सैनिक तालिम लिनथाले विद्यार्थी
इलाम: आदर्श उच्च माविको कक्षा १२ मा अध्ययनरत घनश्याम ढकाल मंगलबार बिहान विद्यालय पुग्दा कालो पोसाक लगाएका विद्यार्थी सैन्य तालिम लिइरहेका थिए । माहोल अलिक भिन्न थियो ।
मुलुकका माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका छात्रछात्रालाई अनुशासित र स्वयंसेवी दस्ता तयार गर्न यस्तो तालिम सुरु गरिएको हो । त्यही दस्ता बनाउन आदर्शका ७२ जना विद्यार्थीलाई तालिम दिन सुरु गरेको कालीध्वज गणका गणपति प्रकाश न्यौपाने बताए ।
तालिममा नेतृत्व विकास, बफादारिता र राष्ट्रिय एकता सम्बन्धी ज्ञान दिई प्राकृतिक प्रकोपको अवस्थामा परिचालित हुन स्वयंसेवक युवा दस्ता तयार गर्न र राष्ट्रसेवाका लागि विभिन्न निकायमा जिम्मेवार रूपले कार्य गर्न सक्ने सक्षम नागरिक बनाउने लक्ष्य रहेको न्यौपानेले बताए ।
अहिले ३८ जिल्लाका करिब तीन हजार विद्यार्थीलाई तालिम दिने योजना रहेको छ । मेचीका ताप्लेजुङबाहेका झापा र पाँचथरमा ३२/३२ जना विद्यार्थीलाई पनि तालिममा सहभागी गराएको न्यौपानेले बताए ।
इलाममा जुनियर डिभिजनतर्फका ३६ पुरुष र ३६ महिला गरी ७२ जना क्याडेट छात्रछात्राको सहभागिता रहेको छ । कक्षा ८ र ९ का विद्यार्थीलाई सहभागी गराई तालिमको प्रथम प्रवचन आइतबार सुरु गरिएको हो ।
विद्यालयका सम्पर्क शिक्षक जीवन सुवेदीका अनुसार एक सय दिन अवधिको उक्त तालिमअन्तर्गत स्थान विशेषमा ७९ दिन र वार्षिक सामूहिक क्याम्प २१ दिन सञ्चालन गरिने छ । ७९ दिन इलामका विभिन्न स्थानमा तालिम सञ्चालन हुने र २१ दिन मोरङको याङसिलामा सामूहिक तालिमको आयोजना गरिने न्यौपानेले बताए ।
स्थान विशेषमा सञ्चालन हुने ७९ दिनको संस्थागत तालिममा शारीरिक ब्यायाम, मास पीटी, तेक्वान्दो, बक्सिङ, खाली हात ड्रिल, खुकुरी ड्रिल, सेरोमोनियल ड्रिल, सैनिक कला, फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, कम्पास जीपीएस, साहसिक तालिम सञ्चालन गरिने छन् ।
उक्त तालिमअन्तर्गत मोरङको याङसिलामा २१ दिनको क्याम्पमा अतिथि भाषणकला, नेतृत्व विकास, व्यक्तित्व विकास, स्वप्रवद्र्धन, राष्ट्रिय एकता, ट्राफिक सचेतना, चेलिबेटी बेचबिखन तथा लागू पदार्थ दुब्र्यसन र महिला तथा बालअधिकार संरक्षण सम्बन्धी तालिम दिइने न्यौपानेले जानकारी दिए ।