बाढीपीडित भन्छन्–चाउचाउ हैन पुर्नवासको व्यवस्था होस

बाढीपीडित भन्छन्–चाउचाउ हैन पुर्नवासको व्यवस्था होस

विराटनगरः मोरङको मधुमल्ला हुँदै बग्ने नुनसरी बक्राहा खोलामा आएको बाढीका कारण पीडित बनेकाहरुले तत्काल आफूहरुलाई पुर्नवासको व्यवस्था मिलाउन माग गरेका छन् ।

बाढीका कारण सर्वसाधारण पीडित बनेको लामो समयसम्म पनि सरकारी निकायले वेवास्ता गरेको गुनासो उनीहरुको छ । बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि पुगेको सरकारी अधिकारी सम्मिलित टोलीसंग बाढी पीडितहरुले राहतका नाममा चाउचाउ वितरण मात्र गरिएको गुनासो पोखे । उनीहरुले चाउचाउ र चामल वितरण गरेर मात्र केही पनि नहुने बताउँदै तत्काल उपयुक्त हिसावले पुर्नवासको व्यवस्था गर्न सरकारी अधिकारीलाई गुहारेका हुन् ।

मधुमल्लामा बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाको नेत्रृत्वमा स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, एसपी सन्दीप भण्डारी, सशस्त्र प्रहरीका एसपी आनन्द नेम्वाङ, प्रमुख सेनानी इन्द्रविर विष्ट तथा राजनैतिक दलका नेताहरु एमाले मोरङ अध्यक्ष महेश रेग्मी, नेपाली कांग्रेसका सचिव नागेश कोइराला, एमाओवादी केन्द्रका जिल्ला अध्यक्ष गोपीबहादुर अछामी लगायत पुगेका थिए । बाढी पीडितले सरकारी निकायबाट पुर्नवासको व्यवस्था मिलाउनु पर्ने र राजनैतिक दलहरुले त्यसमा समन्वयकारी भूमीका निर्वाह गर्नु पर्ने माग गरेका छन् ।

प्रजिअ रायाले बाढीका कारण विस्थापित बनेकाहरुका लागि मधुमल्ला ५ मा रहेको खाली चउरा अस्थायी रुपमा त्रिपाल लगाएर तत्कालका लागि वासस्थानको व्यवस्था मिलाएर स्थायी पुर्नवासका लागि पहल थालिने आश्वासन बाढी पीडितहरुलाई दिएका छन् । एक सातादेखिको भारी वर्षासंगै आएको बाढीका कारण मोरङको मधुमल्ला ४ र मधुमल्ला ५ मा नुनसरी बक्राहा खोला गाउँ पस्दा सय घर डुबानमा परेका छन् ।

 

५० घर परिवार विस्थापित बनेका छन् । गत असार ७ गतेको बाढी कारण विस्थापित बनेकाहरुलाई सरकारी निकायले उचित पुर्नवासको व्यवस्था गर्न नसकिरहेका बेला र उनीहरु घर फर्कने अवस्था नभइरहेका बेला पछिल्लो समय आएको बाढीले थप सर्वसाधारण पीडित र विस्थापित बनेको जानकारी प्रहरीले दिएको छ ।

मधुमल्ला ५ का विशाल लिम्बूले सरकारी पक्षको वेवास्थाको सिकार बाढी पीडितहरु हुनु परिरहेको गुनासो गरे । बाढीले उनको घर बगाएको । लिम्बूले तत्काल बाढी पीडितहरुलाई उचित पुर्नवासको व्यवस्था गरेर सुरक्षित स्थानमा लैजानु पर्ने माग आफूहरुले राखेको बताए ।

मधुमल्ला ५ का सिंहबहादुर लिम्बूले बाढीका कारण खोलो गाउँ पस्दा भागेर ज्यान जोगाइएको बताए । उनले पनि आफ्नो घर बाढीको कटानमा परिसकेका कारण गएर बस्न सक्ने अवस्था नरहेको बताए । ‘हामी कतिदिन खुल्ला चउरमा बस्नु पर्ने हो । त्यो कुरा स्पष्ट हुनु पर्छ,' उनले भने, ‘हैन भने हामी वर्षा भइरहँदा खुल्ला चउरको सहारा लिनु बाध्य छौं । सरकारले अहिले सम्म हाम्रो पीडामा मलमपट्टी गर्ने सम्मको काम पनि गरेन ।'

एक सातादेखिको अविरल वर्षाका कारण नुनसरी बक्राहा खोलामा पानीको बहाव बढ्नुका साथै खोलो मधुमल्ला ४ र ५ बाट फेरि बाँध फुटाएर गाउँ पसेको छ । मधुमल्ला ५ को बेतेनीमा पनि खोलाले बाँध फुटाई गाउँ पसेपछि त्यस क्षेत्रका सर्वसाधारण र पुशपंक्षी तथा अन्य कुरालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायव निरीक्षक यदुकुमार खड्काले बताए । यस अघि पनि सोही स्थानबाट बाँध फुटाएर दुई पटक खोलो गाउँ पसिसकेको थियो । खोलो नियन्त्रणका लागि निर्माण गरिएको अस्थायी बाँध भत्काएर फेरि खोलो गाउँ पसेपछि सर्वसाधारणबीच भागदौड मच्चिएको जानकारी खड्काले दिए ।

बक्राहा खोला नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष मित्र भण्डारीले अस्थायी बाँध फुटाएर खोलो गाउँ पसेपछि थप संकट निम्तिएको बताए । उनका कारण गत आसार ७ गते बक्राहा खोलामा आएको भीषण बाढी मधुमल्ला ५ को माथिल्लो कसेनी, मधुमल्ला ४ को धप्पर टोल र मधुमल्ला ५ को बेतेनीमा गरी तीन ठाउँबाट गाउँ पस्दा ३५ परिवार विस्थापित बनेका थिए । दुई सय बढी घर डुवानमा परेका थिए । भण्डारीले फेरि खोलो नियन्त्रणका लागि सम्बन्धीत निकायसंग आग्रह गर्ने काम भइरहेको बताए । उनले गाउँतर्फ पसेको खोलो तत्काल नियन्त्रण नगरेमा यसले ठूलो मानविय र भौतिक क्षति गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.