कल्पनाशक्तिको कमाल !
हरेक सामान्य मानिसमा कल्पना गर्नसक्ने अद्भुत क्षमता हुन्छ । यसलाई कल्पना शक्ति भनिन्छ । कल्पना शक्ति (इम्याजिनेसन) लाई समुचित रूपमा प्रयोग गर्ने हो भने कल्पना शक्तिले मानिसको जीवनमा कमाल नै गर्छ । त्यसैले कल्पनाशक्तिलाई स्मरण शक्ति बढाउनदेखि लिएर अनेकौं रोगको उपचारमासमेत सफलतापूर्वक उपयोग गरिँदै आएको छ । गाइडेड इमिजरी कल्पनाशक्तिसँग सम्बन्धित एक प्रभावशाली माइन्ड बडी मेडिसिन हो ।
इमिजरी मेडिसिन
कल्पनाशक्तिको थेराप्युटिक महत्त्वका बारेमा अमेरिकी मनोवैज्ञानिक प्रा.डा. अनिस ए. शेखले निकै लामो र गहन अध्ययन गरेका छन् । क्यान्सरको उपचारमा समेत कल्पनाचित्र (मेन्टल इमिजरी) ले ठूलो फाइदा गर्ने उनको दाबी छ । त्यसो त हिजोआज अमेरिका र युरोपमा कतिपय चिकित्सक, मनोचिकित्सक, क्लिनिक मनोवैज्ञानिक तथा स्वास्थ्यकर्मीले समेत कुनै न कुनै रूपमा मेन्टल इमिजरीलाई प्रेस्क्राइब गर्दै आएको पाइन्छ । वास्तवमा इम्याजिनेसन मनोचिकित्साको एक अभिन्न अंग हो ।
कल्पना चित्र (इम्याजिनेसन ) लाई कुनै पनि रोगीले आफैं पूरक चिकित्सा (कम्प्लिमेन्टरी मेडिसिन) का रूपमा उपयोगमा ल्याउन सक्छन् । त्यसैले औषधि सेवन गरेका रोगीहरूले इम्याजिनेसनलाई समेत उपयोगमा ल्याउने हो भने रोग छिटो निको पार्न सहयोग गर्छ । त्यसैले यस्ता रोगीहरूले बिहान, दिउ“सो र राति सुत्नुअघि कम्तीमा दिनको तीनपटक निम्नानुसार इम्याजिनेसनको प्रयोग गर्नु निकै लाभदायक हुन्छः
प्रयोग विधि
आरामसँग कुर्सीमा बस्नुहोस् वा उत्तानो सुत्नुहोस् । शरीरलाई एकदम शिथिल छोडेर वि श्राम दिनुहोस् अनि नाकबाट लामो र गहिरो सास लिनुहोस् र शरीरका सम्पर्ण तनाव तथा विकार बाहिर गएको कल्पना गर्दै मुखबाट लामो र गहिरो सास फ्याँक्नुहोस् । यो क्रिया पाँचपटक गर्नुहोस् । अनि १० देखि उल्टो गन्ती गर्दै आउनुहोस् । जस्तै १०, ९, ८, ७, ६, ५, ४, ३, २, १, ० । शून्यमा आएपछि एकदम गहिरो वि श्रामको अनुभव गर्नुहोस् ।
कुनै दैवीशक्तिमाथि आस्था र विश्वास छ भने शिव भगवान् वा कुनै देउताको विराट रूप कल्पना गर्नुहोस् । अनि ती देवीदेउता तपाईंको अगाडि उभिएर शक्ति दिएको र शरीर हिलिङ गरेको कल्पना गर्नुहोस् । देवीदेउतामाथि आस्था र विश्वास छैन भने तपाईंको चारैतिरबाट पहेंलो रङको ब्रह्माण्डीय ऊर्जा आएर शरीर हिलिङ गरेको कल्पना गर्नुहोस् । अनि आफूले चाहेको जस्तो स्वस्थ शरीरको कल्पना गर्दै मनमनै २१ पटक भन्नुहोस्ः ‘दिनप्रतिदिन म स्वस्थ हुँदै गएको छु, स्वस्थ हुँदै गएको छु । केही छिन आराम गर्नुहोस् र आफू स्वस्थ भएको अनुभव गर्दै उठेर आफ्नो दैनिक कार्यमा लाग्नुहोस् ।
शरीर हिलिङको यो एक सरल वैज्ञानिक विधि हो । यो विधि क्यान्सरका रोगीहरूले पनि उपयोगमा ल्याउन सक्छन् । मनोरोगीका लागि त यो विधि निकै उपयोगी छ ।
मोटोपनाको उपचार
मोटोपनाको उपचारका लागि मनोचिकित्सककहाँ पुगेकी एक निकै मोटी महिलाको भनाइ थियो- उनी खानपिनमा नियन्त्रण गर्न सक्दिनन् । उनलाई थरीथरीका परिकार मन पर्छ । त्यसैले उनी खुब खान्छिन् । तर उनी स्लिम र सुन्दर हुन चाहन्छिन् । उनले अनेक उपाय अपनाउँदा पनि उनको तौल कत्ति घटेको छैन । उल्टो बढेको छ । उनको कुरा सुनेपछि मनोचिकित्सकले सोधे, ‘तपार्इं कस्ती देखिन चाहनुहुन्छ ? ' उनले भनिन्, ‘कैटरिना कैफजस्तो ।'
