किन हुन्छ मुख सुक्खा ?
तपाईंलाई पनि मुख सुक्खा हुने समस्या छ ? मुख र्यालको ग्रन्थीबाट र्यालको मात्रमा कमी भएपछि मुख सुक्खा हुने गर्छ । सामान्य अवस्थामा एउटा मानिसले दिनमा दिनमा निकाल्ने एकदेखि दुई लिटर र्यालको मात्रामा ९८ प्रतिशत पानी हुन्छ भने दुई प्रतिशत अन्य प्रतिजीवनुयुक्त तत्वहरू हुन्छ ।
हाम्रो मुखमा विभिन्न किसिमका मुख्यलगायत सामान्य गरेर दुई किमिसका ग्रन्थीहरू पाइन्छन् । यी ग्रन्थीहरू मुखको विभिन्न भाग जिब्रो, तालु, ओठ, गालाको मासु, मुखको भुइँ आदि ठाउँमा हुन्छन् । मुख सुक्खा हुने समस्या धेरैलाई हुन सक्छ र यसबारे कसैले गहिरो गरी सोच्ने गरेको पाइन्न । तर यसबारे जानकारी राख्नु र चासो लिनु निकै आवश्यक छ ।
स्वास्थ्य अवस्थामा मुखमा र्यालको धेरै महत्वपूर्ण कार्य हुन्छ । बहुमुखी तरल पदार्थले हामीलाई बोल्न, खाना चपाउन, निल्न सहयोग गर्छ । यसबाहेक र्यालले हाम्रो मुखमा रहने खानाका अंशहरू, दन्तलेउ आदि हटाउने काम गर्छ, मुखको अम्लको असर कम गरेर दन्त सडनबाट बचाउनुका साथै अन्य विभिन्न कार्यहरू गर्छ ।
मुख सुक्खा हुने व्यक्तिले कफीलगायत अन्य क्याफिन भएको पेयपदार्थको सेवनमा कमी गर्नुपर्छ । सास फेर्दा मुखबाट नफेरिकन नाकबाट फेर्ने बानी बसाल्नु पर्छ ।
मुखको र्यालमा मुखभित्र रहेको जीवाणुलाई नास गर्ने तत्व पनि हुन्छ । यसले जिब्रोको पनि संरक्षण गर्नुका साथै जिब्रोलाई स्वादको इन्द्रिय प्रदान गर्न मद्दत गर्छ । तसर्थ मुखमा यसको उत्पादनमा कमी आएपछि सुक्खा हुनुका साथै अन्य थुप्रै समस्या आउने कगर्छन ।
मुख सुखा हुने विभिन्न कारणहरू हुन्छन् । तीमध्ये केही कारणहरू निम्न छन्ः
१) पहिलो कारण हाम्रो शरीर जलविहीन हुनु,
२) यदि हामी कुनै कुराले डराएको वा आत्तिएको अवस्थामा छौं भने र्याल आउनु,
३) कुनै औषधिको सेवन जस्तै डिप्रेसन अथवा कुनै काम गर्न कमजोर तथा शिथिल हुने अवस्थाविरुद्ध प्रयोग गरिने औषधि, हिसटामिनको प्रभाव निस्तेज पार्ने औषधि पिसाब गराउने औषधि आदि कारणले,
४) नाक बन्द भएको अवस्थामा निदाएको बेला, मुखबाट सास फेर्नाले,
५) मधुमेह रोगका कारण,
६) टाउको र घाँटीको विकिरण चिकित्सा,
७) जोग्रेन सिन्ड्रोम,
८) रजस्वला रोकिने समयमा,
९) चुरोट, खैनी, जाडरक्सीको सेवनले,
१०) टाउको घाँटीको भागमा कुनै नसा च्यातिएमा,
११) ज्वरो आउनाले, धेरै पसिना बग्नाले, रगत धेरै नोक्सान हुनाले, धेरै उल्टी आउनाले हाम्रो शरीरमा जलको मात्रा कम हुनाले,
१२) शल्यक्रिया गर्दा र्यालको ग्रन्थीमा चोट पुग्नाले आदि ।
विभिन्न कारणले मुख सुक्खा हुने समस्या देखापरे पनि यस अवस्थामा एकै किसिमका लक्षणहरू देखा पर्छन् । मान्छे आफूलाई नै मुख निकै सुक्खा, टाँसिने खालको भएको अनुभूति हुन्छ । छिनछिनमा पानी तिर्खा लाग्ने, घाँटी सुक्खा भएको महसुस हुने, नाक सुक्खा हुने पनि गर्छ ।
