बाटोबाटै काम गर्दै इन्जिनियर

बाटोबाटै काम गर्दै इन्जिनियर

काठमाडौं: भूकम्पपछिको पुनर्निर्माणका लागि खटिएका दुई हजार पाँच सयभन्दा बढी इन्जिनियर बाटोबाटै काम गरिरहेका छन् । सुरक्षित भवन बनाउन खटिएका उनीहरू आफू बस्ने भवन नहुँदा सम्पर्कका भरमा बाटोबाटै स्थानीयका घरमा पुगी काम गर्न बाध्य भएका हुन् । द्वन्द्वकालदेखि सदरमुकाम बस्ने बानी परेका सचिवका कारण पनि इन्जिनियर बाटोबाटै काम गर्न बाध्य भएका हुन् ।

सरकारले वैशाख दोस्रो सातादेखि भूकम्प प्रभावित १४ जिल्लामा एक हजार तीन सय ४६ इन्जिनियर, ६ सय ५० सबइन्जिनियर र पाँच सय ७५ सहायक सब इन्जिनियर खटाएको छ ।सहरी विकास मन्त्रालयका प्रवक्ता शिवहरि शर्माले गाविससचिव गाउँमा नबसेपछि इन्जिनियरहरू भूकम्प प्रभावित जिल्लामा बाटोबाटै काम गर्न बाध्य भएको बताए ।

उनले भने, ‘द्वन्द्वमा भत्किएका गाविसका भवन अझैसम्म नबनाउँदा गाविस सचिव सदरमुकाममा बसिरहेका छन् । इन्जिनियर सचिवसँगको समन्वयमा पुनर्निर्माणमा संलग्न हुनुपर्ने हो । भवन नभएपछि इन्जिनियरले कागजात कहाँ राख्ने ? '

एउटै गाविसमा एक हजारदेखि दुई हजारसम्म घर बन्ने भए पनि ती लाभग्राहीको सूची सचिवले बोकेर हिँड्दा इन्जिनियरलाई काम गर्न समस्या भएको हो । ‘गाविस भवनमा बसेर सचिव, इन्जिनियर र कर्मचारीले काम गर्न नपाउँदा यी र थुप्रै समस्या भइरहेका छन्', उनले थपे, ‘इन्जिनियर मन्त्रालयमा सचिव छैन वा कतै गएको छ काम अड्कियो भनेर भन्छन्, सचिवलाई समन्वय गर्न निर्देशन दियो भने कसले पोल सुनायो भनेर द्वन्द्व सुरु हुन्छ । सहयोगी र समन्वयकारी हुनुपर्नेमा उल्टो भएपछि कसरी काम गर्ने ? '

 

११ जिल्ला विकट भौगोलिक अवस्थामा छन् । कतिपय जिल्लामा वारपार गर्न एक सातासम्म लाग्ने गरेको छ । काम प्रभावित भएपछि हालै गोरखा जिल्लामा सभासद्को संयोजकत्वमा जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ ।
समितिको बैठकले गाविस भवन छैन भने भाडामा लिएर पनि जिल्ला विकास समितिले सबै गाउँमा काम गराउनुपर्ने निर्णय गरेको छ ।

सिन्धुलीमा कार्यरत इन्जिनियर प्रभाकरलाल कर्णले टेलिफोन सम्पर्कमा भने, ‘गाविसका भवन छैनन्, भएकामा कोठा पर्याप्त छैनन् । कोठा भएकामा टेबल, कुर्सी, दराज छैनन् । विकट गाउँमा पुग्दा खान र सुत्न त समस्या छ ।'

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार मुलुकभर करिब पाँच सय गाविसमा सचिव रिक्त छन् । मन्त्रालयले १४ वटै जिल्लामा एक हजारभन्दा बढी घरधुरी भए शाखा अधिकृत र सोभन्दा कम भए नायब सुब्बाको दरबन्दी हुनेगरी प्रबन्ध मिलाउने प्रक्रिया अघि बढाए पनि अझै काम हुन सकेको छैन । सामान्य प्रशासन मन्त्रालयबाट आएका ५५ शाखा अधिकृतलाई स्थानीय विकास मन्त्रालयले गाविसमा काजमा खटाएको छ ।

काठमाडौं र भक्तपुर गाविसविहीन छन् भने काभ्रे र मकवानपुरका सबै गाविसमा सचिव छन् । मन्त्रालयको कर्मचारी प्रशासन शाखाका प्रमुख तोयनारायण सुवेदीले द्वन्द्वकाल र भूकम्प दुवै कारणले भूकम्प प्रभावित जिल्लाका अधिकांश गाविस भवन नभएको बताए । उनले भने, ‘टालटुल (मर्मत) गरेर काम चलाउन हुने भवनमा जेनतेन सचिव र कर्मचारी बसेका छन् । कतिपयले भाडामा लिएका छन् । सदरमुकाम बस्नेहरूलाई मन्त्रालयले गाउँ जान ताकेता गरिरहेको छ भने सम्बन्धित जिविसले पनि पहल गरिरहेको छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.