श्री ८ हरूको बिगबिगीबाट उदासीन जनता

श्री ८ हरूको बिगबिगीबाट उदासीन जनता

राजनीतिक अस्थिरताले संविधानलाई अल्पायु बनाएको छ या संविधानको अपूर्णताले राजनीतिक अस्थिरता जन्माएको हो ? नेपालमा यो बहस बीचबीचमा हुने गर्छ । तर संविधानले या संविधानवादले जिम्मेवारीमा रहेका पात्रहरूबाट तदनुकुलको आचरण र व्यवहार पनि अपेक्षा राख्छ भन्ने मान्यतालाई आत्मसात नगर्दा अक्सर संविधान निसहाय कागजी खोस्टोमा विसर्जन हुन पुग्छ । कम से कम नेपालको भोगाइ र अनुभव यही छ ।

श्री ३ पद्मशमशेरको प्रयासदेखि अभ्यास गरिएको संविधानवाद बाह्रबुँदेका हस्ताक्षरकर्ता श्री ८ हरूको समयमा अर्थात् पहिलो प्रयासको झन्डै सात दसकपछि किन अराजकताको कुइरोमा हराउँदै गएको छ त ? संविधानवादको अवसानमा रमाउने कि त्यो बाक्लो कुइरोलाई सदाको लागि हटाउने वातावरण बनाउने ? यी दुई विकल्पमध्ये एक रोज्नुपर्ने र तदनुसारको गन्तव्यमा पुग्न नेताहरूलाई जवाफदेही बनाउनु आजको आवश्यकता हो ।

अहिले उत्पन्न परिस्थितिमा हामीले केपी ओलीको सरकार सदनमा पराजित होला कि बच्ला ? पराजित भएपछि उनी नै कामचलाउ प्रधानमन्त्री रहलान् या उनको विकल्पका रूपमा प्रस्तुत गरिएका पुष्पकमल दाहाल चुनिएलान् ? यो अर्थहीन विषयमा मात्र हामीले ध्यान केन्द्रित गर्‌यौँ अर्थात् टालटुले समाधान खोज्यौँ भने फेरि दुई महिनापछि अर्को समीकरणअन्तर्गत नयाँ विकल्पको खोजी हुनेछ ।

प्रधानमन्त्रीकै खोजीमा यस मुलुकका समस्त सम्भावना, स्रोत र समय खर्च हुनेछ । नेपाल र नेपालीहरूलाई अस्थायी र अल्पकालीन सत्ता निर्माणको अन्त्यहीन शृंखलामा फसाउनुलाई नै आफ्नो सफलता र विजय मान्ने प्रवृत्ति देखा परेको छ, यी ८ हरूमा । किनकि उनीहरूको लगाम, उनीहरूको विवेक र मुलुकप्रतिको वफादारीबाट नियन्त्रित छैन ।

राजा महेन्द्रको सम्बन्ध सुमधुर हुन सकेन राजनीतिक दलका नेताहरूसँग, खासगरी नेपाली कांग्रेसका नेता बीपी कोइरालासँग । भारतीय भूमिबाट ‘सशस्त्र क्रान्ति' को असफल प्रयास र धम्की दोहोरिँदा त्यो सम्बन्ध बढी तीक्त र अविश्वसनीय हुन पुग्यो । महेन्द्र विकासप्रेमी, राष्ट्रियताका पक्षधर र निम्नस्तरका जनताको लागि सोच राख्ने राजनेता थिए ।

पूर्व–पश्चिम राजमार्ग, अन्तर्राष्ट्रिय जगत् सार्वभौम र स्वतन्त्र राष्ट्रका रूपमा मुलुकको प्रवेश, भूमि सुधार कार्यान्वयन (सीमित रूपमै भए पनि), छुवाछूत उन्मूलन र वैकल्पिक ऊर्जा उत्पादन प्रयासले उनलाई समकालीन विश्व नेताहरूको हाराहारीमा उभ्याउँछ । महेन्द्रको राष्ट्रवाद भारत विरोधमा सीमित थियो भन्ने एकथरीहरू अहिले स्वयं नै उग्र भारत विरोधमा लागेका छन्, यद्यपि त्यो अकारण हैन ।