साथसाथै सुक्खा मुख भएका मानिसलाई सास गन्हाउने समस्याले समेत सताउने गर्छ । अरू समस्यामा ओठ सुन्निनु वा चिरिनु, जिब्रोमा स्वाद नहुनु, जिब्रोमा दुखाइ हुनु, बढी मात्रामा पानी तिर्खा लाग्नु, मुखमा घाउ आउनु, दाँतमा लिपिस्टिक टाँसिनु गिजाको रोग बढी देखिनु, दन्त सडनको समस्या देखा पर्नु, बोल्दा, खाने बेलामा, खाना निल्न, चपाउन समस्या हुनु, नक्कली दाँत लगाउने व्यक्तिहरूलाई यस्तो दाँतमा समस्या देखा पर्नु च्यापच्याप गर्ने बाक्लो र्याल निस्किनुलगायत अन्य थुप्रै लक्षणहरू देखा पर्न सक्छ ।
यस्तो समस्या समाधानको लागि विभिन्न किसिमका उपचार पद्धतिहरू छन् । यी उपचारका तरिकाहरू यस रोगका विभिन्न कारकमा भर पर्ने गर्छन् । चुरोट, सुर्ती, खैनीको सेवन आजैबाट बन्द गर्नु राम्रो हो । यदि कुनै रोगका कारण सेवन गरिरहेको औषधिले मुख सुक्खा गराउने समस्या भइरहेको छ भने सो औषधिको मात्रा कम गर्न सकिन्छ वा अन्य कुनै सोही किसिमको औषधि दिन सकिन्छ । र्यालको मात्रा सही गराउने औषधि पनि दिन सकिन्छ ।
मुख सुक्खा हुने समस्या भएकाले दाँत र मुख स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्छ । यसमा दन्तलेउ र दन्तपथर हटाउने, गिजाको रोगको उपचार गराउने, नियमित रूपमा दाँत माझ्ने आदि गर्नुपर्छ । दिनभरि पटकपटक पानी पिउने, जाइलिटोल भएको चिनीरहित गुँद चपाउने, मुख कुल्ला गर्ने औषधि प्रयोग गर्ने, अम्लयुक्त खानेकुराको सेवन कम गर्ने व्यवहार परिवर्तन गर्ने गर्दा निकै फाइदा पुग्छ ।
कुल्ला गर्ने औषधिमा पनि मदिरा मिसाइएको पाइन्छ । यस्तो औषधिको प्रयोग गर्न हुँदैन । मुख सुक्खा हुने व्यक्तिले कफीलगायत अन्य क्याफिन भएको पेयपदार्थको सेवनमा कमी गर्नुपर्छ । सास फेर्दा मुखबाट नफेरिकन नाकबाट फेर्ने बानी बसाल्नुपर्छ ।
र्यालको ग्रन्थीमा पत्थर भएर वा अन्य कुनै कारणवश मुख सुक्खा भएको हो भने शल्यक्रिया गरेर पनि यस समस्याबाट छुटकारा पाउन सकिन्छ । नियमित रूपमा फ्लोरिडयुक्त मञ्जनले दाँत माझेर मुखमा र्यालको कमीले गर्दा हुन सक्ने दन्त सडनबाट बच्न पनि निकै नै आवश्यक छ ।
मुख सुक्खा हुने अवस्था आफैंमा रोग होइन । यसले शरीरको अर्को कुनै अवस्थाको बारेमा जानकारी दिन्छ । तसर्थ, मुख सुक्खा हुने समस्या देखा परेमा लापरवाही नगरिकन नजिकैको दन्तचिकित्सकलाई देखाउनु राम्रो हुन्छ ।
यसो गर्दा आउन सक्ने थप समस्याहरूबाट बच्न सकिन्छ । सुन्नमा सानो लग्ने यो समस्या भविष्यमा जटिल समस्याका रूपमा देखिनबाट बच्न सकिन्छ । समयमै मुख स्वास्थलाई आफ्नो शरीरको अन्य भागजस्तै ख्याल राख्नु निकै आवश्यक छ ।
लेखक कान्तिपुर डेन्टल हस्पिटलमा कार्यरत छन् ।