डिक्सनरी अफ क्लासिकल नेवारी- नेपाल भाषा डिक्सनरी कमिटी
३. तङसिङ तक्मा मन्दुम- बैरागी काइँला÷राई मुन्दुम गायनतर्फ झुमा लिम्बूको 'खासाम'
४. महाभारत- ज्ञानमणि नेपाल
५. राईबाबासँग साक्षात्कार- गोविन्द टण्डन
६. देवकोटाका आनीबानी- घटराज भट्टराई
७. मुनामदन- लक्ष्मीप्रसाद देवकोटा
८. तरुण तपसी- लेखनाथ पौड्याल
९. दमनराज तुलाधर- दमनराज तुलाधर
१०. म रुँदै बिर्सन्छु- मदनमणि दीक्षित
११. सयरंगी घुम्टोभित्र हुम्ला-श्रीकृष्ण गौतम


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.