प्राधिकरणले वर्षायाममा पनि लोडसेडिङ घटाएन

प्राधिकरणले वर्षायाममा पनि लोडसेडिङ घटाएन

काठमाडौँ: मागअनुसार विद्युत् उपलब्ध गराउन नसक्दा नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक छ घन्टा विद्युत्भार कटौती गर्दै आएको छ।

साँझको समयमा हाल दैनिक एक हजार ३०० मेगावाट विद्युत्को माग हुँदै आएको छ। दिउँसो माग घटेर सामान्य अवस्थामा पुगे पनि बिहान बेलुका भने माग अत्यधिक हुने गरेका कारण प्राधिकरणले लोडसेडिङ कटौतीको समय कम गर्न सकेको छैन।

हाल प्राधिकरणको भार प्रेषण केन्द्रमा भारतबाट आयात गरिएको समेत गरी कुल ७०८ मेगावाट विद्युत् उपलब्ध भइरहेको छ। भारतबाट हाल २२२ मेगावाट विद्युत् आयात भइरहेको छ।

भार प्रेषण केन्द्रका उपप्रबन्धक दीपक धितालका अनुसार कुल मागअनुसार विद्युत् उपलब्ध हुन नसक्दा विद्युत्भार कटौती कम गर्न सकिएको छैन।

भूकम्पबाट ध्वस्त भएको ४५ मेगावाट क्षमताको भोटेकोसी हाल पनि पूर्णरुपमा बन्द छ। आगामी पुससम्म आयोजना पुनःनिर्माण गर्ने लक्ष्य राखिएको भए पनि केही दिन पहिले आएको बाढीका कारण आयोजनाको बाँधमा सामान्य क्षति पुर्‍याएका कारण पछाडि धकेलिने अवस्था देखिएको छ।

यस्तै प्राधिकरणको सुनकोसी आयोजना पूर्णरुपमा बन्द भएको छ। १० मेगावाट विद्युत् उत्पादन हुँदै आएको भोटेकोसी बाढीका कारण बन्द गर्नुपरेको सुनकोसी जलविद्युत् केन्द्रका प्रमुख सुरज दाहालले जानकारी दिए।

यस्तै प्राधिकरणकै मोदी खोला जलविद्युत् आयोजनासमेत आधा क्षमतामा मात्रै सञ्चालनमा रहेको छ। आयोजनाको बाँध तथा विद्युत् गृह नजिकको पर्खालमा सामान्य समस्या आएका कारण सात मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए।

उनले पूर्ण क्षमतामा नै आयोजना चलाउन केही दिन लाग्ने बताए। आयोजना केही दिन बन्द हुँदा प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा विद्युत् आपूर्ति कम भएको थियो।

 

यस्तै निजी प्रवद्र्धकका केही जलविद्युत् आयोजनासमेत सञ्चालनमा आउन सकेका छैनन्। भूकम्पका कारण क्षतिग्रस्त मैलुङ जलविद्युत् आयोजना सञ्चालनमा आउन सकेको छैन।

चिलिमे जलविद्युत् आयोजनाका पूर्व प्रमुख डम्बरबहादुर नेपालीको संयोजनमा रहेको पाँच मेगावाट क्षमताको मैलुङ खोला आयोजना मर्मतको क्रममा रहेको छ।

पछिल्लो दिनमा बढेको बाढी पहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् आयोजना पूर्ण क्षमतामा चलाउनसमेत समस्या पैदा भएको छ। बाढी र पहिरोसँगै आउने बालुवा, ढुङ्गा माटो तथा काठका कारण विद्युत् उत्पादन गृहमा क्षति हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पूर्ण क्षमतामा नचलाइएको आयोजना प्रमुखहरुको भनाइ छ।

प्राधिकरणले प्रक्षेपण गरेको तथ्याङ्कलाई नै मान्ने हो भने आगामी हिउँदमा एक हजार ४२५ मेगावाट विद्युत्को माग हुनेछ। वर्षायाममा समेत पूर्ण क्षमतामा नचलेका आयोजना हिउँदमा पूर्ण क्षमतामा चल्छन् भन्ने अवस्था छैन।

सरकारले भारतबाट थप ३०० मेगावाट विद्युत् आयात गर्ने जनाएको छ। तर ढल्केबरमा सवस्टेसनको क्षमता कम हुँदा अपेक्षित विद्युत् आयात गर्न सहज नहुने अवस्था रहने नै छ। नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले भने ढल्केबरमा मोबाइल सवस्टेसन राखेरै भए पनि विद्युत् आयात गर्ने निर्णय गरेको छ।

यस्तै कुशाहा-कटैया, रक्सौल-परवानीपुरबाट थप ५०÷५० मेगावाट विद्युत् आयात गर्ने र हिउँदमा पनि विद्युत्भार कटौतीलाई छ घन्टामा सीमित राख्ने सरकारको योजना छ।

यस्तै निर्माणका क्रममा रहेका केही आयोजना सम्पन्न हुनेछन्। त्यसबाट थप १०० मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ। तर भूकम्पबाट क्षति भएका र निर्माणका क्रममा रहेका आयोजना पूरा नहुँदा भने विद्युत्भार कटौती कम गर्न प्राधिकरण असमर्थ नै रहने देखिन्छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.