 

भारत विरोध मात्र महेन्द्र राष्ट्रवादको समग्र स्वरूप थियो भन्नु उनीप्रति मात्र हैन, राष्ट्रिय स्वतन्त्रता र सम्मानप्रति समर्पित एउटा राजननेतामाथि अन्याय हुनेछ । त्यति हुँदाहुँदै पनि नेपालको सार्वभौम हैसियत र स्वतन्त्रता आन्तरिक कलहका कारण त्यसबेला खतरामा नपर्नुको एउटा मुख्य कारण थियो । राजा महेन्द्रसँग मतभेद भए पनि नेपाली कांग्रेस र अन्य दलका उच्च नेतृत्व तहमा राष्ट्रप्रति र नेपालको सार्वभौम हैसियतप्रति प्रतिबद्धता र वफादारी थियो ।

उनको राजनीतिक रोजाइ (०१७ सालको कदमलगायत) सम्भवतः एउटा अल्पकालीन अभ्यास या प्रयास थियो भन्ने केही संकेत युवराज गौतमलाई हात लागेको राजा महेन्द्रका डायरीबाट प्राप्त भएका छन् । तर त्योभन्दा महत्त्वपूर्ण कुरा उनले बेलायती विज्ञमार्फत तयार गरेको २०१९ को संविधानमा गरेको ‘स्वतन्त्र' न्यायपालिकाको व्यवस्था दक्ष प्रशासनिक संयन्त्र र कूटनीतिक जिम्मेवारीमा छानिएका व्यक्तिहरूको स्तरीयताले उनी निजी स्वार्थबाट निर्देशित ‘तानाशाह' थिए भन्नै मिल्दैन ।

आखिर प्रजातन्त्र क्रमिक विकासको गतिबाट स्थापित हुँदै जान्छ र त्यो विकासको गति र दिशा नेतृत्व (त्यसमा प्रतिपक्ष पनि पर्दछ) को निर्णय र चरित्रबाट निर्देशित हुन्छ । राजा महेन्द्रले प्रतिबन्धित दलहरूलाई फेरि राजनीतिमा ल्याउन तयार गरेको र महान्यायाधिवक्ता शम्भुप्रसाद ज्ञवालीलाई बुझाएको भनिएको मस्यौदाले व्यावहारिक रूप लिन सकेन । किनकि प्रस्तावित मितिभन्दा करिब एक महिनापहिल्यै अल्पायुमा उनको निधन भयो ।

प्रधानमन्त्रीले तथ्यगत विवरण जनतासमक्ष राख्ने साहस गरे भने राजा महेन्द्रपछिका साहसी र राष्ट्रवादी नेताका रूपमा पक्कै पनि भावी इतिहासले उनलाई स्मरण र सम्मानित गर्नेछ ।

तर त्यो अवस्थामा र सम्भवतः उनका केही निम्नवर्गीय तथा विकासपक्षीय नीतिका कारण कम्युनिस्टहरूको ठूलो हिस्साले ‘अन्तर्राष्ट्रियवादबाट ओर्लेर नेपाली राष्ट्रवाद अँगाल्यो । त्यसले पछिसम्म पनि निरन्तरता पायो । चीनले त्यसलाई सरायो । पुष्पलालका सहयोगी ओमराज कोइराला मदन भण्डारीलाई ‘कम्युनिस्ट पार्टी' बाट ‘साम्यवाद' को सम्बन्ध–विच्छेद गराई ‘जबज' मार्फत प्रजातन्त्र र राष्ट्रवादबीच नीतिगत नाता जोडेको श्रेय दिन्छन् ।

कांग्रेसका आमूल परिवर्तन पक्षधर विमलेन्द्र निधि केपी ओलीलाई पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गरेको आरोप लगाउँदै छन् । अहिलेको विकृत संविधान र संवैधानिक व्यवहार कताबाट निर्देशित छ, त्यो निधिले नबोले पनि सामान्य चेतना भएका नेपाली नागरिकले बुझेका छन् । त्यसैले अहिलेको संसद्भित्रको टक्करमा धेरै विषयहरू उठ्नेछन्, उठनैपर्छ र नेपाली जनताले ०६३ यताका राजनीतिक विचलनका कारकतत्व र शक्ति र प्रवृत्तिबारे पनि बुझ्नैपर्छ ।

