किन सँधै सम्झिनु पर्ने

किन सँधै सम्झिनु पर्ने

‘प्रजातन्त्र वडो सन्तुलित, विरोधीको पनि कुरा सुन्ने सहनसील, कुरा सुन्ने मात्र हैन उनीहरूको कुरा ठीक छ भने हो पनि भन्ने पद्धति हो– बीपी कोइराला

नेपाली राजनीतिका सर्वाधिक अग्ला, बहुआयामिक र सम्मानित व्यक्तित्व बीपी कोइरालाको ३४ औं स्मृति दिवस हो आज । आजभन्दा संसारमा जन्मने कुनै पनि मानिसको जन्मको तब मात्र सार्थकता रहन्छ, जब उसले बाँचेको जीवन आफ्ना लागि मात्र नभएर मानव समुदायका निमित्त समर्पित गरेको हुन्छ ।

आजसम्म संसारमा अरबौं मानिस जन्मे र मरे, तर न उनीहरूको जन्मको चर्चा भयो न त मृत्युको । यही संसारमा केही यस्ता मानिसहरू पनि जन्मे, जसलाई मानव समाज र सभ्यताले युगयुगसम्म सम्झिरहनेछ । गान्धी, मन्डेला, लिंकन, आइन्स्टाइन, शेक्सपियर, गौतम बुद्ध आदि त्यस्ता दृष्टान्त हुन् जसले आफ्नो मृत्युपूर्व संसारलाई केही न केही अमूल्य योगदान गरे ।

यस्ता महान व्यक्तित्वका बारेमा सम्भवत यो संसार रहेसम्म चर्चा परिचर्चा चलिरहनेछ । एसिया, अफ्रिका, युरोप, अमेरिका चाहे जुनसुकै भूगोल होस्, मानव जाति र समुदायका निम्ति महत्त्वपूर्ण योगदान गर्ने व्यक्तिहरूको सदैव उच्च सम्मान रहेको हुन्छ । राजनीति, साहित्य, विज्ञान वा समाजसेवा जुनसुकै माध्यमबाट होस्, परिवर्तन, सुधार र अग्रगतिको नेतृत्व गर्ने त्यस्ता महामानवको सम्झना गर्नु मानव जातिको कर्तव्य पनि हो ।

संसारले त्यस्ता मूर्धन्य व्यक्तित्व पैदा नगरेको भए सम्भवतः मानव समाज आजको अवस्थासम्म आइपुग्ने थिएन । हामीले प्राप्त गरेका उपलब्धि र ऐश्वर्यका कारण रहेका तिनै अदभूत व्यक्तित्व जसलाई हामी उनीहरूको जन्म वा स्मृति दिवसका अवसरमा स्मरण गर्ने गर्दछौं ।

जननायक बीपीको विषयमा पर्याप्त चर्चा र बहस भएका छन् । ग्रन्थहरू पनि लेखिएका छन् । को थिए त बीपी ? जहानिया निरंकुश राणाशासनको घनघोर कालरात्रीमा बीपी जन्मे । आफ्नै बुद्धि र योग्यताले भौतिक र पारिवारिक सुखमा रमाइरहेका कृष्णप्रसाद कोइरालाले राणाले दास बनाइएका नेपाली जनताको दुःखलाई नजिकैबाट नियाल्ने अवसर पाएका थिए । एउटा सफल व्यापारी र किसान पनि भएकाले कृष्णप्रसादको तत्कालीन राणा शासकसँग राम्रै सम्बन्ध थियो ।

आफ्नो सम्बन्धको सुविधालाई उपयोग गर्दै पिताजी कोइरालाले गरिब नेपालीले लगाएको भाङ्ग्रो र टोपी राणाको दरबारमा पठाए । यसको उद्देश्य जनताको कारुणिक तस्बिर शासकसमक्ष प्रस्तुत गर्नु थियो । प्रतिफलस्वरुप शासन व्यवस्थामा सुधारको अपेक्षा थियो । तर यसको विपरीत विवेकहीन राणा शासकले यसलाई आफ्नो अपमान ठाने र कोइराला परिवारको सर्वस्वहरण गरे ।

योभन्दा चरम शासकीय विवेकहीनता र दुव्र्यवहार अर्को हुन सक्दैनथ्यो । इतिहासको यही घटनाले कोइराला परिवारको जीवनमा नयाँ मोड लियो र नेपाली राजनीतिमा अभूतपूर्व चरण सुरु भयो । दुःख, संघर्ष, अपमान र अभाव कोइरालाहरूको जीवनका अभिन्न संगी र दैनिकी भए । दुःख र संघर्षको यही सागरमा निरन्तर पौडिएर निर्माण भएको व्यक्तित्व हो बीपी कोइराला ।