अनि मनोचिकित्सकले कैटरिना कैफको फोटो दिँदै भने, ‘उसो भए यो फोटोको टाउको काटेर शरीरलाई तपाईंको फोटोको टाउकोमा जोड्नुहोस् । दिनदिनै देखिने ठाउँ जस्तै ऐनामा टाँस्नुहोस् । जब तपाईं ऐना हेर्न जानुहुन्छ, त्यो तस्बिर देख्नुहुन्छ । अनि तपाईंले आफूलाई कैटरिना कैफजस्तै स्लिम र सुन्दर महसुस गर्न थाल्नुहुन्छ ।
मनोचिकित्सकको कुरा सुनेर उनी हाँसिन्, ‘यस्तो उपायले खै के काम गर्ला र ? ' मनोचिकित्सकले सोधे, ‘किन ? ' उनले भनिन्, ‘मैले कहिल्यै पनि आफूलाई स्लिम र सुन्दर महसुस गरेकी नै छैन ।' मनोचिकित्सकले भने, ‘त्यसैले त तपाईंलाई इम्याजिनेसनको खाँचो छ ।'
विचार र ऊर्जामा गहिरो सम्बन्ध छ । यी महिला यस अर्थमा मोटी छिन्, उनी आफ्नो आत्मछवि अगाडि विवश छिन् । उनी अनेक उपाय अपनाउँदा पनि स्लिम र सुन्दर हुन सकिनन् । किनकि उनले कहिल्यै सोचिनन्, उनी पातली हुन सक्छिन् । तर यहाँ मनन गर्नुपर्ने कुरा के छ भने वजन घटाउन होस्, खेल वा फिल्ममा आफ्नो प्रदर्शनलाई अब्बल बनाउन वा रोगबाट छुट्कारा पाउन होस् । यी सबै कुरा मानसिक शक्ति तथा इच्छाशक्तिमा निर्भर रहन्छ । शरीरले त्यही गर्छ, मनमस्तिष्कले शरीरलाई जस्तो निर्देशन दिन्छ ।
मोटोपना घटाउने विधि
मोटोपना घटाउनका लागि इम्याजिनेसनको विधि अपनाउन कुर्सीमा आरामसँग बसेर आँखा बन्द गर्नुहोस् । पाँचपटक लामो र गहिरो सास लिनुहोस् र मुखबाट फ्याँक्नुहोस् । गहन वि श्रामको अनुभव गर्नुहोस् । अनि आफ्नो मनको पर्दामा चुस्त दुरुस्त स्लिम र सुन्दर शरीरको कल्पना गर्नुहोस् । तपार्इंलाई भोजभतेरमा धेरै खाने बानी छ भने कल्पना गर्नुहोस् कुनै पार्टीमा तपाईं निकै स्लिम र सुन्दर देखिनुभएको छ । तपाईंको आकर्षक शरीर देखेर सबैले तपाईंको प्रशंसा गरेका छन् । तपाईंले उक्त पार्टीमा थोरै खाना, सलाद तथा अलिकति तरकारी खानुभएको छ । मोटोपना बढाउने खाना खानुभएको छैन ।
यस किसिमको कल्पना जति धेरै गर्नुहुन्छ, त्यत्ति नै तपाईंलाई स्वाभाविक लाग्न थाल्छ । अनि तपाईंको स्वभाव त्यसैअनुरूप ढल्छ । यो कुनै हावादारी कुरा होइन, मनोवैज्ञानिक तथ्य हो ।
खुलै आँखाले कल्पना
इम्याजिनेसनका लागि कहिलेकहीं आँखा बन्द गर्नुपर्ने आवश्यकता पनि पर्दैन । आत्त्खा बन्द नगरीकन महसुस गरेर पनि कल्पनाशक्ति प्रयोग गर्न सकिन्छ । जस्तो हिँड्दा वा दौडिँदा खुट्टा दुख्यो भने कल्पना गर्नुहोस् जुत्ता हावाको नरम गद्दाजस्तो छ । तपाईं मजाले हावादार जुत्ता लगाएर हिँडिरहनुभएको छ ।
अतः कल्पनाशक्ति (इम्याजिनेसन) को क्षेत्र निकै व्यापक छ ।
त्यसैले कल्पनाशक्तिलाई कुनै पनि मानिसले आफ्नो शरीरलाई हृष्टपुष्ट बनाउन, खेलाडीले खेललाई प्रभावकारी बनाउन, कलाकारले कलामा निखार ल्याउन, नयाँ खोज गर्न, उत्कृष्ट कृति सिर्जना गर्न तथा आम मानिसले कुनै पनि दैनिक कार्य गर्नुपूर्व उपयोगमा ल्याउन सक्छन् ।
ऐना हरेर रिहर्सल गर्ने कलाकारले आँखा बन्द गरेर मानसपटलमा अभिनयको रिहर्सल गर्ने हो भने सुनमा सुगन्ध थपेजस्तो हुन्छ । निर्देशकलगायत चलचित्रकर्मीको कल्पनाशक्तिको अधारमा नै चलचित्र लोकप्रिय तथा कालजयी बन्छ । त्यत्तिमात्र होइन, हरेक महान् खोज तथा कालजयी कृति स्रष्टाको कल्पनाशक्तिबाट नै सिर्जित हुने गर्छ ।
वास्तवमा कल्पनाशक्ति महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनले समेत उपयोगमा ल्याएको वैज्ञानिक टेक्निक हो । त्यसैले निःशुल्क प्राप्त हुने यो टेक्निकलाई हामीले आफ्नो रोगव्याधी हटाउन, व्यक्तित्व विकास गराउन, कार्यक्षमता बढाउन, कृति सिर्जना गर्न तथा लक्षित उद्देश्य प्राप्त गर्न किन सदुपयोग नगर्ने ?