न्यायपालिकालाई कसरी दलीय नियन्त्रणमा ल्याइएको छ, कसरी कुपरम्परा स्थापित गरेर संविधानबाट संविधानवादलाई असान्दर्भिक तुल्याइएको छ र कसरी श्री ८ हरूले नेपाली सार्वभौम क्षेत्राधिकारबाट राजनीतिको ताला+चावी सीमापारि पुर्‌याएर महत्त्वपूर्ण निर्णयमा जनतालाई बाहेक गरेका छन्, ती सबै विषयमा सदन प्रवेश गर्नैपर्छ । ओलीले यी विषयमा तथ्यगत विवरण जनतासमक्ष राख्ने साहस गरे भने राजा महेन्द्रपछिका साहसी र राष्ट्रवादी नेताका रूपमा पक्कै पनि भावी इतिहासले उनलाई स्मरण र सम्मानित गर्नेछ ।

०४७ को संविधानलाई विधिविहीन तरिकाबाट फ्याँक्ने पात्रहरू नेपाली जनतासँग जोडिएका छन् कि सीमापारिका शक्तिहरूसँग ? संविधानभन्दा माथि बाहिरबाट निर्देशन लिन तयार दल र नेताहरूलाई स्थापित गरियो ०६३ पछि ? ०४७ सालको संविधान फ्याँक्नुको पछाडिको मुख्य उद्देश्य त्यही थियो ।

यी समग्र प्रकरणमा गई यसको जवाफदेही निर्धारण गर्ने बेला बल्ल अब आएको छ । जवाफ दिनैपर्ने बाध्यता नेताहरू अर्थात् श्री ८ हरूसमक्ष उपस्थित भएको छ । यो परिस्थिति र संकटलाई प्रधानमन्त्री ओलीको विकल्प खोजीको सीमित अभ्यासका रूपमा मात्र हेरिनु हुँदैन । संविधानवाद हैन श्री ८ हरूले चालेका गलत अभ्यासलाई पूर्व दृष्टान्तकै रूपमा भावी नयाँ कार्यकारी प्रमुख संसदले छान्यो भने यो संसदको अनि उसले चुनेको नयाँ प्रधानमन्त्री र नेपालको संविधान २०७२ को सामूहिक र विधिवत् मृत्यु सावित हुनेछ । को कसको सती गयो, तर गर्नुको औचित्य रहने छैन ।

अर्को शब्दमा श्री ८ बाट संविधानवाद माथि भएका नियोजित र निर्देशित ‘षड्यन्त्र' लाई अब ढिलाइ नगरी अस्वीकार गर्नु जरुरी छ । अनि मात्र संविधानवाद अँगाल्ने प्रयास सही ‘ट्र्याक' मा अगाडि बढ्नेछ र त्यसको लागि व्यापक सहमति र राष्ट्रिय मेलमिलापको मार्गप्रशस्त हुनेछ ।

१. ०६५ वैशाखको (पहिलो) संविधान सभा निर्वाचनपछि प्रधानमन्त्रीको रूपमा गिरिजाप्रसाद कोइरालाको निरन्तरता (पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुपूर्वका तीन महिना) असंवैधानिक थियो । त्यो सरकारको सदनभित्रको उपस्थिति असंवैधानिक थियो, संविधानवादमा आधारित थिएन । त्यसको ‘करेक्सन' हुनैपर्छ ।