 

नेपालमा राणाशासन समाप्तिको संघर्षमा लाग्नुअघि भारतीय स्वतन्त्रता संग्राममा होमिएका बीपी लगभग ८ कक्षा पढ्दाको उमेरदेखि नै राजनीतिमा संलग्न थिए । आफ्ना पितालाई राणाहरूले दिएको यातना र निरन्तर गरेको दुव्र्यवहार बीपीको मानसपटलमा सुरक्षित थियो । बिसं. २००१ मा जेल जीवनकै क्रममा कृष्णप्रसाद कोइरालाको निधन भयो ।

तर आफ्नाप्रतिको राणाहरूको बैरभाव र व्यवहार मात्र हैन, बीपीमा विस्तारै विकसित हुँदै गएको राजनीतिक चेतनाका कारण नेपालको शासन व्यवस्था नै फेर्ने अठोट र संकल्प जागृत भएको थियो । यसका निम्ति भारतमा जरा गाडेर बसेको बेलायती साम्राज्यलाई समाप्त गर्नु अत्यावश्यक थियो । नेपालमा राणाहरू बेलायती आशीर्वादमा नै टिकेका थिए । समयक्रममा भारतमा बेलायती साम्राज्यको पतन भयो ।

तत्पश्चात बीपीले नेपालबाट राणाशासन उखेल्न आफ्नो सम्पूर्ण प्रयत्न लगाए । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस हुँदै नेपाली कांग्रेसको स्थापना भयो । राणाशासन विरुद्धमा सोच्नसम्म नसकिने प्रतिकुल समयमा राजनीतिक दल नै स्थापना गरेर अन्ततः जनक्रान्तिको माध्यमबाट प्रजातन्त्रको स्थापना भयो । बीपीको जीवनको एउटा महत्त्वपूर्ण अध्याय थियो त्यो ।

नेपालमा प्रजातन्त्र स्थापना गर्नमा बीपीको जीवनमा भारतीय स्वतन्त्रता संग्रामका अतिरिक्त नेपाल प्रजा परिषद् स्थापना गरेर राणाविरोधी गतिविधि सञ्चालन गर्ने चार सहिदको बलिदानको पनि प्रत्यक्ष प्रभाव थियो । आफूलाई दैवी अवतार ठान्ने राणाशासकको अन्त्यको परिकल्पना गर्ने नेपाल आमाका वीर सपुतको सहादतले बीपीजस्तो क्रान्तिकारी तरुणलाई प्रभाव नपार्ने प्रश्नै थिएन ।

जनतालाई सुखी र अधिकार सम्पन्न बनाउन, राष्ट्रलाई समृद्ध बनाउन, नेपाल र नेपालीको नाम र प्रतिष्ठालाई उच्च राख्न एउटै अठोट र संकल्प बोकेर आजीवन समर्पित भए बीपी ।

त्यसैले उनले आफ्नो सम्पूर्ण जीवन देश, जनता र प्रजातन्त्रका निम्ति समर्पण गर्ने निर्णय गरे । सम्भवत दुनियाका अपवादका राजनीतिक दृष्टान्तमा पर्दछ २००७ सालको जनक्रान्ति । ३५ वर्षे तरुणको विचारको प्रकाशमा अलोकित र सम्पादित क्रान्ति हो त्यो । संसारमा त्यति चाँडै सुरु भएर चाँडै अन्त्य भएको क्रान्ति अन्यत्र कहिँ छैन । अमेरिकी स्वतन्त्रता संग्राम, दक्षिण अफ्रिकी संघर्ष या भारतीय आजादीको कथा निकै लामो छ ।

ती संघर्षमा सामेल नेताहरूको व्यक्तित्वको पक्ष फरक छ । बीपी मात्र होइन त्यतिबेलाका नेताहरू मातृकाप्रसाद कोइराला र सुर्वणशमशेर समेतलाई हेर्दा कसैले पनि ४० वर्ष नाघेका थिएनन् । गणेशमानजी, किसुनजी सबै बीपी भन्दा कम उमेरकै थिए । बीपीको विचार, योजना र साहसिक गतिविधिकै कारण १०४ वर्ष लामो निक्कै शक्तिशाली मानिएको शासन व्यवस्थालाई एउटा युवा टोलीले अपदस्थ गर्न सफल भयो । यसको प्रमुख कारण बीपीको नेतृत्व क्षमता र जनविश्वास नै थियो ।

बीपीलाई साहित्यिक जगत्ले विश्वेश्वरप्रसाद कोइरालाको नामले चिन्दछ । राजनीतिमा बीपी र साहित्यमा विश्वेश्वर । नेपालको साहित्य क्षेत्रमा बीपीको बेग्लै पहिचान र उचाइ छ । राजनीति र साहित्यलाई समानान्तर रूपमा अघि बढाउने अपवादका व्यक्ति हुन् बीपी । जीवनमा विरलै अनुकुलता र सहजताको अनुभूति गर्न पाएका उनले कसरी लेख्न सके यतिविधि साहित्य ? आश्चर्यको विषय हो यो । सर्वश्वहरणसहित प्रवास, भारतीय जेल जीवन, नेपालको जेल जीवन, पुनः प्रवास, क्यान्सरजस्तो घातक रोग र व्यस्त राजनीतिक जीवनको चपेटामा कसरी सम्भव भयो लेखन ?

