पीडक खोज्दै बलात्कृत महिला राजधानीमा

पीडक खोज्दै बलात्कृत महिला राजधानीमा

काठमाडौं: आफूमाथि बलात्कार गरी फरार रहेका पीडकको खोजीमा नुवाकोट पीपलटारकी हरिमाया तामाङ (नाम परिवर्तन) काठमाडौं आएकी छन् । पीडकहरूले पैसा र पावरको पटकपटकको धम्कीले विचलित नभई छोराछोरी घरमै छाडी आफू यहाँ आएको तामाङले बताइन् ।

तामाङले पतिसँग सम्बन्धविच्छेद गरेको ६ वर्ष भइसक्यो । आफ्नो गुजारा चलाउन उनी नुवाकोटकै बिदुर नगरपालिकामा एउटा होटेल सञ्चालन गरेर बसेकी थिइन् । घटना चार दिनअगाडिको हो । दिनभर सिमसिमे पानीमा रुझ्दै खेतमा काम गरेर थाकेकी तामाङले गाउँमै काटेको बोकाको मासु पकाइरहेकी थिइन् ।

होटेलकै कोठामा पकाएर खाने गरेकाले उनले सटर आधा लगाएर मासु पकाउँदै थिइन् । यत्तिकैमा कस्तो मिठो बासना आयो भन्दै रक्सीले मात्तिएका तीनजना पुरुष उनको पसलमा छिरे । आज पसल खोलेको छैन भनेपछि पनि उनीहरूले जिद्दी गर्दै भोड्का, बियरलगायतका मादक पदार्थ मगाएर खाए ।

उनले आफ्नो साथीसँग मिलेर होटेलसँगै गेस्ट हाउस सञ्चालन गरे पनि केही समययता साथी बाहिर गएकाले गेस्ट हाउस बन्द थियो । मात्तिएका ती पुरुषले आज हामी यहीं बस्छौं भन्दा उनले अहिले गेस्ट हाउस नचलाएकाले आफ्नो हिसाब चुक्ता गर्न भनिन् । तर उनीहरूले कोठा देखा नत्र यही मार्छु भन्दै सटर ढ्याप्प बन्द गरिदिए ।

 

चार सन्तानमध्ये दुईजना मलेसियामा वैदेशिक रोजगारीमा गएका छन् भने अर्को एउटा छोरालाई होस्टेलमै राखेर पढाइरहेकी छन् । अरूले फालेका बच्चालाई ल्याएर उनले छोरी बनाएकी छन् । तिनै सात वर्षीया बालिका मात्रै उनीसँग थिइन् । उनलाई जबरजस्ती समातेर एउटा कोठामा थुनेपछि ती पुरुषले तामाङलाई कोठा देखाउन लैजान बाध्य बनाए ।

भर्‌याङमा आधा जतिमाथि पुगिसकेपछि लछारपछार गर्दै कोठामा लगेर थुनेर उनीमाथि तिनैजनाले रातको १२ बजेसम्म सामूहिक बलात्कार गरिरहे । मेरो पैसा पनि चाहिँदैन मलाई जान दे भनेर धेरै रोइकराइ गर्दा पनि उनलाई ‘चुप् लागेर बस नत्र मारिदिन्छु' भन्दै अत्याचार गरिरहे ।

उनीहरू निदाएपछि मौका छोपेर बल्लतल्ल उनी फुत्किइन् । हिलो बाटोमा चिप्लँदै लड्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पुग्न सफल भइन् । त्यहाँ पनि प्रहरीले महिला भएर १२ बजेसम्म होटेल खोल्ने भन्दै उल्टै उनलाई गाली गर्‌यो । उनको वेदना देखेर उनीहरूले उजुरी दर्ता गरे । फर्केर उनी घर पुग्दा पसलमा भएका रक्सी, चुरोट, पैसालगायतका केही बाँकी थिएनन् । उनीहरूले जंगलमा गएर ती सबै खान थालेका रहेछन् ।

प्रहरीले खोज्ने क्रममा दिनेश घले पक्रियो । नेपाली सेनामा कार्यरत अर्का आरोपितलाई प्रहरीले भोलिपल्ट बिहान पक्रियो । प्रेम थापा नाम गरेका अर्का आरोपित फरार छन् । ‘त्यो आर्मीका मान्छेले त मलाई दुई लाखसम्म दिन्छु तेरो हात मात्रै समातेको हो भन् भनेर मलाई धम्की दिने गरेका छन्', तामाङले रुँदै भनिन्, ‘मलाई पैसाले के गर्नु ? न्याय चाहिन्छ । मलाई जस्तै हिंसा अरू दिदीबहिनीमाथि नहोस् ।'

उनले भनिन्, ‘छोराले महिनामा एक लाख पठाउँछ । आमा भाइबहिनी लिएर काठमाडौं नै गएर बस्नु भनेको छ । तर म यता आए फेरि गाउँलेले भागेर गई भन्छन् ।'

आरोपित प्रेम थापा काठमाडौं आएको भन्ने सुनेपछि पीडकलाई पक्रन सहयोग माग्न उनी माइती नेपालमा आइपुगेकी छन् । माइती नेपालमा संलग्न अधिवक्ता सजनी जोशीले उनका पीडकलाई खोज्न सक्दो सहयोग गर्ने बताइन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी सहायक निरीक्षक सलामसिंह तामाङले पीडकको खोजीका लागि आफूहरूले सबैतिर खबर गरेकाले चाँडै पक्रने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.