सरकारको २२ लाख स्रस्ष्टालाई

सरकारको २२ लाख स्रस्ष्टालाई

काठमाडौंः सरकारले भाषा, साहित्य, संस्कृति, संगीत, नाट्य र ललितकलामा उत्कृष्ट योगदान पुर्‍याउने मुलुकभरका ३१ जना स्रष्टालाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १२ जनालाई एक लाख र १९ जनालाई ५० हजार रुपैयाँका दरले पुरस्कृत गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरूलाई एक लाख रुपैयाँ राशिका राष्ट्रिय प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार र भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र ५० हजार रुपैयाँ राशिको क्षेत्रीय प्रतिभा पुरस्कार प्रदान गरेका हुन् । २०७२ सालको क्षेत्रीय प्रतिभा पुरस्कार यसपटक पश्चिमाञ्चलका स्रष्टालाई भने दिइएन ।

राष्ट्रिय प्रतिभा पुरस्कार पाउनेमा संस्कृति विधातर्फ काठमाडौंका प्राध्यापक डा. कृष्णबहादुर थापा, संगीत तथा नाट्य विधातर्फ काठमाडौंका विष्णुभक्त फुयाँल, ललितकला विधातर्फ जनकपुरका अजितकुमार साह र भाषा तथा साहित्य विधातर्फ झापाका सरोज ओली छन् । चारैजनालाई एक लाख नगदका दरले ताम्रपत्र प्रदान गरियो । सरकारले उक्त पुरस्कार २०५१ सालदेखि प्रदान गर्दै आएको हो ।

यसैगरी क्षेत्रीय प्रतिभा पुरस्कार पाँचै विकास क्षेत्रबाट संस्कृति, संगीत तथा नाट्य, ललितकला र भाषा तथा साहित्य विधामा पाँचपाँच जना स्रष्टालाई प्रदान गरिएको छ । संस्कृतितर्फ पूर्वाञ्चलबाट इलामका डा. देवी क्षेत्री दुलाल, मध्यमाञ्चलबाट काठमाडौंका डा. गोपालभक्त धौबन्जा, मध्यपश्चिमाञ्चलबाट नेपालगन्जका डा. राजकुमार सुवेदी र सुदूरपश्चिमाञ्चलबाट दाङका खगेन्द्र घोरासैनीलाई प्रदान गरियो ।

संगीत तथा नाट्य विधातर्फ क्षेत्रीय प्रतिभा पुरस्कार पाउनेमा पूर्वाञ्चलबाट उदयपुरका कृष्ण शाह यात्री, मध्यमाञ्चलबाट काठमाडौंकी गीता थापा, पश्चिमाञ्चलबाट पोखराका रामभक्त जोजिजू, मध्यपश्चिमाञ्चलबाट बर्दियाका विष्णुबहादुर थापा र सुदूरपश्चिमाञ्चलबाट दार्चुलाका शंकरसिंह विष्ट छन् । ललितकलाका लागि पूर्वाञ्चलबाट विराटनगरकी अनुराधा थापा, मध्यमाञ्चलबाट काठमाडौंका सुरेन्द्र प्रधान, पश्चिमाञ्चलबाट बुटवलका मन गोल्डी, मध्यपश्चिमाञ्चलबाट सल्यानका सागर शाह र सुदूरपश्चिमाञ्चलबाट डडेल्धुराका भोजबहादुर ऐरले पाएका छन् ।

भाषा तथा साहित्य विधातर्फ क्षेत्रीय पुरस्कार पाउनेमा पूर्वाञ्चलबाट मोरङका चतुर्भुजलाल दास केवरत, मध्यमाञ्चलबाट धनुषाका डा. रेवतीरमणलाल कर्ण, पश्चिमाञ्चलबाट बागलुङकी सन्तु श्रेष्ठ, मध्यपश्चिमाञ्चलबाट सुर्खेतका पृथ्वीबहादुर सिंह र सुदूरपश्चिमाञ्चलबाट धनगढीका रामलाल जोशी छन् । २०६२ सालदेखि प्रदान गर्न थालिएको क्षेत्रीय पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।

महाकवि देवकोटा पुरस्कार भने पाँच वर्षदेखि कविता, निबन्ध, गद्याख्यान वा नाटक, भाषा साहित्य सेवा र बालसाहित्य वा लोकसाहित्य विधामा प्रदान गरिन्छ । प्रत्येक विधामा एक, एक लाख राशि रहेको यो पुरस्कार यसपटक लोकसाहित्यतर्फ कास्कीका डा. तीर्थराज सुवेदी, निबन्धतर्फ तेह्रथुमका हेमनाथ पौडेल, गद्याख्यानतर्फ ललितपुरकी माया ठकुरी, कवितातर्फ ललितपुरका मञ्जुल र भाषा साहित्यतर्फ पर्सा वीरगन्जका गोपाल अश्कले पाएका छन् ।

 

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार भने सरकारले पहिलोपटक प्रदान गरेको हो । एक लाख राशिका दरले यो पुरस्कार तीनजनालाई दिइयो । दलित मुक्ति आन्दोलनको क्षेत्रमा बागलुङका स्वर्गीय पद्मसिंह विश्वकर्मा, सीप, कला, विश्व साहित्य, संस्कृति, लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्रमा भोजपुरका पदम सुन्दास र समाज सुधार अभियानको क्षेत्रमा काठमाडौं बस्ने अर्घाखाँचीका मोदनाथ प्रश्रितलाई प्रदान गरिएको हो । यो पुरस्कार राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक र मानव अधिकारको क्षेत्रमा योगदान पुर्‍याउनेलाई पनि दिने सरकारको योजना छ ।

प्रधानमन्त्री केपी ओलीले नेपाल र नेपालीको शिर उँचो राख्ने काममा स्रष्टा र कलाकारलाई सधैं भूमिका खेल्न आग्रह गरे । उनले भने, ‘स्रष्टा र कलाकारबाट देशले सधैं सेवा पाइरहोस् । मुलुकको मौलिकता र पहिचान टिकाइराख्नु गौरवको विषय भएकाले नेपाली भाषा, साहित्य, संस्कृति र कलालाई जीवन्त बनाइराख्नु पर्छ ।' उनले दण्ड र पुरस्कार दुवै आवश्यक पर्ने उल्लेख गर्दै दण्डित हुँदा व्यक्तिले अपमानित महसुस र पुरस्कार पाउँदा गौरव गर्ने वातावरण समाजका लागि उदाहरण हुने बताए ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मन्त्रालयबाट स्रष्टासम्म पुग्ने गरी सूचना प्रवाह नहुँदा पुरस्कारका लागि कममात्र स्रष्टा र कलाकारले आवेदन दिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.