२. दुई–दुई ठाउँबाट पराजित माधवकुमार नेपाललाई चोर बाटोबाट प्रतिनिधिसभामा छिराउनु नैतिक रूपले गल्ती थियो र सम्भवतः त्यसलाई संविधानले सुधार्न नसक्ला । तर त्यो दबाबको स्रोत र नेताहरूको निरिहताको कारण के थियो, अहिले बाहिर आउनु जरुरी छ । त्यससँगै ‘कामचलाउ' प्रधानमन्त्रीको रूपमा ६ महिनाभन्दा बढी पदमा रहनु र बाबुराम भट्टराईले माधव नेपालको त्यो संविधानवादविरोधी आचरणलाई निरन्तरता दिनुमा केही अन्तरसम्बन्ध थियो कि थिएन ? बहसको विषय बन्नुपर्छ ।

३.भट्टराईले किन आफू प्रधानमन्त्री नरहे अर्को राजनीतिज्ञ बन्न नहुने अडान राखे ? कसको आडमा ? नेपाली जनताको थाहा पाउने अधिकारलाई यो संसद्ले सम्मान गर्ने आँट देखाउला ?

यसै प्रसंगको अन्त्यमा प्रधानन्यायाधीशका रूपमा खिलराज रेग्मीले पहिलो संविधानसभालाई २०७१ ‘चैत मसान्त' को आयु किन कोरे ? उनलाई प्रधानमन्त्री बनाउने खेल र त्यो निर्णयबीचको अन्तरसम्बन्ध के ? आखिर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रधानन्यायाधीश र प्रधानमन्त्री निवासबीचको पर्खाल ढलेको हैन र ?

त्यसको कुपरिणाम अहिले न्यायापालिकाले त भोगी नै रहेको छ तर नेपालको राजनीति र हाम्रो सर्वोच्च नेतृत्व समेत कसरी, कोबाट र कहाँबाट सञ्चालित भएका रहेछन् भन्ने तथ्य स्विकार्दै, आत्मालोचनामार्फत नेताहरूले नेपाली जनतालाई जानकारी दिएनन् भने यो संसद् एउटा असफल र अर्थहीन कर्मकाण्डमा रुमलिनेछ, हराउनेछ, नेपालको वर्तमान संविधान अराजकताको कुइरोमा हराएजसरी नै ।

गिरिजाप्रसादबाट भएको त्यो ‘सत्ता कब्जा' अनि त्यसबेला लिइएका दूरगामी परिणामका असंवैधानिक निर्णय र पछि रेग्मीद्वारा भएको अर्को सत्ता कब्जालाई ढिलै भए पनि नाजायज र अस्वीकार्य अभ्यास नमान्ने हो भने मुलुकमा कुनै पनि बेला आन्तरिक र बाह्य चलखेलअन्तर्गत कसैले पनि ‘सत्ता कब्जा' को प्रयास गर्न सक्नेछ ।

किनकि बाह्रबुँदेबाट जन्मिएका श्री ८ हरूको अस्थिर र परिचालित राजनीतिबाट जनता वाक्क भएका छन् । प्रजातन्त्रका नाममा यी नेताहरूद्वारा र पछि रेग्मीद्वारा भएको अर्को सत्ता कब्जालाई अहिले पनि नाजायज र अस्वीकार्य अभ्यास नमान्ने हो भने मुलुकमा कुनै बेला आन्तरिक र बाह्य चलखेलअन्तर्गत कसैले पनि ‘सत्ता कब्जा' को प्रयास गर्न सक्नेछ ।

श्री ८ हरूको अस्थिर र परिचालित राजनीतिबाट जनता वाक्क भएका छन् र उनीहरूको विश्वास प्रजातन्त्रका नाममा भएका यी ‘सत्ता कब्जा' का भन्दा राष्ट्रप्रेमी ‘अधिनायकवादी' तिर ढल्केको स्पष्ट देख्न बुझ्न सकिन्छ । यस सन्दर्भका ओलीले आफूलाई यो अवस्थामा अरूभन्दा फरक र फरक मान्यता बोकेको रूपमा प्रस्तुत गर्लान् कि नगर्लान् ? गरे कसरी गर्लान्, त्यसले पनि मुलुकको भावी राजनीतिक नक्सा कोर्न भूमिका खेल्नेछ । तर संसद्मा नेपाल र नेपालीका प्रतिनिधि छन् भन्ने विश्वास जनतामा छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.