भटाभट मर्दैछन् अमेरिकाबाट ल्याएका बाख्राहरु

भटाभट मर्दैछन् अमेरिकाबाट ल्याएका बाख्राहरु

काठमाडौं: कुपोषणबाट ग्रस्त बालबालिका र गर्भवती महिलालाई पोषणयुक्त दूध खुवाउने उद्देश्यसहित अमेरिकाबाट आयात गरिएका सानन जातका बोका र पाठी भटाभट मर्न थालेका छन् । आयात गरिएका मध्ये १५ वटा बोका र पाठीको मृत्यु भइसकेको छ ।

हालसम्म चित्लाङको बाख्रा विकास फार्ममा ६ वटा र कृषि अनुसन्धान केन्द्र बन्दीपुरमा पाँचवटा पाठी मरिसकेका छन् । यस्तै चित्लाङमा चारवटा बोका पनि मरिसकेका छन् । चित्लाङमा पाँच बोका र १० पाठी, बन्दिपुरमा चार बोका र २० पाठी उपलब्ध गराइएको थियो ।

बाँकी बोका र पाठी डँडेल्धुराका विभिन्न किसान समूहलाई उपलब्ध गराइएको थियो । वर्षौअघि विभिन्न आयोजनाले यही जातका बोका र पाठी जुम्लालगायतका स्थानमा भित्र्याएको थियो । त्यस समयमा पनि सानन जातका बोका र पाठी नेपालको हावापानीमा घुलमिल हुन नसक्दा सबै मरेका थिए ।

पोसिलो दूध खुवाउन कृषि विकास मन्त्रालयले २०७१ पुस १८ गते अमेरिकाबाट सानन जातका १० महिना उमेरका २० बोका र ३० पाठी भित्र्याएको थियो । मन्त्रालयअन्तर्गतको कृषि तथा खाद्य सुरक्षा आयोजनाले अमेरिकन डेरी गट एसोसिएसनमार्फत एउटालाई दुई लाख रुपैयाँ तिरेर एक करोड रुपैयाँ बराबरका बोका र पाठी आयात गरेको थियो ।

एउटा बाख्राले दैनिक चार लिटरसम्म पोषिलो दूध दिने विशेषता भएको बाख्रा र बोका आयोजनाले भित्र्याएको थियो । पोषण सुरक्षामा सुधार ल्याउन गर्भवती महिला र दुई वर्ष मुनिका बालबालिका तथा तिनका आमालाई पौष्टिक आहारका रूपमा बाख्राको दूध खुवाउन जातका बाख्रा र बोका आयात गरिएको पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्याम पौडेलले जानकारी दिए ।

उनका अनुसार सानन जातको बोकासँग स्थानीय जातको खरी बाख्रा क्रस गराएर उत्पादन भएका पाठीबाट दूध उत्पादन गर्ने लक्ष्य राखिएको थियो । यसैगरी सानन जातकै पाठीसँग सोही जातका बोकासँग समागम गराएर उत्पादन हुने पाठी दूधका लागि र बोका पुनः अर्को क्रसका लागि राखिने योजना थियो ।

कृषि विकास मन्त्रालयले २०७१ पुस १८ गते अमेरिकाबाट सानन जातका १० महिना उमेरका २० बोका र ३० पाठी भित्र्याएको थियो ।

तर सानन जातका बोका र सोही बाख्राको समागमबाट उत्पादन भएका पाठापाठीको मृत्यु दर निक्कै बढी भएको पाइयो । चित्लाङ बाख्रा फार्मका अनुसार यसरी एउटै जातको समागमबाट उत्पादन भएका पाठापाठी पनि भटाभट मर्न लागेको छ । फार्मका अनुसार सुरुमा ०७२ जेठ महिना र अन्य महिनामा गरी सानन जातका ६ वटा बाख्रा मरेका थिए ।

त्यसपछि डायरिया लागेर साउन र भदौमा जन्मेका चा वटा पाठापाठी पनि मरेको पाइएको छ । यस्तै त्यस फार्मका सोही जातका आयातित चार बोका पनि मरेका छन् । साउन, भदौ, माघ र फागुन महिनाका जातका बोका र पाठी मरेको फार्मले जनाएको छ ।

फार्मका ती अधिकृतका अनुसार डायरियाबाट प्रभावित भएका बोका, बाख्रा र पाठापाठी दानापानी खान छोड्ने र दुईदेखि तीनदिन भित्रमै मर्ने गरेका छन् । ती अधिकृतले भने, ‘पर्याप्त परिमाणमा दूध दिने क्षमताको बाख्रा र उच्च नश्ल भएको बोका भनिए पनि व्यवहारमा भने त्यस्तो फेला परेन् ।'

बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रका प्रमुख वैज्ञानिक राजु कँडेलका अनुसार बन्दीपुरमा पनि उपलब्ध गराइएको २० वटा पाठीमध्ये पाँचवटाको मृत्यु भइसकेको छ । उपलब्ध गराइएको चार बोका र १५ वटा पाठी यथावतै रहेको कँडेलले अन्नपूर्णलाई जानकारी दिए ।

उनले पनि जुन उद्देश्य राखेर बोका र पाठी आयात गरिएको थियो त्यसअनुसारको क्षमता व्यवहारमा नदेखिएको जानकारी दिए । उनका अनुसार विशेष सर्तकता अपनाउन नसकिँदा सानन जातका बोका र पाठी मर्ने गरेका छन् । साना किसानले दूधका लागि गाई, भैंसी पाल्न नसक्ने भएकाले सरकारले दूधालु अमेरिकी बाख्रा आयात गरी किसानलाई वितरण गर्ने योजना बनाएको थियो ।

कृषि तथा खाद्य सुरक्षा आयोजनाका वरिष्ठ योजना अधिकृत सूर्यप्रसाद बरालले अमेरिकाबाट ल्याएर वितरण गरिएका सानन जातका बोका र पाठी मरेको घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.