पानी पर्ने बित्तिक राजमार्ग अवरुद्ध

पानी पर्ने बित्तिक राजमार्ग अवरुद्ध

हेटौंडा: निबुवाटार–९ चिउरी बगैचाकी लिलादेवी लोहनी ४० वर्षकी भइन् । उनले थाहा पाएदेखि नै वर्षातको समयमा दैनिक बागझोरामा आउने बाढीका कारण सडक पार गर्न घन्टौं कुर्नुपर्छ ।

हेटौंडाबाट करिव नौ किमी उत्तरमा रहेको भैंसे–७ स्थित बागझोरामा आउने बाढीले दैनिकजसो सडक अवरुद्ध हुँदा त्रिभुवन राजपथ र हेटौंडा कुलेखानी काठमाडौं सडकबाट ओहरदोहर गर्ने यात्रु सास्ती भोग्न बाध्य छन् । यो बाटो हुँदै दैनिक एक हजार बढी सवारी साधन ओहरदोहर गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

डिभिजन सडक कार्यालय हेटौंडाले बागझोरामा सडक स्ल्याप गरेपछि यो वर्षातमा बिना अवरोध हिँड्न पाईने यात्रु तथा स्थानीयको सपना थियो । तर कार्यालयले करिब २० लाख रुपैयाँ लगानी गरेर स्ल्याप ढलान गरेपनि पानी पर्ने बित्तिकै बाटो बन्द हुने समस्या हटेन । ‘पानी पर्ने बित्तिकै बागझोरामा आउने बाढीका कारण घन्टौं बाटो बन्द हुन्छ’, शुक्रबार बाढीका कारण सडक अवरुद्ध भएपछि भेटिएकी लोहनीले गुनासो गरिन्, ‘सरकारले एउटा पुल हाल्न नसक्दा सधैंभरी सास्ती भोग्न बाध्य छौं ।’

विरगन्जबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको ना २ च ३५६८ नम्बरका एम्बुलेन्स चालकले बागझोरा पार गर्न शुक्रबार दिउँसो दुई घन्टा कुर्नुप¥यो । ‘यस्तो ठाउँमा सरकारको नजर कलिने पर्ला’, चालक जयनारायण यादवले भने, ‘यो बाटोका लागि बागझोरा अभिसाप नै हो, पानी पर्ने बित्तिकै बाटो बन्द हुन्छ ।’

यहाँका स्थानीयले वर्षौदेखि बागझोरमा पक्की पुल निर्माणको माग गरेपनि सम्बन्धित निकायले सुनुवाई गरेको छैन । गाविस र जिल्ला विकास समितिले डिभिजन सडक कार्यालय हेटौंडाको कार्यक्षेत्र भन्दै पन्छिने गरेको छ । ‘सडक कार्यालको बाटो भएकाले यहाँको विकास पनि उस्कै जिम्मेवारी हो’, भैंसे गाविस सचिव शंकर थापाले भने, ‘सडक कार्यालयले बेलाबखत यहाँ सडक स्तरीकरणको काम गर्छ तर वर्षातको बाढीले सबै बगाएर लैजान्छ ।’
पक्की पुल निर्माण नभएसम्म वर्षातमा नियमित सवारी सञ्चालनमा आउन नसक्ने उनले बताए ।

सडक डिभिजन कार्यालय हेटौंडाले बजेट अभावमा बागझोरामा पक्की पुल निर्माण गर्न नसकिएको जनाएको छ । डिभिजन प्रमुख कमलेस कर्णले आगामी वर्षको लागि पक्की पुल निर्माण गर्न स्टमेट गरी विभाग पठाउने तयारी गरिएको जानकारी दिए ।

स्थानीय रातभर जाग्राम

बागझोरा किनारमा बस्दै आएका स्थानीय बाढी आउने बित्तिकै रातभर निदाउन सक्दैनन् । स्थानीय सुर्ज मगरले भने, ‘बाढीले घर भेट्न करिब सात मिटर मात्र बाँकी छ, कतिखेर घर बगाउने हो ठेगान छैन ।’ खोला किनारमा रहेका १२ परिवार राति पानी पर्ने बित्तिकै जाग्राम बस्ने गरेको उनले बताए ।

सिमेन्ट उद्योगले ओखरे खानी सञ्चालनमा ल्याएपछि २०३६ सालसम्म खोल्साको रुपमा रहेको बागझोराले विकराल रुप लिन थालेको मगरले बताए । ‘खानीबाट फालिएको ढुंगा माटो बाढीले प्रत्येक वर्ष बगाएर ल्याउँदा हामी विस्थापित हुने अवस्थामा पुगेका छौं’, अर्का स्थानीय श्यामलाल गुनासो गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.