बस्तीमा सेती पसेपछि स्थानीयमा आतंक
दमौलीः बाढीका कारण सेती नदी बस्तीमा पसे पछि तनहुँको शुक्लागण्डकी ३ र १३ का ४५ घर खाली गराइएको छ । बिहानैदेखि नदीको जलस्तर बढेर बस्तीमा बाढी पसे पछि प्रहरी परिचालन गरेर ४५ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी दीपक सुवेदीले बताए ।
केही घरमा नदीको बाढी पसेको र अन्य घरहरु पनि उच्च जोखिममा परेका कारण बासिन्दालाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।
अहिले त्यस स्थानमा प्रहरी परिचालन गरिएको छ । सेतीको जलस्तर बढ्ने क्रम चलिरहेकाले अन्यत्रका नागरिकलाई पनि सचेत पारिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।
‘सम्भावित बाढी र पहिरोको जोखिम भएका सबै स्थानका स्थानीय प्रहरी एकाइलाई सतर्क अवस्थामा राखिएको छ ।,’ उनले भने,‘नदी वरपरका बस्तीमा सतर्कता अपनाउन पनि भनेका छौं ।’
शुक्लागण्डकी नगरपालिकाका सूचना अधिकारी त्रिलोचन लम्सालले नगरपालिकाले प्रहरीसँग सहकार्य गरेर जोखिमका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारेको जानकारी दिए ।
पुल भत्कँदा यातायात ठप्प
यसैबीच तनहुँको भीमाद र माझकोट जोड्ने पुल भासिँदा यातायात ठप्प भएको छ । अत्यधिक वर्षापछि पुल भासिएको श्रृंग यातायात व्यवसायी समिति भीमादका प्रमुख दानबहादुर श्रेष्ठले बताए ।