औसत मानिसको क्षमताले यति धेरै रचनात्मक कार्य गर्न सक्दैन । तर बीपी त्यस्ता व्यक्ति थिए जसले राजनीति सँगसँगै साहित्यमा समेत उत्तिकै अग्लो व्यक्तित्व निर्माण गरे । यदि उनी राजनीतिज्ञ नभएका भएसमेत उनको साहित्यक व्यक्तित्व पक्कै कमजोर हुने थिएन । सम्भवतः पर्याप्त समय पाएर साहित्यिक जगत्मा अझ बढी योगदान पुग्ने थियो ।

यसबाट के प्रष्ट हुन्छ भने बीपी एउटा त्यस्तो बहुमुखी प्रतिभाको पुन्ज हो जसको सही सदुपयोग राष्ट्र, नेपाली समाज र सिंगो मानव जातिले गर्नै सकेन । तत्कालिन शासन व्यवस्थाका आँखाका कसिंगर बीपीको सिर्जनशीलता र उच्च आत्मविश्वासको प्रतिफलस्वरुप नै नेपाली साहित्यको भण्डारमा झण्डै दुई दर्जन कृति थपिन पुगे । सुम्निमा जस्तो विश्व साहित्यको स्तरमा गणना गर्न मिल्ने कालजयी कृति बीपीको उत्कृष्ट रचना मान्न सकिन्छ । यसबाट बीपीको विराट व्यक्तित्वको झलक पाइन्छ ।

मानव समाजमा विरलै पैदा हुने बीपी जस्ता महान व्यक्तित्वको स्मरण गर्दा हामीले बिर्सन नहुने पक्ष के हो भने मान्छेले आफ्नो जन्मको तात्पर्यलाई बुझ्न सक्नुपर्छ । जसले जन्मको उपादेयतालाई बुझ्यो उसको जीवन बास्तवमै सफल हुन्छ ।
बीपीले आफ्नो जन्मको कारण थाहा पाए, त्यसैले आफूलाई मूलतः राजनीतिक क्षेत्रमा समर्पित गरे, समय मिल्नासाथ कलम चलाए । वैयक्तिक स्वार्थमा लिप्त मान्छेले जतिसुकै ठूलो पद या ऐश्वर्य प्राप्त गरेपनि त्यो निरर्थक हुन्छ । जबसम्म उसको सफलता सार्वजनिक हितमा जोडिँदैन ।

राजा, राष्ट्रपति, प्रधानमन्त्री, नेता जे भएपनि उसका सम्पूर्ण क्रियाकलाप मानव समाजको कल्याणमा केन्द्रित हुनुपर्छ । अन्यथा उसका प्राप्तिहरूको कुनै सार्थकता रहँदैन । निजी सुखका लागि अथाह सम्पत्ति कमाएका मानिसहरूले समेत आफ्नो जीवनलाई सार्थक तुल्याउन आफ्नो धनलाई सार्वजनिक हितमा लगाएका छन् । त्यस्ता व्यक्तिहरूलाई मात्र मानव सभ्यताले सदैव सम्मान र स्मरण गरेको छ ।

बीपी नेपाल र नेपालीका त्यस्ता अनमोल रत्न हुन, जसले आफ्नो वैयक्तिक स्वार्थ र निजी सपनाको दाहससंस्कार गरे । देश, जनता र प्रजातन्त्रको निम्ति आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । राणा, राजा र पञ्चायती व्यवस्थासँग पालैपालो संघर्ष गरे आखिर केका निम्ति र कसका निम्ति ?

जनतालाई सुखी र अधिकार सम्पन्न बनाउन, राष्ट्रलाई समृद्ध बनाउन, नेपाल र नेपालीको नाम र प्रतिष्ठालाई उच्च राख्न एउटै अठोट र संकल्प बोकेर आजीवन समर्पित भए । त्यस्ता महान् व्यक्तित्व बीपीलाई आजको तिथीमा स्मरण गर्नु र उनले दखाएको बाटोमा हिँड्नु सबै नेपालीको कर्तव्य हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.