'भारत निकट दाहाल आउँदैछन्'

'भारत निकट दाहाल आउँदैछन्'

काठमाडौं: भारतका सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएसँगै भारतमा खुसियाली छाएको टिप्पणी गरेका छन् ।

भारतीय मिडियामा सोमबार प्रकाशित समाचारहरूमा प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीनसँग ‘निकट' भएको तथा उनले आफ्नो कार्यकालभर नेपालमा रहेको भारतको परम्परागत ‘प्रभाव' घटाएको उल्लेख छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बन्ने अबको सरकारले भारतको पुरानो प्रभाव कायम गर्ने अधिकांश भारतीय मिडियाको तर्क छ । भारतीय मिडियामा भारतीय विदेश मन्त्रालयका बहालावाला उच्च अधिकारी र स्रोतलाई उल्लेख गर्दै समाचार लेखिए पनि औपचारिक टिप्पणी भने कुनै भारतीय अधिकारीको भेटिँदैन ।

‘चीनसँग निकट रहेका प्रधानमन्त्री ओलीलाई भारतसँग निकट रहेका नेताले विस्थापित गर्दैछन्', एसिया टाइम्स अनलाइनमा भारतीय पूर्वकूटनीतिज्ञ एमके भद्रकुमार लेख्छन्, ‘भारतले आफ्नो स्वार्थ पूरा गर्न काठमाडौंको सत्ता परिवर्तन गर्न पर्दापछाडिबाट महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ ।'

उनले डेढ वर्षअघि ‘चीनसँग निकट' श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेको सत्ता बहिर्गमन हुँदा नयाँदिल्लीमा खुसियाली मनाइएझैं यसपालि काठमाडौंमा ओली नेतृत्वको सत्ता परिवर्तन हुँदा पनि दिल्लीमा खुसियाली मनाइएको लेखेका छन् ।

 

टाइम्स अफ इन्डियामा प्रकाशित लेखमा कूटनीतिक संवाददाता इन्द्राणी वाग्ची प्रधानमन्त्री ओलीको राजीनामा भारतका लागि सुखद समाचार रहेको तर्क गर्छिन् । उनले ओली नेतृत्वमा सरकार गठन भएलगत्तै नेपालमा चीनको प्रभाव बढेको दाबीसमेत गरेकी छिन् । भारतविरोधी प्रधानमन्त्री ओलीले मधेसी दलले उठाएका मागमा कुनै सुनुवाइ नगरेको र भारतले त्यसका लागि नाकाबन्दी गर्नुपरेको उनको टिप्पणी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा समावेशी संविधान जारी गर्न सुझाव दिए पनि मधेस केन्द्रित दलहरूलाई बाइपास गर्दै संविधान जारी भएपछि नाकाबन्दीजस्तो कठोर अस्त्र चलाउनुपरेको उनको तर्क छ । ‘तर अब बन्ने दाहाल नेतृत्वको सरकारसँग दिल्लीले राम्रो सम्बन्ध राखेर आफ्नो रणनीतिक सम्बन्ध पुनस्र्थापित गर्नुपर्छ', वाग्चीको तर्क छ ।

भारतीय अधिकांश मिडियाले दाहाल नयाँ प्रधानमन्त्रीका रूपमा आएपछि भारतसँगको सम्बन्धमा सुधार आउने दाबी गरेका छन् । नेपालको संविधान जारी भएपछि भारतले नेपालमा पाँच महिना लगाएको नाकाबन्दीलाई भारतीय मिडियाले जायज भनेका छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा हस्ताक्षरित पारवहन सम्झौतालगायत अन्य सम्झौताबाट नेपालमा भारतको प्रभाव घटे पनि चीन र नेपालबीच सहज रूपमा व्यापार हुन नसक्ने भएकाले अब ती सम्झौताको अर्थ नरहेको भारतीय मिडियाको दाबी छ ।

भारतमा नेपाल मामिलाका जानकार मानिने पूर्वकूटनीतिज्ञ एस डी मुनिले ओलीको कार्यकाल भारतविरोधी बन्न पुगेको भ्वाइस अफ अमेरिकासँग बताएका छन् । उनले अब नयाँ प्रधानमन्त्री दाहालले सम्बन्धमा सुधार ल्याउने दाबी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.