नेपाल र लर्डसबीचको क्रिकेट हेर्न १६ वर्ष मुनिकालाई नि:शुल्क
काठमाडौँ: नेपाली क्रिकेट टोली र विश्वको सबैभन्दा पुरानो क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)बीचको खेल १६ वर्ष मुनिका बालबालिकाले नि:शुल्क हेर्न पाउने भएका छन् ।
क्रिकेटको मक्का मानिने इङ्ल्यान्डको लर्डस मैदानमा हुने प्रतियोगिता हेर्नका लागि १० युरो तिर्नुपर्ने छ । एमसीसी र नेपालबीच हुने एकदिवसीय खेलको ६५ ओभर मात्र हेर्नेले भने ५ युरो मात्र तिरे पुग्छ ।
लर्डसमै रहेको एमसीसीको निमन्त्रणामा नेपाली टोलीले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यसअघि एमसीसीले गत वर्ष नेपालमा आएर खेलेको थियो ।
एमसीसीसँग खेल्नुअघि नेपाली टोलीले इङ्ल्यान्डमा चारवटा अभ्यास खेल खेलिसकेको छ । चारै खेलमा जित निकाल्दै बेलायतमा चर्चा पाएको नेपाली टिमको खेलप्रति बेलायतमा चाँसो बढ्दै गएको छ ।
अभ्यास खेलमा नेपाली टोलीले फ्री फोरेस्टरलाई एक सय २९ रन (एकदिवसीय), इन्डियन जिमखानालाई २० रन (टीट्वेन्टी), क्लब क्रिकेट कन्फेरेन्स (सीसीसी) लाई चार विकेट (एकदिवसीय) र इस्टबोर्न सीसीलाई एक सय ८१ रन (एकदिवसीय) ले हराएको थियो ।
आइतबार राति इस्टबोनविरुद्ध भएको खेलमा नेपाली टोलीले उत्कृष्ट ब्याटिङ गरेको थियो । पहिला ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा तीन विकेट गुमाएर तीन सय रन जोडेको थियो ।
नेपाली टोलीको पालीमा अनिलकुमार मण्डलले ७३, विनोद भण्डारीले ७७, शरद भेषावकरले ६० र राजु रिजालले ६० रन बनाएका थिए ।
विनोद भण्डारीले ५३ बलमा १२ चौका प्रहार गरे । एक सय १० बल सामना गरेका अनिलले सात चौका हिर्काए ।
शरदले ५७ बलमा एक छक्का र ६ चौका तथा राजुले ६७ बलमा पाँच चौका हिर्काए । नेपालले आगामी अगस्ट १३ र १५ तारिखमा नेदरल्यान्ड्ससँग आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप पनि खेल्दैछ।
महत्वपूर्ण मानिएको उक्त खेलका लागि एमसीसीविरुद्धको भिडन्तलाई तयारीका रूपमा पनि लिइएको छ । अन्य दर्शकलाई पैसा लाग्ने भए पनि १६ वर्ष मुनिका बालबालिकाले भने नेपाल र एमसीसीबीचको खेल निशुल्क हेर्न पाउने छन् ।
नेपाल र एमसीसीबीचको खेल लर्डसको युटुयुब च्यानलबाट लाइभ हेर्न सकिने छ ।