विज्ञसँगको छलफलपछि डा. केसीसँग पुनः वार्ता
काठमाडौँ: सरकार र डा गोविन्द केसी प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेबाट बसेको दोस्रो चरणको वार्ता विज्ञसँग छलफल गर्नुपर्ने भन्दै स्थगित भएको छ ।
सरकारी वार्ता टोली संयोजक एवम् स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले केही विषयमा गाँठो फुकाउनका लागि विज्ञसँग छलफल गर्नुपर्ने भएकाले पुनः अर्को चरणमा वार्ता गर्ने सहमति भएको जानकारी दिए ।
उप्रेतीले भने, ‘केही विषय निकै जटिल छन् । ठोस निष्कर्षमा पुग्न विज्ञको राय आवश्यक परेकाले वार्ता केही समयका लागि स्थगित गरिएको छ । अब हुने वार्तालाई अन्तिम बनाउन हाम्रो प्रयास रहनेछ ।’ विज्ञको सुझावपछि अर्को चरणको वार्ता आजै बस्ने उनले बताए ।