म्यारिज एनिभर्सरीः फेसन कि अवसर

म्यारिज एनिभर्सरीः फेसन कि अवसर

काठमाडौँ: ७५ वर्षीय भरतप्रसाद घिमिरे र ७० वर्षीया बिन्दु घिमिरेले असारको पहिलो साता धूमधामले विवाह गरे।

रातो सारीमा सजिएकी बिन्दुलाई लिन जन्तीसहित लम्केका भरतले पोते लगाइदिएर आफ्नो बनाए। दौरासुरुवाल र कोटमा ठाँटिएर आएका भरतलाई बरमाला पहिर्याएर बिन्दुले पनि आफ्नो बर चुनिन्।

दुवैले औंठी साटासाट गरेर जीवनभरि यसैगरी प्रेम गर्ने वाचा गरे। उनीहरू एकअर्कालाई जीवनसाथीका रूपमा पहिलोपटक भने चुन्दै थिएनन्। जीवनका ५० वसन्त सँगै बिताएको यो जोडीले विवाहको ५०औं वर्षगाँठ मनाइरहेको थियो।

५० वर्षअगाडि यसैगरी ललितपुरको गोदावरीबाट बालाजुकी बिन्दुलाई लिन गएको क्षण भरतले झलझली सम्झे। जीवनका आरोह अवरोहमा सहयात्रा गरेको यो जोडीलाई ५०औं वर्षगाँठले विवाहका सुन्दर यादहरू ताजा बनाइदियो। छोराहरूले घेरिएर बसिरहेकी बिन्दुलाई बुहारी र नातिनीहरूसहित जन्ती लिएर भरतले लिन गएको दृश्य असाध्यै रोचक थियो।

नक्सालस्थित नक्साल ब्यांक्वेटमा सम्पन्न विवाह कार्यक्रममा दुवैतर्फका आफन्त उपस्थित थिए। छोराबुहारी र आफन्तले ढोगभेट गरेर विधिपूर्वक विवाह सम्पन्न गरे। बुढेसकालमा विवाहको याद धूमिल हुँदै गएका बेला यस्तो माहोलले भरत र बिन्दुको जीवनमा असाध्यै खुसी थपिदिएको थियो।

भरतले भने, ‘५० वर्षअघि उनलाई लिन गएको दिनको याद आयो, यो उमेरमा आएर सबैको शुभकामना पाउँदा साह्रै खुसी लाग्यो।’ छोराबुहारी र नातिनातिनीले अभिभावक जोडीका लागि ‘सरप्राइज’ पार्टी आयोजना गरेका थिए।

नेपालकी पहिलो महिला सरोदवादक रूपा न्यौपाने र मीननाथ न्यौपानेको विवाह भएको ३६ वर्ष बित्यो। १२ वर्षको उमेरमा विवाह गरेकी रूपालाई त्यति बेला विवाहको अर्थ नै थाहा थिएन। तर २५औं वर्षगाँठमा उनले आफ्नो धोको पुयाइन्।

जोडीले नै कमाउन थालेदेखि विवाहको वर्षगाँठका लागि भनेर रकम छुट्याएका थिए। रूपाले आफ्नै रोजाइको नयाँ सारी, घुम्टो किनेर विवाहको रमाइलो महसुस गरिन्। आफन्त र लमीलाई समेत बोलाएर होटल अन्नपूर्णमा धूमधामले विवाह गरेको यो जोडीलाई आफूहरू नयाँ बेहुलाबेहुलीजस्तै लागेको थियो। रूपाले भनिन्, ‘पहिले बिहेको बारेमा थाहै नपाई बेहुली भएँ, एनिभर्सरीमा मात्र बिहेको दौडधुप र रमाइलो वातावरण अनुभव गर्न पाएँ।’

जापानमा व्यवसाय गर्दै आएका दम्पती नवराज थापा र अनन्ता खड्का थापाले पनि असार महिनामै विवाहको २५औं वर्षगाँठ धूमधामले मनाए। यही कार्यक्रमका लागि नेपाल आएका उनीहरूले एकअर्कालाई माला लगाइदिएर केक काटे। त्यस क्रममा उनीहरूले आफ्नो लामो सहयात्राको खुसी साटे। विवाहको लगन भएका महिनामा सामाजिक सञ्जालका भित्ताभरि जोडीहरूले विवाहको वर्षगाँठको खुसीसँगै एकअर्कालाई शुभकामना व्यक्त गरेका थिए।

एक हिसाबले फेसनको रूपमा विकास भइरहेको यो संस्कृतिले भड्किलोपना पनि देखाएको छ। तर, जीवनको २५, ५० वर्ष सँगै बिताएको जोडीलाई यो अवसर खुसी साट्ने मौका पनि हो। पुरानो धूमिल स्मृति ताजा पार्ने अवसर हो।

नेपाली संस्कृतिमा विवाहको वर्षगाँठमा विवाह भएको दिनलाई सम्झिएर मठमन्दिर जाने, पूजाआजा गर्ने चलन थियो। तर, भोजभतेर गरेर वर्षगाँठ मनाउने चलन पाश्चात्य संस्कृतिको प्रभाव भएको संस्कृतिविद् गोविन्द टण्डन बताउँछन्। उनले भने, ‘बुढ्यौली विवाहजस्तै देखिएको छ, सहरी क्षेत्रका नेपालीमा पुगिसरी आएको छ, आर्थिक अवस्था सुध्रिँदै गएको देखिन्छ।’

आफ्नो गक्ष्यअनुसार कार्यक्रम गर्नेलाई यो सुखको क्षण हो भने देखासिकी गर्नेका लागि दुःखको। हरेक वर्ष कार्यक्रम आयोजना गर्ने, उपहार आदानप्रदान गर्ने चलनले तडकभडक बढाएको छ। विवाहको वर्षगाँठलाई सम्पत्ति देखाउने मौकाभन्दा खुसी साट्ने मौकाका रूपमा मात्रै लिने हो भने जीवनका बाँकी वर्ष सुन्दर क्षणका रूपमा बिताउन मद्दत पुग्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.